करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक


काठमाडौं । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या सोमबारसम्म करिब ११ लाख नजिक पुगेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको छ ।

यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्यासमेत समावेश छ ।

उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ ।

विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार १ साउनदेखि १५ साउनसम्म क्यूआरबाट कारोबार गरेका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य छन् ।

यस्तै, शनिबारदेखि खुला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन् ।

‘सोमबार मध्याह्नम्म उपहारका लागि कुल १० लाख ८२ हजार ६२२ वटा कारोबार र बिल योग्य देखिएका छन्,’ उनले भने, ‘जसमा क्यूआरबाट कारोबार गरेका १० लाख ७४ हजार ७९६ छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेस गरिएको संख्या ३ हजार ४२७ रहेको छ ।’

विभागले पहिलो १५ दिन (१ साउनदेखि १५ साउनसम्म) मा १५ जनालाई दैनिक एक–एक लाख र एक जनालाई बम्परमा १० लाख रुपैयाँ पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दै छ ।

पहिलो प्रोत्साहन कार्यक्रम १६ साउनमा सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेका कारण केही ढिलाइ भएको विभागको भनाइ छ ।

विभागले पहिलो प्रोत्साहन उपहार घोषणा गर्ने अघिल्लो दिनसम्म नगद कारोबार गरेर बिल लिएका उपभोक्तालाई आफ्नो बिल प्रणालीमा प्रविष्ट गर्न अनुरोध गरेको छ ।

विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन कार्यक्रम घोषणा गरेका थिए ।

कार्यक्रमअन्तर्गत एक सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्छन् । जसलाई सरकारले हरेक दिन एक जनालाई कर कट्टी गरेर एक लाख र १५–१५ दिन गरेर महिनामा दुई जनालाई बम्परमा १०–१० लाख उपहार दिनेछ । बम्पर उपहारको १० लाख नगदमा भने करकट्टी हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा