काठमाडौं । फिल्म ‘लज्जावती’ को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश यो गीत मर्मस्पर्शी बनेको छ।
भीमकुमार ओझाले लेखेको गीतमा गायक थानेश्वर गौतमको स्वर सुन्न सकिन्छ। गीतमा सन्तोष बीसीले संगीत भरेका छन् भने नारायण दंगालको संगीत संयोजन रहेको छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलालाई देख्न सकिन्छ। जहाँ उनीहरूको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ।
प्रेमीले छोडेर गएपछि श्रीकृष्ण हराएको र कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा उनका खोज्दै हिँडिरहेको दृश्यमा समेटिएको छ।यसअघि फिल्मको पहिलो गीत दिलको मोटरु सार्वजनिक गरिएको थियो। यो गीत यतिवेला समाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा चर्चित बनिरहेको छ।
साउन २९ गते प्रदर्शनमा आउने सिनेमाका निर्देशक राजबहादुर साने हुन्। निर्देशक सानेकाअनुसार सिनेमाले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायतको अभिनय छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।







