‘विश्वकप २०३०’मा ६४ टोलीको बन्ने सम्भावना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० मा आयोजना हुने पुरुष विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावना’bout विस्तृत अध्ययन गर्ने बताएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा जारी विश्वकपबीच सञ्चारकर्मीसँग कुरा गर्दै ‘यस्तो प्रस्ताव हतारमा स्वीकार वा अस्वीकार नगरी सबै पक्षबाट अध्ययन गरिने’ बताएका हुन् ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो भन्छन्– विश्व फुटबल अझ समावेशी बन्नुपर्छ

इन्फान्टिनोका अनुसार विश्व फुटबल पछिल्ला वर्ष उल्लेखनीयरूपमा विस्तार भइरहेको छ । परम्परागतरूपमा विश्वकपमा स्थान बनाउन संघर्ष गर्ने धेरै राष्ट्रले अहिले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक प्रदर्शन थालेका छन् । यही परिवर्तन ध्यानमा राख्दै भविष्यमा विश्वकपमा अझ धेरै देशलाई अवसर दिने विषयमा छलफल हुनु स्वाभाविक रहेको उनी बताउँछन् । इन्फान्टिनोका अनुसार विश्वकप केही शक्तिशाली राष्ट्रबीचको प्रतियोगिता नभई विश्वभरका सदस्य राष्ट्रको साझा उत्सव भएकाले सबैलाई अवसर विस्तार गर्ने विषयमा खुला छलफल आवश्यक छ । ‘कुनै पनि निर्णय गर्दा खेलको गुणस्तर, प्रतियोगिताको संरचना, खेलाडीको स्वास्थ्य, आयोजक राष्ट्रको क्षमता तथा समर्थकको हितलाई समानरूपमा ध्यान दिइने’ पनि उनले उल्लेख गरे ।

फिफाले पहिलोपटक सन् २०२६ को विश्वकपमा सहभागी टोली संख्या ३२ बाट बढाएर ४८ पु¥याएको हो । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गरेको जारी विश्वकपमा १२ समूह, १०४ खेल र झन्डै डेढ महिनासम्म प्रतियोगिता सञ्चालन गरिएको छ । फिफाका अनुसार टोली संख्या बढ्दा प्रतियोगिताको आकर्षण घट्ने अनुमान गरिए पनि धेरै नयाँ राष्ट्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेपछि विस्तार अवधारणाले थप बल पाएको हो ।

इन्फान्टिनोले ४८ टोलीको विश्वकपले विश्वभरका लाखौं समर्थकलाई आफ्नो राष्ट्रिय टोली विश्वकपमा देख्ने अवसर दिएको उल्लेख गरे । यसबाट अफ्रिका, एसिया, उत्तर अमेरिका तथा ओसिनियाका देशमा फुटबलप्रतिको उत्साह उल्लेखनीयरूपमा बढेको उनको दाबी छ । विश्वकपमा छनोट हुने सम्भावना बढेपछि धेरै सदस्य राष्ट्रले युवा खेलाडी उत्पादन, प्रशिक्षण केन्द्र निर्माण तथा घरेलु लिग विकासमा लगानी बढाएको पनि उनले बताए ।

फिफाभित्र केही समयदेखि सन् २०३० को विश्वकपलाई विशेष संस्करणका रूपमा ६४ टोलीसम्म विस्तार गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि जनाएका छन् । सन् १९३० मा सुरु विश्वकपको शतवार्षिकीका अवसरमा आयोजना हुने भएकाले यसलाई अझ व्यापक बनाउने सोच अघि सारिएको छ ।

यदि ६४ टोलीको प्रस्ताव स्वीकृत भए विश्वकपको इतिहासमै सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ । सहभागी राष्ट्र संख्यामात्र होइन, खेल संख्या, समूह चरणको स्वरूप, नकआउट चरण, प्रतियोगिता अवधि तथा खेल मैदान व्यवस्थापनमा समेत व्यापक परिवर्तन गर्नुपर्नेछ । यसका लागि नयाँ प्रतियोगिता ढाँचा तयार गर्नुपर्ने फिफाका प्राविधिक अधिकारीको भनाइ छ ।

यद्यपि, प्रस्तावको पक्षमा मात्र होइन, विपक्षमा पनि बलिया तर्क उठिरहेका छन् । धेरै पूर्वखेलाडी, प्रशिक्षक र फुटबल विश्लेषकले अत्यधिक टोली सहभागी गराउँदा प्रतियोगिताको प्रतिस्पर्धात्मकस्तर कमजोर हुन सक्ने, खेलाडीमाथिको शारीरिक भार बढ्ने तथा घरेलु लिग र क्लब प्रतियोगिताको तालिकामा गम्भीर असर पर्नसक्ने औंल्याएका छन् । उनीहरूका अनुसार विश्वकपको प्रतिष्ठा कायम राख्न गुणस्तरीय प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने हुन्छ । युरोपेली क्लब पनि खेलाडीले ‘वर्षभर अत्यधिक खेल खेल्नुपरेको’ भन्दै लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन् । विश्वकप अझ ठूलो बनाइए खेलाडीको विश्राम अवधि छोटिने, चोटपटकको जोखिम बढ्ने तथा क्लब र राष्ट्रिय टोलीबीचको तालिका व्यवस्थापन झन् जटिल बन्ने उनीहरूको तर्क छ ।

यता, फिफाले भने विश्व फुटबलको दीर्घकालीन विकासका लागि बढी राष्ट्रको सहभागिता आवश्यक रहेको दोहो¥याएको छ । इन्फान्टिनोका अनुसार विश्वकपमा खेल्ने अवसर प्राप्त भएपछि धेरै मुलुकमा फुटबलप्रतिको लगानी बढ्ने, सरकार र निजी क्षेत्रको सहयोग विस्तार हुने तथा नयाँ प्रतिभाले अन्तर्राष्ट्रिय मञ्च पाउने सम्भावना बढ्छ । त्यसैले प्रतियोगिता विस्तारलाई खेल संख्या बढाउने विषयका रूपमा नभई विश्व फुटबलको विकास रणनीतिका रूपमा पनि हेर्नुपर्ने उनको जोड छ ।

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्तरूपमा आयोजना गर्ने छन् । विश्वकपको सय वर्ष पूरा भएको अवसरमा उद्घाटन चरणका केही खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा पनि खेलाइने निर्णय यसअघि नै भइसकेको छ । यस कारण आगामी विश्वकप इतिहासकै सबैभन्दा धेरै देशले संयुक्तरूपमा आयोजना गर्ने संस्करणसमेत बन्ने छ ।

यद्यपि, ६४ टोलीको ढाँचा लागू भए आयोजनामा संलग्न देशको भूमिका अझ विस्तार हुने र प्रतियोगिताको भौगोलिक पहुँच पनि बढ्ने विश्वास गरिएको छ । यसका लागि यातायात, सुरक्षा, पूर्वाधार, होटल व्यवस्थापन, खेल मैदान तथा प्रसारण व्यवस्थामा ठूलो लगानी आवश्यक पर्ने देखिन्छ ।

त्यसो त, फिफाले अहिले कुनै अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेको छ । इन्फान्टिनोका अनुसार विश्वकप २०२६ सम्पन्न भएपछि सदस्य राष्ट्र, महादेशीय फुटबल महासंघ, क्लब, खेलाडी, प्रशिक्षक तथा प्राविधिक समितिसँग परामर्श गरी प्रस्तावको सम्भाव्यता अध्ययन गरिने छ । त्यसपछि मात्रै विश्व फुटबलको भविष्यसँग जोडिएको महइभ्वपूर्ण विषयमा औपचारिक निर्णय लिइने फिफाले प्रस्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक