काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् ।
निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आएको यो सुरुङमार्गलाई नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ । सुरुङमार्गको निर्माण ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी र अन्य प्राविधिक जटिलताका कारण निर्धारित समयभन्दा निकै ढिलो गरी आयोजना सम्पन्न भएको हो ।
आयोजना निर्माणका लागि जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनाका अनुसार निर्माणमा करिब १७ अर्ब रुपैयाँ, विनिमय दर तथा निर्माण सामग्रीको मूल्यवृद्धिबाट थप दुई अर्ब रुपैयाँ र जग्गा अधिग्रहण तथा मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च भएको हो । आयोजनाका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ । यसमार्फत हालको नागढुंगा सडकखण्डमा हुने जाम, उकालो र घुमाउरो बाटो छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ ।
उद्घाटन गरिएको भएपनि सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइने भएको छ ।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने छ । परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ । नियमित सञ्चालनपछि भने सवारीको प्रकारअनुसार शुल्क लाग्नेछ ।
सम्बन्धित समाचार
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
प्रधानमन्त्री र लिङ्देनबीच भेटवार्ता
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
वीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, गगन थापाले गरे शुभारम्भ
प्रधानमन्त्रीले बोलाए हस्तकला महासंघका प्रतिनिधि
बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
त्रिशूलीमा यात्रुसहितको ‘अन टेस्ट’भ्यान बेपत्ता






