विश्वका धेरै सहरले आधुनिकताको दौडमा मौलिक पहिचान गुमाउँदै गएका बेला काठमाडौं अझै पनि ऐतिहासिक गरिमा, सांस्कृतिक वैभव र परम्परागत जीवनशैलीमा उभिरहेको छ । यही कारण काठमाडौंलाई खुला आकाशमुनिको जीवित संग्रहालय, खुला विश्वविद्यालय तथा नेपाली सभ्यताको ऐना भन्ने गरिन्छ । यहाँका गल्ली, चोक, मठ, मन्दिर, विहार, बहाल, दरबार, चैत्य, गुम्बा, ढुंगेधारा, पाटी–पौवा तथा परम्परागत बस्ती आफैंमा इतिहासका बोल्ने पाना हुन् ।
काठमाडौंको परिचय नेपालको राजधानीका रूपमै सीमित छैन । यसले नेपाली समाजको ऐतिहासिक विकासक्रम, सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता र कलात्मक चेतनाको प्रतिनिधित्व गर्दछ । आदिकवि भानुभक्त आचार्यले आफ्नो कवितामा उल्लेख गरेको ‘कान्तिपुरी नगरी’ आज पनि कला, साहित्य, संस्कृति र सभ्यताको अनुपम केन्द्रका रूपमा विश्वभर परिचित छ । यहाँका धार्मिक सम्पदा, प्राचीन वास्तुकला, अद्वितीय काष्ठकला, धातुकला, प्रस्तरकला तथा मूर्तिकलाले देशको गौरवशाली अतीतलाई वर्तमानसँग जोड्ने अमूल्य सेतुको काम गरेका छन् । यस उपत्यकाले किरात, लिच्छवी, मल्ल, शाह तथा राणा शासनकालका अनेकौं ऐतिहासिक परिवर्तन, राजनीतिक उतारचढाव, सांस्कृतिक रूपान्तरण तथा सामाजिक विकास नजिकबाट अनुभव गरेको छ । प्रत्येक युगले यहाँ आफ्ना अमिट छाप छोडेको छ । काठमाडौंका प्रत्येक गल्ली, मन्दिर, बहाल र दरबारमा इतिहासका अनेकौं कथा लुकेका छन् । यहाँका सम्पदा ढुंगा, इँटा र काठले बनेका संरचनामात्र होइनन्, ती हाम्रा पुर्खाको ज्ञान, सीप, परिश्रम, दूरदृष्टि र सिर्जनशीलताको अनुपम नमुना हुन् ।
उपत्यकाको सांस्कृतिक वैभव अझ उजागर गर्ने पक्ष यहाँ विद्यमान धार्मिक सहिष्णुता हो । एउटै स्थानमा हिन्दू, बौद्ध तथा अन्य धार्मिक समुदायबीचको सद्भाव, सहअस्तित्व र आपसी सम्मानले नेपाललाई विश्वसामु शान्तिप्रिय राष्ट्रका रूपमा परिचित गराएको छ । पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायण, गुह्येश्वरी, दक्षिणकाली, बूढानीलकण्ठ, कृष्ण मन्दिर, चारुमती विहार तथा अन्य असंख्य धार्मिकस्थलले आस्थास“गै सांस्कृतिक एकता र सामाजिक सद्भावसमेत सुदृढ बनाएका छन् । यही विविधताभित्रको एकताले काठमाडौंलाई विश्वकै विशिष्ट सांस्कृतिक सहरका रूपमा स्थापित गरेको हो । यसको धार्मिक सम्पदामै सीमित छैन । यहाँको कला, वास्तुकला र सांस्कृतिक सम्पदाले नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ ।
मल्लकालीन दरबार, कलात्मक झ्याल, उत्कृष्ट काष्ठकला, धातुकला, शिल्पकला तथा प्रस्तरकलाले तत्कालीन नेपाली समाजको उच्च कलात्मक चेतना र वैज्ञानिक ज्ञानलाई प्रमाणित गर्छन् । आधुनिक प्रविधि नभएको समय पनि यति भव्य र कलात्मक संरचना निर्माण हुनु हाम्रा पुर्खाको अद्भुत प्रतिभा, सीप र श्रमको उदाहरण हो । त्यसैले काठमाडौंलाई हेर्नु नेपालको इतिहास, संस्कृति र सभ्यतालाई प्रत्यक्ष अनुभव गर्नु हो । समाजशास्त्रीय दृष्टिकोणबाट काठमाडौं सम्पूर्ण नेपालको साझा राजधानी हो । यहाँ देशका सबै जिल्लाबाट आएका विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिस बसोबास गर्छन् । यही कारण काठमाडौंलाई विविध संस्कृतिको संगमस्थल वा ‘मेल्टिङ पोट’ पनि भनिन्छ ।
यहाँ नेपाली समाजका सबै रङ, संस्कार, परम्परा, भाषा र जीवनशैली एकै ठाउँमा देख्न सकिन्छ । यसले राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा सांस्कृतिक सहिष्णुतालाई बलियो बनाएको छ । वास्तवमा काठमाडौं घुम्नेमात्र होइन, सिक्ने, बुझ्ने, अनुसन्धान गर्ने र नेपाली सभ्यताको गहिराइ अनुभव गर्ने अनुपमस्थल हो । काठमाडौंलाई जीवित संग्रहालय भन्नुको कारण यही हो कि यहाँ इतिहास कुनै पुस्तकका पानामै सीमित छैन । इतिहास यहाँका गल्ली, चोक, सम्पदा, परम्परा, जात्रा, पर्व, कला र जनजीवनमा जीवित छ । यहाँ मनाइने इन्द्रजात्रा, मच्छिन्द्रनाथ जात्रा, घोडेजात्रा, गाईजात्रा, बिस्केट जात्रा, कुमारी जात्रा तथा अन्य सांस्कृतिक उत्सवले नेपाली समाजको मौलिक पहिचानलाई निरन्तर जीवन्त बनाइरहेका छन् । यी पर्वले धार्मिक आस्थालाई मात्र होइन, सामाजिक एकता, सांस्कृतिक निरन्तरता र पुस्तान्तरण परम्परालाई पनि बलियो बनाएका छन् । यही विशिष्टताका कारण यहाँका अनेकौं सम्पदा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)को विश्व सम्पदामा सूचीकृत छन् । काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ तथा चाँगुनारायण मन्दिर धार्मिक आस्थाका केन्द्रमात्र होइनन्, मानव सभ्यताको अनुपम सांस्कृतिक धरोहर पनि हुन् । यी सम्पदाले नेपालको गौरव अन्तर्राष्ट्रियस्तरमा स्थापित गरेका छन् । उपत्यकाको ऐतिहासिक महŒव विश्व सम्पदामा सूचीकृत स्मारकै पनि सीमित छैनन् ।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले भनेका छन्, ‘राष्ट्रको वास्तविक सम्पत्ति उसका प्राकृतिक स्रोतमात्र होइनन्, उसका संस्कृति, सम्पदा र सभ्यता पनि हुन् ।’ यो भनाइ काठमाडौं उपत्यकाको सन्दर्भमा अत्यन्त सान्दर्भिक देखिन्छ । यहाँका ऐतिहासिक सम्पदाले नेपाललाई सांस्कृतिकरूपमा मात्रै सम्पन्न बनाएका छैनन्, राष्ट्रिय गौरव, आत्मसम्मान र अन्तर्राष्ट्रिय पहिचानसमेत प्रदान गरेका छन् । मल्लकालमा विकसित प्यागोडा शैलीले नेपाललाई अन्तर्राष्ट्रिय ख्याति दिलाएको छ । बहुतले छाना, कलात्मक काठका टुँडाल, आकर्षक झ्याल, ढोका, इँटाको सुन्दर संयोजन, धातुका कलात्मक मूर्ति तथा उत्कृष्ट प्रस्तरकलाले तत्कालीन नेपाली कलाकारको अद्वितीय सिर्जनशीलता झल्काउँछन् । आधुनिक यान्त्रिक उपकरण अभावमा निर्माण गरिएका यी संरचनाले त्यस समयको वैज्ञानिक ज्ञान, इन्जिनियरिङ क्षमता र कलात्मक चेतनाको उच्चस्तर प्रमाणित गर्छन् ।
प्रत्येक वर्ष लाखौं विदेशी पर्यटक यहाँका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, कलात्मक दरबार, जीवन्त संस्कृति, स्थानीय परम्परा र नेपाली आतिथ्य अनुभव गर्न आउने गर्छन् । धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, ऐतिहासिक पर्यटन तथा शैक्षिक पर्यटनका दृष्टिले काठमाडौं अत्यन्त महŒवपूर्ण केन्द्र हो । यहाँ आउने पर्यटकले मन्दिर र दरबार अवलोकनस“गै नेपाली समाजको जीवनशैली, परम्परा, कला, संस्कृति र सभ्यता प्रत्यक्ष अनुभव गर्छन् । प्राचीन यूनानी दार्शनिक अरस्तुले भनेका छन्, ‘महान सहर जनसंख्याले होइन, त्यसको इतिहास, संस्कृति, सभ्यता र मानवीय मूल्यले महान हुन्छ ।’ यो भनाइ काठमाडौंका लागि पूर्णरूपमा उपयुक्त देखिन्छ ।
हजारौं वर्षदेखि निरन्तर जोगिँदै आएको सभ्यता, संस्कृति, धार्मिक सहिष्णुता, कलात्मक उत्कृष्टता र मानवीय विशेषताले काठमाडौंलाई विश्व समुदायमाझ विशिष्ट र सम्मानित स्थान दिलाएको छ । उपत्यकाले हजारौं वर्षदेखि नेपाली सभ्यता, संस्कृति, कला र इतिहास जीवन्त राख्दै आए पनि पछिल्ला केही दशकयता यसले अनेकौं चुनौती पनि सामना गरिरहेको छ । तीव्र सहरीकरण, अनियन्त्रित जनसंख्या वृद्धि, अव्यवस्थित भौतिक निर्माण, वातावरणीय प्रदूषण, खुला स्थानको अतिक्रमण, परम्परागत बस्ती विनाश तथा आधुनिक जीवनशैलीको बढ्दो प्रभावका कारण यहाँको मौलिक सांस्कृतिक पहिचान क्रमशः ओझेलमा पर्न थालेको छ । यदि यस्ता चुनौती समयमै सम्बोधन गर्न सकिएन भने भविष्यमा काठमाडौंले आफ्नो ऐतिहासिक गरिमा र सांस्कृतिक मौलिकता गुमाउने खतरा बढ्दै जानेछ ।
समाज परिवर्तनशील हुन्छ । समयसँगै जीवनशैली, सोच, प्रविधि र विकासका अवधारणामा परिवर्तन आउनु स्वाभाविक हो । तर, परिवर्तनको अर्थ आफ्नो इतिहास, संस्कृति र सभ्यता बिर्सनु कदापि होइन । आधुनिक विकास र सांस्कृतिक संरक्षण सँगसँगै अघि बढाउन सकिएमात्र राष्ट्रको मौलिक पहिचान सुरक्षित रहन्छ । विकासका नाममा ऐतिहासिक सम्पदा विनाश गर्नु वा परम्परागत बस्तीलाई विस्थापित गर्नु कुनै पनि दृष्टिले दीर्घकालीन हितमा हुँदैन । सभ्य समाजले आफ्नो विगतको सम्मान गर्दै वर्तमान व्यवस्थित र भविष्य सुरक्षित बनाउने प्रयास गर्दछ ।
चेकोस्लोभाकियाका प्रसिद्ध साहित्यकार तथा विचारक मिलान कुन्देराले भनेका छन्, ‘संस्कृति संरक्षण गर्नु भनेको पुराना वस्तु जोगाउनुमात्र होइन, समाजको स्मृति जीवित राख्नु पनि हो ।’ वास्तवमा सम्पदा भौतिक संरचनास“गै समाजको सामूहिक स्मृति, अनुभव, ज्ञान र पहिचानका आधार पनि हुन् । जब कुनै ऐतिहासिक सम्पदा नष्ट हुन्छ, त्यससँगै एउटा युगको इतिहास, संस्कृति र सामाजिक चेतनाको महŒवपूर्ण अध्याय पनि हराउने जोखिम हुन्छ । अमेरिकी समाजशास्त्री लुईस मम्फोर्डले ‘सहर केवल भवनको समूह होइनन्, तिनीहरू मानव सभ्यताका जीवित अभिलेख हुन्’ भनेका छन् । आधुनिकीकरणसँगै नयाँ पुस्तामा विदेशी संस्कृति, भाषा, पहिरन र जीवनशैलीप्रतिको आकर्षण बढ्दो छ । विश्वव्यापीकरणका कारण विश्वका विभिन्न संस्कृतिबीच आदानप्रदान हुनु सकारात्मक पक्ष भए पनि मौलिक संस्कृतिप्रति उदासीन हुनु चिन्ताको विषय हो । जब युवापुस्ताले आफ्ना परम्परा, भाषा, जात्रा, संस्कार र सांस्कृतिक मूल्यलाई बेवास्ता गर्न थाल्छ, तब समाजको सांस्कृतिक निरन्तरतामा असर पर्न थाल्छ । त्यसैले आधुनिक शिक्षा र प्रविधि प्रयोगसँगै सांस्कृतिक पहिचानप्रति गर्व गर्ने चेतना विकास गर्नु आजको आवश्यकता हो । काठमाडौंका धेरै ऐतिहासिक सम्पदा प्राकृतिक विपद्का कारण पनि जोखिममा परेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पले अनेकौं ऐतिहासिक मन्दिर, दरबार, विहार तथा सांस्कृतिक संरचनामा ठूलो क्षति पु¥यायो । त्यसपछि पुनर्निर्माणका उल्लेखनीय प्रयास भए पनि अझै धेरै सम्पदा पूर्णरूपमा पुनःस्थापित हुन बाँकी छन् । यसले सम्पदा संरक्षणका लागि वैज्ञानिक अनुसन्धान, दक्ष जनशक्ति, परम्परागत निर्माण प्रविधि र पर्याप्त आर्थिक स्रोत आवश्यकता स्पष्टरूपमा देखाएको छ ।
सम्पदा संरक्षण सरकारको जिम्मेवारीमात्र होइन, यसमा स्थानीय समुदाय, नागरिक समाज, शैक्षिक संस्था, सञ्चारमाध्यम, निजी क्षेत्र, पर्यटन व्यवसायी तथा प्रत्येक नागरिकको समान भूमिका हुन्छ । स्थानीय समुदाय सम्पदाका वास्तविक संरक्षक हुन् । उनीहरूको सक्रिय सहभागिताबिना कुनै पनि संरक्षण अभियान दीर्घकालीनरूपमा सफल हुन सक्दैन । विद्यालयदेखि विश्वविद्यालयसम्म इतिहास, संस्कृति, पुरातत्त्व तथा सम्पदा संरक्षणसम्बन्धी अध्ययन अझ प्रभावकारी बनाउन आवश्यक छ । विद्यार्थीले पुस्तकमा मात्र होइन, प्रत्यक्ष सम्पदा अध्ययन गर्ने अवसर पाउनुपर्छ ।
डिजिटल प्रविधि विकासले सम्पदा संरक्षणका नयाँ सम्भावना पनि सिर्जना गरेको छ । ऐतिहासिक अभिलेखको डिजिटल संकलन, त्रि–आयामिक (थ्रीडी) अभिलेखीकरण, भर्चुअल संग्रहालय, वृत्तचित्र निर्माण तथा अनलाइन शैक्षिक सामग्रीमार्फत काठमाडौंका सम्पदालाई विश्वभर परिचित गराउन सकिन्छ । यसले भावी पुस्तालाई आफ्ना सांस्कृतिक धरोहरप्रति आकर्षित गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचानलाई अझ सुदृढ बनाउन मद्दत पु¥याउनेछ । दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मण्डेलाले भनेका छन्, ‘हामीले विगत सम्झेरमात्र होइन, त्यसको संरक्षण गरेर भविष्य निर्माण गर्नुपर्छ ।’
हाम्रा पुर्खाले सिर्जना गरेका मठ, मन्दिर, दरबार, मूर्ति, कला र संस्कृति सुरक्षित राख्नु भनेको भावी पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण गर्नु हो । यदि आज हामीले सम्पदा संरक्षणमा लापरवाही ग¥यौं भने भोलिका पुस्ताले आफ्नो गौरवशाली इतिहासलाई पुस्तकका पानामा मात्र खोज्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले काठमाडौंका सम्पदा संरक्षण कुनै वैकल्पिक कार्य होइन, राष्ट्रिय दायिŒव हो । यसको संरक्षणमार्फत मात्र नेपाली सभ्यताको निरन्तरता कायम रहन्छ, राष्ट्रिय पहिचान सुदृढ बन्छ र विश्वसामु नेपालको गौरव अझ उँचो हुन्छ । राज्य, स्थानीय तह, शैक्षिक संस्था, सञ्चारमाध्यम, सांस्कृतिक संस्था तथा सम्पूर्ण नागरिकले साझा जिम्मेवारीसाथ सम्पदा संरक्षण, संवर्धन र पुस्तान्तरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । यही प्रयासले मात्र काठमाडौंलाई भविष्यमा पनि एउटा जीवन्त, गौरवशाली र विश्वप्रसिद्ध सांस्कृतिक सहरका रूपमा सुरक्षित राख्न सकिनेछ ।
चीनका महान् दार्शनिक कन्फ्युसियसले भनेका छन्, ‘भविष्यलाई स्पष्ट बनाउन विगतको अध्ययन आवश्यक हुन्छ ।’ यदि हामीले आफ्नो इतिहास, संस्कृति र सम्पदा अध्ययन तथा संरक्षण गर्न सकेनौं भने भावी पुस्ताले आफ्नो मौलिक पहिचान गुमाउने खतरा बढ्नेछ । इतिहासविहीन समाज जरा नभएको वृक्षसरह हुन्छ । त्यसैले काठमाडौंको सांस्कृतिक सम्पदा अध्ययन, अनुसन्धान, संरक्षण र पुस्तान्तरण गर्नु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो । अतः विकास आवश्यक छ, तर विकाससँगै सम्पदा संरक्षण पनि उत्तिकै महŒवपूण हो । जब राज्य, समाज र प्रत्येक नागरिकले आफ्ना दायिŒव इमानदारीपूर्वक निर्वाह गर्छन्, तबमात्र कला, संस्कृति, सभ्यता र इतिहास जीवन्त रहिरहन्छन् ।
(लेखकको यो निजी विचार हो)
सम्बन्धित समाचार
जापानस्थित राजदूत चयन किन महत्वपूर्ण ?
सामुदायिक विद्यालय समिति: पुनर्विचार खाँचो
सरकार, सय दिन र संशय
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित
कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
लुम्बिनीमा २० प्रतिशतभन्दा बढी धान रोपाइँ
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन्, आज के हाेला ?






