दैलेख । कोरोना संक्रमितको मनोबल बढाउनको लागि दुल्लू नगरपालिकाले मनोसामाजिक परामर्श र योगा शुरु गरेको छ । द्रोणाचल क्याम्पसमा राखिएका संक्रमितलाई दुल्लू नगरपालिका र दुल्लू आयुर्वेद औषधालयद्वारा मनोसामाजिक परामर्शसहितको योगा सुरू गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणि नेपालको अगुवाइमा औषधालयका प्रमुख जनक थापाले योगा गराएका छन् । योगामा ३० जना कोरोना संक्रमित रहेका छन् । संक्रमितलाई नगरपालिकाले गुर्जाे, बेसार, अदुवा लगायतका जडिबुटी दैनिक रूपमा सेवन गराइरहेको छ । आयुर्वेदिक औषधीले केही हदसम्म उपचार हुन सक्ने भन्दै जडिबुटी सेवन गराइएको जनाइएको छ ।
बिरामीलाई स्वास्थ्य राख्न र मानसिक तनावबाट कमी गराउन दैनिक रूपमा योगा गराई कोरोना भाईरस नियन्त्रणमा सहज हुने प्रमुख प्रसाशकिय अधिकृत नेपालले बताए । मानिसलाई स्वास्थ्य राख्न तथा जडिबुटी र योगाले रोगसंग लड्ने क्षमतामा बृदि गर्ने भएकाले आयुर्बेदिक औषधी र योगाको प्रयोग गर्न थालिएको नगर प्रमुख घनश्याम भण्डारीले बताए । दुल्लू नगरपालिकाले स्थापना गरेका आइसुलेसन वार्डहरूमध्ये छिउडीपुसाकोटमा १० जना र द्रोणाचल क्याम्पसमा ३० जना कोरोना संक्रमितलाई राखिएको छ । द्रोणाचल क्याम्पसमा रहेकाहरूमध्ये भैरबी गाउपालिकाका २ जना र चामुण्डा विन्द्रासैनी नगरपालिकाका १ जना पनि रहेका छन् ।






