सुन्दरहरैंचा (मोरङ) । मोरङको कानेपोखरी गाउँपालिका–२, केरौनमा एम्बुलेन्स र शववाहन सेवाको अभावले एक परिवारले अत्यन्तै पीडादायी अवस्था भोग्नुपरेको छ। बिरामी अवस्थामा अस्पताल पुर्याइएकी एक वृद्ध महिलाको मृत्यु भएपछि उनको शव घरसम्म ल्याउन कुनै पनि सरकारी वा निजी सेवा उपलब्ध नभएपछि परिवार अन्ततः सिटी सफारीको सहारा लिन बाध्य भएको हो।
स्थानीय घुर्नी ऋषिदेवलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारले तत्काल कानेपोखरी अस्पताल पुर्याएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। त्यसपछि परिवारले शव घरसम्म ल्याउन एम्बुलेन्सको व्यवस्था गर्न खोजे पनि शव ओसार्न एम्बुलेन्सले अस्वीकार गरेको पीडित परिवारको भनाइ छ।
परिवारका सदस्यका अनुसार गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘घरदेखि घाटसम्म’ शववाहन सेवा पनि लामो समयदेखि बन्द अवस्थामा रहेको छ। जसका कारण आर्थिक रूपमा कमजोर परिवार झन् ठूलो समस्यामा परेको थियो।
यही कठिन परिस्थितिमा एक स्थानीय सिटी सफारी चालकले मानवता देखाउँदै कुनै शुल्क नलिई शव घरसम्म पुर्याइदिएका थिए। हजुरआमाको शव सिटी सफारीमा राखेर घर फर्कँदै गरेका नातिहरू रोशन ऋषिदेव र सुरज ऋषिदेवको आँसुले भरिएको यात्रा देख्ने स्थानीयहरू समेत भावुक बनेका थिए। उनीहरू बारम्बार आँसु पुछ्दै हजुरआमाको शवसँगै यात्रा गरेको दृश्यले उपस्थित सबैको मन छोएको थियो।
स्थानीयवासीहरूले यस्तो घटना अत्यन्त दुःखद भएको बताउँदै गाउँपालिकाले सञ्चालन गर्ने आधारभूत सेवासमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको गुनासो गरेका छन्। उनीहरूले शववाहन सेवा तत्काल सञ्चालनमा ल्याउन र यस्ता संवेदनशील अवस्थामा नागरिकले दुःख नपाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस घटनाले स्थानीय तहमा अत्यावश्यक स्वास्थ्य तथा शव व्यवस्थापन सेवाको अवस्था कति कमजोर छ भन्ने प्रश्न पुनः उठाएको छ। बिरामीलाई अस्पतालसम्म पुर्याउने मात्र होइन, मृत्यु पश्चात् सम्मानपूर्वक शव घर र घाटसम्म पुर्याउने व्यवस्था पनि स्थानीय सरकारको जिम्मेवारीभित्र पर्ने भए पनि व्यवहारमा नागरिकले आधारभूत सेवासमेत सहज रूपमा पाउन नसकेको देखिएको छ।
मानवताभन्दा ठूलो धर्म केही हुँदैन भन्ने उदाहरण भने ती सिटी सफारी चालकले प्रस्तुत गरेका छन्। सरकारी सेवा उपलब्ध नभएको अवस्थामा उनले निःशुल्क शव घरसम्म पुर्याएर कठिन घडीमा पीडित परिवारलाई साथ दिएका छन्। तर, यस्तो सेवा व्यक्तिगत सद्भावनामा होइन, राज्यको व्यवस्थित संयन्त्रमार्फत उपलब्ध हुनुपर्ने स्थानीयको भनाइ छ।
यस घटनापछि कानेपोखरी गाउँपालिकामा शववाहन सेवा किन बन्द भयो, कहिलेदेखि सञ्चालनमा छैन र पुनः सञ्चालनका लागि के पहल भइरहेको छ भन्ने विषयमा समेत स्थानीयले स्पष्ट जवाफ मागिरहेका छन्। नागरिकको सबैभन्दा संवेदनशील घडीमा आधारभूत सेवा नपुग्नुले स्थानीय सरकारको सेवा प्रवाहमाथि गम्भीर प्रश्न खडा गरेको छ।
सम्बन्धित समाचार
दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
खाडीको जीवनभन्दा गाउँ प्यारो
जीएल लामा अटो इटहरी शाखा सञ्चालनमा
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते
केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम
कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन
सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा






