‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् ।

‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियास् विकसित क्षेत्रीय व्यवस्थामा चीन-भारत-नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उनले उक्त कुरा बताएका छन् ।

उनले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु रहेको बताए ।

परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउँदै परराष्ट्र मन्त्री खनालले आफ्ना दुवै छिमेकीसँग सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक हित तथा एक अर्काका चासोप्रति नेपाल संवेदनशील रहेको बताए ।

उनले एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको बताउँदै सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको भरपर्दो माध्यम रहेको बताए ।

“आर्थिक कूटनीति हाम्रो परराष्ट्र नीतिको केन्द्रीय प्राथमिकता बनेको छ । नेपाल दिगो, समावेशी र उत्थानशील विकासका लागि सबै मित्रराष्ट्रसँग सहकार्य गर्न तयार छ,” परराष्ट्र मन्त्रीले भने।

चीन र भारतको आर्थिक उन्नतिले नेपालसहित छिमेकी मुलुकलाई व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार तथा ‘कनेक्टिभिटी’ विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्य विस्तारका नयाँ अवसर प्रदान गरेको उनले बताए ।

दक्षिण एसियामा आर्थिक विकासका व्यापक सम्भावना भए पनि अपेक्षाकृत क्षेत्रीय आर्थिक एकीकरण हुन नसकेको वास्तविकता सुनाउँदै परराष्ट्र मन्त्रीले कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह तथा आपूर्ति शृङ्खला सुदृढ गर्न सकेमा यो समृद्ध बन्न लामो समय नलाग्ने बताए।

“हाम्रो सहकार्यको सफलता हामीले कति सम्झौता गर्‍यौँ भन्ने होइन, आफ्ना नागरिकका लागि कति अवसर सिर्जना गर्न सक्यौँ भन्ने आधारमा मापन हुनुपर्छ,” उनले भने ।

वर्तमान सरकारले आर्थिक रूपान्तरणलाई राष्ट्रिय प्राथमिकतामा राखेको दोहोर्‍याउँदै उनले गुणस्तरीय लगानी, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, पर्यटन, स्वच्छ ऊर्जा, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा निजी क्षेत्रको विकासमा विशेष जोड दिएको बताए ।

चीन र भारतको विकासलाई मुलुकको आर्थिक उन्नयनका लागि अवसरका रूपमा लिइएको बताउँदै उनले देशलाई भूपरिवेष्टित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने गतिशील पुलका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे ।

भगवान् बुद्धको जन्मस्थल, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत, सगरमाथा तथा विश्व सम्पदा सूचीका अनेक सम्पदाले मुलुकको सौम्य शक्तिलाई अझ सुदृढ बनाएको उनको कथन थियो ।

उनले क्षेत्रीय सहकार्य, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, अनुसन्धान, नवप्रवर्तन तथा जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालय, अनुसन्धान एवं विद्वत् संस्था तथाबीचको सहकार्यलाई पनि सशक्त बनाउनुपर्नेमा जोड दिए ।

बहुध्रुवीय विश्वमा विश्वास, पारस्परिक सम्मान र साझा हितमा आधारित साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिँदै परराष्ट्र मन्त्री खनालले नेपाल त्यस दिशामा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहार घोषणा