सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । सुनसरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा दुई समूहबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर एक जनाएको ज्यान गएको हो । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गएराति बोलबम यात्राको तयारीमा रहेको एउटा समूहले डीजे बजाएर होहल्ला गरेपछि अर्को समूहले अवरोध गरेको थियो । सो क्रममा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले तीन राउन्ड हवाई फायर र सशस्त्र प्रहरीले सात राउन्ड गोली चलाएको थियो । सो क्रममा गोली लागेका मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पताल राति नै मृत्यु भएको हो ।

त्यसक्रममा १५ प्रहरी र ९ जना स्थानीय घाइते भएका छन् । घटनापछिको संवेदनशीलतालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम ११ साउनको बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जानकारी दिएका छन् ।

जारी आदेशअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार तथा देवानगञ्ज बजार क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन् । प्रशासनले प्रत्येक क्षेत्रमा चार किल्ला तोकी कर्फ्युको सीमा निर्धारण गरेको छ।

आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना तथा एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी प्रशासनले दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध