दशकपछि पूरा हुँदै नौगाउँ–डुङरी–किमोला सिँचाइ योजना

default

डडेलधुरा । एक दशकयता अलपत्र अवस्थामा रहेको सिँचाइ योजना सम्पन्न हुँदा स्थानीयमा सिँचाइ गर्न पाउने आशा पलाएको छ । भागेश्वर गाउँपालिका–४ को सबैभन्दा ठूलो नौगाउँ–डुङरी–किमोला गाउँ क्षेत्रको हजारौं रोपनी जमिनमा सिँचाइको व्यवस्था पु¥याउने योजना अलपत्र परेको एक दशकपछि यस वर्ष सम्पन्न हुने चरणमा रहेको छ ।

आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका बस्तीका बारीमा सिँचाइ गर्न आर्थिक वर्ष २०७२÷२०७३ मा तीन करोड रुपैयाँ बढी रकममा निर्माणका लागि ठेक्का लगाइएको थियो । यस क्षेत्रका आधा दर्जन बस्तीको हजारौं रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले योजना निर्माणको काम थालिएको थियो । तर योजना सम्पन्न नहुँदै अलपत्र पारिएपछि जमिन बाँझो हुँदै गर्दा बस्ती रित्तिँदै गएका थिए ।

दुई वर्षमा काम सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौताको काम चालु आर्थिक वर्षमा ठिक १० वर्षपछि सम्पन्न हुने चरणमा छ । योजना निर्माणका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराले शर्मा थेगिम जेभी निर्माण कम्पनी कैलालीसँग २०७२ साल जेठ महिनामा ठेक्का सम्झौता गरेको थियो ।

नौगाउँ–डुङ्री नेपाली कांग्रेसका नेता एवं पूर्वसिँचाइ एवं परराष्ट्रमन्त्री एनपी साउदको पहाड घर हो । उनी सिँचाइ मन्त्री हुँदा गाउँमा सिँचाइको योजना परेको थियो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराका डिभिजन अधिकृत अमर पालका अनुसार निर्माण कम्पनीले सुरुमा बनाएका आठ वटा पोखरी हाल जीर्ण भइसकेका थिए । हाल ती पोखरीभित्रै नयाँ पोखरी निर्माण गरिएका छन् । गाडिएका पाइपसमेत चोरी भएपछि अहिले नयाँ पाइप जडान गरिएको छ ।

निर्माण कम्पनी कालोसूचीमा पर्ने खतरा बढेपछि हाल सिँचाइ योजनाको काम धमाधम गरिएको उनले जानकारी दिए । निर्माण कम्पनीले सुरुको वर्ष पानीको मूलबाट पाइप बिछ्याई गाड्ने र आरसीसी ढलान गरी पोखरी निर्माण गर्ने काम गरेको थियो । तर काम अधुरै गरेर छाडेपछि निर्माण गरिएका पोखरी जीर्ण बनेका थिए ।

कार्यालयका प्राविधिक रोशन भट्टका अनुसार महाभारत पर्वतमा रहेको विसानकन्या जंगलको मूलबाट सिँचाइको पानी नौगाउँ पु¥याइएको हो । यसको दूरी आठ हजार ३०० मिटर रहेको छ । एक सेकेन्डमा २५ लिटर पानी खस्ने गरी २०० एमएमको पाइपमा गाउँमा पानी पु¥याइएको उनले बताए ।

यस योजनाको नाला बनाउने काम उपभोक्ता समितिबाट गरिने सम्झौता गरिए पनि हाल निर्माण कम्पनी आफैले गरेको वडा नम्बर ४ का वडाध्यक्ष वसन्तराज चटौतले बताए । सिँचाइ योजना सम्पन्न भए पारिलो क्षेत्रका यी गाउँको उर्वरभूमिमा प्रशस्त अन्नबाली उत्पादन हुने आसमा स्थानीय रहेको उनको भनाइ छ ।

स्थानीय चक्रबहादुर ठकुराठीका अनुसार गाउँमा सिँचाइ योजनाको काम सम्पन्न भए व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती, आकाशे भरमा गर्नु पर्ने बाध्यता अन्त्य हुने छ । व्यावसायिक रूपमा पशुपालनसमेत गर्न स्थानीयलाई निकै सहज हुने छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

नेतृत्वसँगै समृद्धिको बाटो : षडानन्दका मेयर उदासको लोभलाग्दो कृषि कर्म