नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँगको छलफलमा के भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ?

आदरणीय कार्यकारी निर्देशकज्यूहरू,

यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु ।

आजको बैठक नियमित अन्तरसंस्थागत समन्वय बैठक मात्र नभएर नेपालको आर्थिक रूपान्तरणलाई कार्यान्वयनमा लैजाने साझा अभियानको एउटा महत्वपूर्ण चरण हो ।

पछिल्ला केही दिनमा मैले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो समय छलफल गर्ने अवसर पाएँ । ती दुवै बैठकबाट एउटा कुरा अत्यन्त स्पष्ट भएर आएको छ– निजी क्षेत्र अहिले नवीन अवसरसंगै बढी आत्मविश्वास खोजिरहेको छ । उहाँहरूलाई केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको छ ।

यही सन्दर्भमा आज म तपाईहरुसँग बसेको छु । हाम्रो सोच, हाम्रो प्राथमिकता र हाम्रो कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्छ ।
हामीले पछिल्लो एक दशकलाई फर्केर हेर्नुपर्छ । के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँ ? धेरै ठाउँमा सकेका थियौँ । तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन् ? किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो ? किन लगानीको आत्मविश्वास कमजोर भयो ? किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन ? किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो ? किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ?

यी प्रश्नहरू केवल समीक्षा गर्ने विषय होइनन् । यिनै प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्नेछ ।

यस वर्षको बजेटमार्फत सरकारले एउटा स्पष्ट दिशा तय गरेको छ । यो सामान्य वार्षिक बजेट होइन । यो आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्याप हो ।

अब प्रश्न अर्को छ, नेपाल राष्ट्र बैंक यस यात्रामा आफ्नो भूमिका कसरी पुनर्परिभाषित गर्छ ?

आज म यही विषयमा खुला र गम्भीर छलफल चाहन्छु । हामी सबैले आफ्नै संस्थालाई एउटा प्रश्न सोध्नुपर्छ ।

के हामी पर्याप्त आत्मविश्वासका साथ काम गरिरहेका छौँ? के हाम्रो नीतिगत स्पष्टता पर्याप्त छ ? के हाम्रो निर्णय प्रक्रियामा पर्याप्त तत्परता छ ? के हामी समस्या समाधान गर्ने नियामक हौँ, कि समस्या व्यवस्थापन गर्ने नियामक मात्र? हामीले अहिलेको आर्थिक परिस्थितिलाई केवल जोखिम व्यवस्थापनको दृष्टिले हेर्ने कि अवसर सिर्जनाको दृष्टिले पनि हेर्ने ? यही सोचमा अब परिवर्तन आवश्यक छ ।
आज म विशेष गरी केही विषयमा यहाँहरूको धारणा सुन्न चाहन्छु ।

सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन–कुन नीतिगत पहल गर्नुपर्छ ? उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ? बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छ? पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ ? मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउने? डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने ?

अब नियमनको उद्देश्य केवल नियन्त्रण होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि हो । हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ ? यो प्रश्न पनि हामीले आफैँसँग सोध्नुपर्छ ।

आज म विशेष आग्रह गर्न चाहन्छु— हामी ‘यो सम्भव छैन’ भन्ने सोचबाट होइन, “यसलाई सम्भव बनाउन के गर्नुपर्छ ?’ भन्ने सोचबाट छलफल गरौँ । ’cause अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास (एयष्अिथ ऋयलाष्मभलअभ) हो ।
यदि सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन ।

सरकारका तर्फबाट हामीले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएका छौँ । सुधारको प्रक्रिया सुरु भइसकेको छ । आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेका छौँ । अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ ।

म नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा हेर्न चाहन्छु ।

आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने छैन । यहाँ उठेका प्रत्येक विषयलाई कार्ययोजनामा रूपान्तरण गरिनेछ । आवश्यक परे संयुक्त कार्यदल बनाउनेछौँ, नीतिगत समन्वयलाई संस्थागत गर्नेछौँ र निर्णय प्रक्रियालाई अझ छरितो बनाउनेछौँ ।
अन्त्यमा म एउटै कुरा भन्न चाहन्छु ।

हामीसँग अहिले दुर्लभ अवसर छ । सुधारको राजनीतिक इच्छाशक्ति छ । आर्थिक स्थायित्वको आधार बनेको छ । निजी क्षेत्र अवसरका लागि तयार छ । अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, एउटै स्पष्टता र एउटै गतिका साथ अघि बढ्नुपर्छ । यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण अब केवल कल्पना रहने छैन; त्यो कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।

आउनुहोस्, आजको बैठकलाई त्यही साझा यात्राको अर्को महत्वपूर्ण सुरुवात बनाऔँ ।
धन्यवाद ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो, चाँदी पनि बढ्यो