काठमाडौं । संवैधानिक सीमा अनुसार १० असारमा बजेट ल्याउन बाध्य भएका प्रदेशसभाका बैठकहरू बजेट पेस भए लगत्तै आन्तरिक विवादका कारण नियमित रुपमा संचालन हुन सकेका छैनन् ।
मधेस र कर्णालीमा द्वन्द्व देखिदा अन्य प्रदेशमा पनि छैन मिलाप
बजेटको मुखमा कतै सत्ता सहयात्री दलहरूबिचको आन्तरिक विवाद र कतै विपक्षी दलहरुसँगको वैमनस्यका कारण सात वटै प्रदेशसभाका बैठक नियमित हुन सकेका छैनन् ।
विवाद बढ्दै जाँदा बिहीबार मधेस र कर्णाली प्रदेशसभाका बैठक स्थगित नै भए भने अन्य प्रदेशमा पनि सौहार्दरुपमा बजेटमाथि छलफल हुन सकेको छैन ।
बिहीबार गण्डकीबाहेक सबै प्रदेशसभाको बैठक बस्यो तर मधेस र कर्णाली प्रदेशसभा भने अवरुद्ध बने । दलहरूबिच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक नै अन्योलमा परेको छ । प्रतिपक्षी दलको अवरोधका कारण बसेको केहीबेरमै स्थगित भएको बैठक संचालन हुन सकेको छैन ।
विनियोजन विधेयकमा व्यापक त्रुटि रहेकाले संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा), नेपाल र जनमत पार्टीले बैठक अवरुद्ध गरेका छन् ।
अवरुद्ध बैठक सञ्चालन गर्न सभामुख रामअशिष यादवको पहलमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूबीच बुधबारदेखि छलफल भइरहे पनि सहमति जुट्न नसक्दा बैठक अन्योलमा परेको छ ।
प्रतिपक्षी दुवै दलका प्रदेशसभा सदस्यहरूले सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको विषयलाई बेवास्ता गर्दै साना र टुक्रे योजनामा बजेट विनियोजन गरेको तथा बजेटमा प्रतिपक्षमाथि विभेद गरिएकाले त्यसलाई संशोधन नगरेसम्म बैठक सञ्चालन हुने नदिने अडान लिएपछि बैठक अवरुद्ध छ ।
विपक्षीहरूले अवरोध गरेका कारण बिहीबार कर्णाली प्रदेशसभा अवरुद्ध बन्यो । सभामुख नन्दा गुरुङले विपक्षीलाई पेलेरै अघि बढ्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संसद् बैठक अवरोध गरे ।
प्रतिपक्षी दलहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा जान नदिएपछि तनाव उत्पन्न भएको थियो । बिहीबार सत्ता पक्षले बजेट पास गर्ने तयारी गरेपछि प्रतिपक्ष आक्रामक बनेको हो ।
विपक्षीले रातो किताब नआएको, लोकप्रिय छोरी बैंक खाता कार्यक्रम हटाइएको, मन्त्रीले कार्य विभाजन नियमावली विपरीत योजना हालेको, नेताका नामका प्रतिष्ठान, स्मृति भवनदेखि देउताका थानमा हालेका बजेटलाई सुधार गर्नुपर्ने मागसहित मंगलबारदेखि नै सदन अवरुद्ध गरिरहेका छन् ।
बिहीबार सत्ता पक्षले बहुमत भएकाले बजेट पारित गरेरै छाड्ने रणनीति अपनाए पनि प्रतिपक्षीको अवरोधका कारण हुन सकेन ।
बागमती प्रदेशसभा बैठक भने बिहीबार शान्तरुपमा संचालन भयो । सभाले २ वटा विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ र ‘प्रदेश विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैठकमा सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले ‘प्रदेश विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३’ विधेयक एकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईँले निर्णायार्थ पेस गरेकी थिइन् । उनले निर्णायार्थ पेस गरेको उक्त विधेयकहरूलाई सांसदहरूले हुन्छ भनेर सर्वसम्मत स्वीकृत गरेका हुन् ।
बुधवारको बैठकमा भने सत्तारुढ दल एमाले र कांग्रेसका सांसदहरूले बजेटमा मन्त्रीहरूको स्वेच्छाचारिता देखिएको भन्दै आलोचना गरेका थिए । उनीहरूले बजेट बाँडफाँड सन्तुलन हुन नसकेको र कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको टिप्पणी गरे । मन्त्रीहरूले शक्ति र पहुँचको दुरुपयोग गर्दै बजेटलाई निर्वाचन क्षेत्र र जिल्ला केन्द्रित बनाएको बागमतीका प्रतिपक्षी दलका सांसदहरूको आरोप छ । मन्त्रीहरू बिचौलियाहरूको प्रभावमा परी योजनाहरू छनोट गरिएको र आम नागरिकका आधारभूत समस्यालाई पूर्ण रूपमा उपेक्षा गरिएको उनीहरूको भनाइ छ ।
लुम्बिनी प्रदेश सभामा पनि बजेटमाथिको छलफल जारी छ । आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलसहित विभिन्न विधेयकमाथि आवश्यक प्रक्रिया अघि बढाइएको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
एकैदिन सुनको मूल्य तोलामा दश हजार ५०० रुपैयाँ घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
मोबाइलबाटै ऋणदेखि स्मार्ट बैंकिङसम्म
बैंकका सीईओको तलबमा कडाइ
हवाई इन्धनको मूल्य घटेसँगै जहाज भाडा १ हजार ७ सय ६५ सम्म घट्यो
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड २५ लाख
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक






