दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडामा दुर्घटना भई नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुहरूको खोजीकार्यका लागि आधुनिक प्रविधिसहितको गोताखोर टोली परिचालन गरिएको छ । असार १८ गते कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब ६/७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।
दुर्घटना लगत्तै सुरु गरिएको उद्धार प्रयास अन्तर्गत सोही दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परे पनि गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ । नदीको तीव्र बहाव र गहिराइमा खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विषेशज्ञ टोली घटनास्थल आइपुगेको छ ।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ्गको नेतृत्वमा असार १९ गते पठाइएको ४ जना गोताखोरसहितको टोली आज घटनास्थल पुगेर उद्धार कार्यमा जोडिएको हो।
योसँगै पहिलेदेखि नै खोजतलास गरिरहेका ६ जना र नयाँ आएका ४ जना गरी कुल १० जना गोताखोरहरूले संयुक्त रूपमा नदीमा खोज अभियान सुरु गरेका छन् । खोजी कार्यलाई प्रभावकारी बनाउन यसपटक पानीमुनि र भेलमा समेत काम गर्न सक्ने अत्याधुनिक सोनार क्यामरा तथा बोरोस्कोप क्यामराको प्रयोग गरिएको छ।
यसका साथै पानीभित्र ८ सय किलोसम्मको धातुलाई तान्न सक्ने विशेष म्याग्नेट (चुम्बक) समेत परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख र माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसको टोली खटिएको थियो भने थप मद्दतका लागि सुर्खेतस्थित नं. ६ महेश्वरी बाहिनी मुख्यालयबाट पनि टोली खटाइएको थियो ।
सम्बन्धित समाचार
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन
लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध राउटे समुदायमा सचेतना कार्यक्रम संचालन
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी धान रोपाइँ
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान
कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुको अवस्था अझै अज्ञात






