दाङ । दाङको देउखुरीमा अज्ञात समुहले पाँच ओटा स्क्याभेटरमा आगजनी गरेको छ । दाङको गढवा गाउँपालिका वडा नं. १ जेठान गाउँ स्थित राप्ती नदीको किनारमा पार्किङ्ग गरेर राखिएका पाँच ओटा स्क्याभेटरमा आगजनी भएको हो ।
आगजनीबाट चार ओटा स्क्याभेटर पूर्णरुपमा जलेर नष्ट भएको, एउटामा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । घटनास्थल पुगेका एसपी चन्दले घटनाको छानविन गरेर दोषीलाई कानुनी दायरामा ल्याइने बताए ।
एसपी चन्दले भने,‘यो एक्लो व्यक्तिबाट सम्भव छैन्, पाँच–छ जनाको समुहमा रहेका व्यक्तिले आगजनी गरेको हुन सक्छ’ । आगजनीमा संलग्नको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा अनटेष्ट स्क्याभेटरमा आगनी गरिएको छ । जस मध्य एउटामा आंशिक क्षती पुगेको छ भने, बाँकी चार वटा पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणको काममा संलग्न स्क्याभेटरमा आगनी गरिएको छ । ‘राती करिब एक बजेको थियो । ‘एक्कासी आगो सल्किएको देखेपछि निभाउने प्रयास गर¥यौं जोगाउन सकिएन,’ निर्माण कम्पनीका प्रतिनिधि बलबहादुर चपाईले भने । बर्षाका कारण नदीमा भेल आएकाले तीन दिनदेखी निर्माण कार्य रोकिएपछि स्क्याभेटर पार्किङ्ग गरेर राखिएको थियो । घटनामा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हुन सक्ने आशंका गरिए पनि संलग्नको अहिले सम्म पहिचान हुन सकेको छैन् ।






