कारोबारी सयरमा, भरिया जेलमा !

बझाङ । बझाङ बुंगलबाट महेन्द्रनगरतर्फ छुटेको यात्रुबाहक बस साँघुरो पहाडी सडक चिर्दै बिस्तारै ओरालो लागिरहेको थियो । बसभित्र यात्रु आ–आफ्नै सूरमा थिए । कोही झ्यालबाहिर फैलिएका हरिया डाँडाकाँडा नियालिरहेका थिए, कोही निद्रामै त कोही गन्तव्य पुग्ने हतारमा मोबाइल चलाइरहेका थिए । यात्राको त्यो सामान्य दिन केही मिनेटमै ‘असामान्य बन्ने छ’ भन्ने सायद कसैले कल्पनासमेत गरेका थिएनन् ।

बझाङमा अवैधतन्त्रको भित्री कथा

बस बित्थडचिर पुगेपछि प्रहरीको नियमित चेकजाँच प-यो । अधिकांश यात्रुका लागि त्यो सामान्य प्रक्रिया थियो । बुंगल नगरपालिका–२ का ६० वर्षीय गगनबहादुर धामीका लागि भने त्यही सामान्य क्षण जीवनकै सबैभन्दा असमान्य बनिदियो । प्रहरीले उनको शरीरबाट कपडाभित्र कस्सिएर बाँधिएको ४ किलो ६ सय ग्राम चरेश बरामद ग-यो । उनी तत्काल पक्राउ परे र लागूऔषध ओसारपसार अभियोगमा कानुनी प्रक्रियामा तानिए ।

केहीबेरअघिसम्म साधारण यात्रु देखिएका धामी क्षणभरमै एकाएक अभियुक्त ठहरिए । त्यो गिरफ्तारीले उनको स्वतन्त्रतामात्रै खोसेन, परिवारको भविष्यसमेत अन्योलमा धकेल्यो । गगनबहादुरजस्ताको कथा बझाङमा नयाँ भने होइन । जिल्लाका प्रहरी अभिलेख पल्टाउँदा चरेश र गाँजासहित पक्राउ परेका सयौं व्यक्तिका नाम भेटिन्छन् । तीमध्ये अधिकांश गरिब किसान, मजदुर वा भरिया छन् । उनीहरू पक्राउ पर्छन्, अदालत पुग्छन्, जेल सजाय भोग्छन् । ‘वास्तविक कारोबारी को हुन् ? पक्राउ पर्नेहरू नै अपराधको मूल पात्र हुन् कि गरिबीले काँधमा भारी बोक्न बाध्य बनाएका माध्यम मात्र ?’ यी प्रश्न भने बारम्बार उठिरहन्छन् । यिनै प्रश्नको उत्तर खोज्दै जाँदा बझाङको कथा लागूऔषधको मात्रै रहँदैन । यो कथा गरिबी, बेरोजगारी, सीमित अवसर, कमजोर पूर्वाधार र राज्यको न्यून उपस्थितिसँग गाँसिएको सामाजिक–आर्थिक यथार्थको व्यथास“ग ठोक्किन पुग्छ ।

एक भारी, केही हजार रुपैयाँ र जेलको ढोका
९ माघ २०७४ मा दुर्गाथली गाउँपालिका–६ का ३० वर्षीय कलक जाग्री २१ किलो ८ सय ग्राम चरेशसहित पक्राउ परे । समाचारमा उनी ‘चरेशसहित पक्राउ’ परेका व्यक्तिमात्रै बने । समाचारपछाडि एउटा परिवारको अभाव लुकेको थियो । प्रहरीसमक्ष उनले बरामद चरेश ‘आफ्नो नभएको’ सुनाए । आफन्तले ‘एक कट्टा चामल र केही पैसा दिने आश्वासन दिएपछि आफूले भारीमात्रै बोकेको र त्यसमा चरेश रहेकोसमेत थाहा नभएको’ उनको भनाइ थियो ।

परिवारका सदस्यका अनुसार त्यसबेला घरमा बिहान–बेलुकाको छाक टार्नै मुस्किल थियो । गरिबीले उनलाई विकल्प दिएन । केही हजार रुपैयाँको आशामा बोकेको एउटा भारीले अदालत हुँदै जेलको ढोकासम्म पु¥यायो । त्यस दिनसँगै उनको जीवनको दिशा बद्लियो ।

यस्ता कथा बझाङका लागि अपवाद होइनन्, छोराछोरीको पढाइ खर्च जुटाउन, घरको चिसो चुल्हो बाल्न, ऋण तिर्न वा दैनिक गुजारा चलाउनकै लागि जोखिमपूर्ण काम रोज्न बाध्य भएका धेरै भेटिन्छन् । उनीहरूको कथा फरक–फरक देखिए पनि मूलकारण गरिबी नै हो ।

प्रहरी अभिलेखले पनि यही गरिबी प्रस्ट पार्छ । पछिल्लो दशकमा बझाङबाट पटकपटक ठूलो परिमाणमा चरेश र गाँजा बरामद भए । यात्रुबाहक बस, जीप, पैदल हिँडिरहेका व्यक्ति र गाउँमै गरिएको कारबाहीमा पक्राउ पर्नेको पारिवापरिक अवस्था हेर्दा अधिकांश गरिब किसान, मजदुर वा भरिया नै पाइएको छ ।

यद्यपि, अनुसन्धान त्यही“ पुगेर रोकिन्छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये धेरै वास्तविक कारोबारीको नाम खुलाउन चाहँदैनन् । कसैले डरले मुख खोल्दैनन्, कसैले सजाय आफै भोगे पनि सञ्जालका अन्य सदस्यलाई जो गाउने प्रयास गर्छन् । त्यसैले अनुसन्धान धेरैजसो भरियामै सीमित हुन्छ । आर्थिक लाभ उठाउने मुख्य सञ्जाल भने प्रहरीको पहुँचभन्दा बाहिरै रहन्छ । यही कारण बझाङमा एउटा तीतो प्रश्न बारम्बार दोहोरिन्छ, ‘जेल पुग्नेहरू वास्तविक अपराधी हुन् कि गरिबीले प्रयोग गरेका पात्रमात्र ?’

जहाँ गाँजा खेती जीविकोपार्जन पनि हो
बझाङका दुर्गम पहाडी गाउँमा बिहानी घामसँगै किसान खेतबारीतिर उक्लिन्छन् । कतै मकै गोडिँदै हुन्छ, कतै कोदो रोपिँदै । यिनै पाखामा वर्षौंदेखि अर्को बिरुवा पनि मौलाइरहेको छ, गाँजा । राज्यका लागि यो निषेधित बाली हो, धेरै स्थानीयका लागि भने यही बिरुवा वर्षदिनको गुजाराको आधार बनेको छ । यही विरोधाभासले बझाङको लागूऔषध समस्यालाई कानुनीस“गै सामाजिक र आर्थिक प्रश्नस“ग जोडेको छ ।

स्थानीय बूढापाकाका अनुसार वित्थडचिर, दुर्गाथली, सुर्मा, छविसपाथिभेरा र बुंगल नगरपालिकाका माथिल्ला बस्तीमा डेढदेखि दुई दशकदेखि गाँजा उत्पादन हुँदै आएको छ । अधिकांश जमिन पाखो छ, सिँचाइ सुविधा छैन, नगदेबालीको सम्भावना सीमित छ र बजारसम्मको पहुँच कमजोर छ । यस्तो अवस्थामा धेरै किसानसँग आम्दानीका विकल्प बाँकी रहँदैनन् । त्यसैले निषेधित भए पनि गाँजा खेतीलाई निरन्तरता दिइएको स्थानीय भनाइ छ ।

स्थानीय जीवनमा गाँजा उपयोग चरेश उत्पादनमै सीमित छैन । यसको दाना अचार बनाउन र बिक्री गर्न प्रयोग हुन्छ । बोक्राबाट डोरी, कपडा तथा स्थानीय भाषामा ‘बल्लो’ भनिने सामग्री तयार गरिन्छ । सुकेको डाँठ दाउराको काम लाग्छ, अनि कमलो पातबाट चरेश उत्पादन गरिन्छ । यही कारण कतिपय गाउँलेले गाँजालाई परम्परागत उपयोगसँग जोडिएको बालीका रूपमा पनि हेर्ने गरेका छन् । कानुनी नजरमा भने यसबाट उत्पादन हुने चरेश अवैध लागूऔषध भएकाले उत्पादक र कारोबार दुवै अपराधको दायरामा पर्छन् ।

गाउँमा उत्पादन, नाफा सञ्जालको हातमा
गाँजा खेती गर्ने किसान नै अन्तिम कारोबारी भने हुँदैनन् । स्थानीय स्रोतका अनुसार गाउँमै केही व्यक्तिले उत्पादन संकलन गर्छन् । त्यसपछि भरियामार्फत जिल्लाबाहिर पठाइन्छ । सीमावर्ती बजार हुँदै विभिन्न जिल्लासम्म पुग्ने सञ्जाल वर्षौंदेखि सक्रिय रहेको स्थानीय बताउँछन् । यो सञ्जालको सबैभन्दा कमजोर कडी भने भरिया हुन् । दैनिक ज्यालाभन्दा केही बढी कमाइ हुने आशा, ऋण तिर्नुपर्ने बाध्यता वा घरखर्च चलाउनुपर्ने विवशताले उनीहरूलाई यस्तो जोखिम उठाउन बाध्य बनाउँछ । ‘सामान कहाँ पुग्छ, कसको हो, अन्तिम गन्तव्य कहाँ हो ?’ भन्ने जानकारी धेरैजसो उनीहरूसँग पनि हुँदैन । उनीहरूको जिम्मेवारी भारी बोक्ने हुन्छ । प्रहरी नियन्त्रणमा पर्ने पहिलो व्यक्ति पनि उनीहरू नै बन्छन् । प्रहरी अधिकारीका अनुसार पक्राउ परेका व्यक्तिले वास्तविक सञ्जालको नाम खुलाउन नचाहँदा अनुसन्धान धेरैजसो त्यही“ रोकिन्छ । यसले आर्थिक लाभ उठाउने मुख्य कारोबारीसम्म पुग्न कठिन हुने गरेको प्रहरी बताउ“छन् । परिणामतः अदालत र जेलको ढोकामा भरिया पुग्छन्, जबकि ठूलो नाफा कमाउने सञ्जाल कानुनी पहुँचबाहिरै रहन्छ ।

बरामद बढ्छ, कारोबार किन रोकिँदैन ?
पछिल्ला वर्ष बझाङबाट पटकपटक ठूलो परिमाणमा चरेश र गाँजा बरामद भएका छन् । विभिन्न समय बुंगल, बित्थडचिर, चैनपुर, खप्तडछान्नालगायत क्षेत्रमा कारबाही भएका छन् । प्रहरीका लागि यी सफल ‘अपरेसन’ हुन् । योस“गै अर्को प्रश्न पनि उब्जिन्छ, ‘यदि कारोबार नियन्त्रण हुँदै गएको हो भने यति धेरै बरामद किन भइरहेका छन् ?’

स्थानीयअनुसार यसको उत्तर गरिबीमै लुकेको छ । चरेश कारोबारमा संलग्न सबै व्यक्तिको आर्थिक हैसियत एउटै हुँदैन । मुख्य कारोबारीले ठूलो नाफा कमाउँछन् । भरियाको हिस्सामा भने केही हजार रुपैयाँ वा एकछाक खानाको प्रलोभनमात्रै पर्छ । बदलामा उनीहरूले स्वतन्त्रता गुमाउँछन् । कतिपयले आफूले बोकेको सामानको वास्तविक प्रकृति थाहा नभएको दाबी गरे पनि कानुन त्यस्तो दाबीलाई उन्मुक्तिको आधार मान्दैन । त्यसैले गरिबीले काँधमा राखेको भारी जेल सजायमा पुगेर टुंगिन्छ ।

समस्या लागूऔषधको मात्र होइन, विकासको पनि
बझाङका धेरै दुर्गम बस्तीमा आज पनि रोजगारीको अवसर सीमित छ । सिँचाइ अभाव, बजारसम्म पुग्ने कठिन बाटो, वैकल्पिक नगदेबाली कमी र कमजोर पूर्वाधारले ग्रामीण जीवन कठिन बनाएका छन् । यही कारण छिटो आम्दानीको आशाले गाँजाखेती धेरै परिवारका लागि आकर्षक विकल्प बन्ने गरेको स्थानीय बताउँछन् । लागूऔषध नियन्त्रणलाई प्रहरी कारबाहीको विषय मानेरमात्रै समाधान सम्भव छैन । जबसम्म गाउँमा रोजगारी, वैकल्पिक कृषि, पूर्वाधार र आयआर्जनका अवसर विस्तार हुँदैनन्, पक्राउका समाचार दोहोरिरहने छन् । बझाङको लागि विकासबाट पछि परेको एउटा दुःखद कथा हो ।

तथ्यांकले देखाएको बदलिँदो चुनौती
बझाङमा लागूऔषधको चर्चा लामो समयसम्म चरेश र गाँजामै सीमित थियो । पछिल्ला केही वर्षका प्रहरी अभिलेखले समस्या नयाँ मोडमा पुगेको छ । अहिले जिल्लामा चरेश र गाँजासँगै हिरोइन तथा प्रतिबन्धित औषधिजन्य लागूऔषध ओसारपसार र प्रयोगसमेत देखिन थालेको छ । यसले बझाङको चुनौती उत्पादन र तस्करीमै सीमित नरही प्रयोगकर्ताको संख्या पनि बढ्न थालेको देखाउँछ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा लागूऔषधसम्बन्धी पाँच मुद्दा दर्ता भए । ११ जना पक्राउ परे । उनीहरूबाट ६ किलो १ सय ८४ ग्रामभन्दा बढी चरेश, ९१ किलोभन्दा बढी गाँजा तथा प्रतिबन्धित क्याप्सुल र ट्याब्लेट बरामद गरिए । यसको अर्को वर्ष मुद्दा संख्या केही घटे पनि बरामद हुने चरेशको मात्रा बढ्यो र प्रहरीले गाँजा खेतीसमेत नष्ट ग-यो ।

आर्थिक वर्ष २०८२–०८३ मा अवस्था फेरि गम्भीर देखियो । १७ वटा मुद्दा दर्ता भए, ४१ जना पक्राउ परे, २४ किलोभन्दा बढी चरेश, हिरोइन, गाँजा तथा अन्य प्रतिबन्धित औषधि बरामद भए । २३ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको गाँजा खेती फँडानी गरिएको प्रहरीको तथ्यांक छ । तथ्यांकले कारबाही बढिरहेको देखाए पनि समस्या घटेको देखिन्न ।

युवापुस्तामा बढ्दो जोखिम
प्रहरी अधिकारीका अनुसार अहिले बझाङको चुनौती उत्पादन र तस्करीमै सीमित छैन । जिल्लामा हिरोइन र अन्य प्रतिबन्धित लागूऔषध भित्रिनेक्रम बढ्दै गएको छ । विद्यालय र कलेज उमेरका किशोर–युवा कुलतमा फस्न थालेको अनुसन्धानले समेत देखाएको छ ।

साथीको प्रभाव, देखासिकी, अभिभावकको कमजोर निगरानी र जनचेतना अभाव नै प्रहरीले यसको मुख्य कारण मानेको छ । प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार लागूऔषध नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी होइन । परिवार, विद्यालय, स्थानीय सरकार र समुदाय सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न सकेमात्र युवालाई कुलतबाट जोगाउन सकिन्छ ।

कारबाहीभन्दा ठूलो चुनौती
प्रहरीले प्रत्येक वर्ष गाँजाखेती फँडानी, चेकजाँच, पक्राउ अभियान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसमा स्थानीय बुझाइ भने फरक छ । उनीहरूका अनुसार वैकल्पिक कृषि, रोजगारी, पुनस्र्थापना र समुदायस्तरका दीर्घकालीन कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन हुन सकेका छैनन् । त्यसैले पक्राउ र बरामदका समाचार दोहोरिए पनि समस्याको जरा उखेलिन सकेको छैन ।

स्थानीय गाँजा उत्पादनको मूलकारण गरिबी र विकल्पको अभाव ठान्छन् । उनीहरू पक्राउ र खेती फँडानीले मात्रै समस्या समाधान नहुने बताउ“छन् । अपराधको स्रोतलाई रोक्नुअघि त्यसलाई जन्माउने सामाजिक र आर्थिक अवस्थालाई परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ ।

गगनबहादुर धामी पक्राउ परेको त्यस बिहान एउटा प्रहरी कारबाहीको समाचारमात्र थिएन । त्यो एउटा परिवारको पीडा थियो । कलक जाग्रीको कथा पनि त्यही पीडाको अर्को अध्याय हो । यस्ता सयौं कथा बझाङका गाउँमा छरिएर बसेका छन् । कसैले ऋण तिर्न भारी बोके, कसैले छोराछोरीको पेट पाल्न जोखिम मोले । अनि, कानुनको कठघरामा उभिन पुगे ।

लागूऔषध उत्पादन, ओसारपसार र कारोबार कानुनविपरीतका कार्य हुन् र त्यसको नियन्त्रण राज्यको दायित्व हो । नियन्त्रणको अर्थ पक्राउ संख्या बढाउनुमात्रै पनि होइन । जबसम्म दुर्गम गाउँमा रोजगारी सिर्जना हुँदै न, किसानले आफ्नाे उत्पादनको उचित मू ल्य पाउँदैनन् ,वैकल्पिक नगदे बाली व्यवस्था हुँदैन, सडक र बजार पहुँच विस्तार हुँदैन र युवाले गाउँमै भविष्य देख्न सक्दैनन्, तबसम्म गरिबीले नयाँ–नयाँ भरिया जन्माइरहनेमा आशंका छैन ।

बझाङको कथा चरेश बरामदकै मात्र होइन । यो विकासको मूलधारबाट पछि परेका बस्तीको व्यथा हो । ‘गरिबी, बाध्यता, अपराध र राज्यको जिम्मेवारी कसरी एउटै घेराभित्र गाँसिएका छन् ?’ भन्ने यथार्थ हो यो । कानुनले अपराध नियन्त्रण गर्न सक्छ, अपराध जन्माउने कारण हटाउन सक्दैन । यसका लागि विकास, अवसर र राज्यको प्रभावकारी उपस्थिति आवश्यकता पर्छ ।

बझाङले उठाएको सबैभन्दा ठूलो प्रश्न लागूऔषधको होइन, विकासको हो । जबसम्म त्यो प्रश्नको जवाफ खोजिँदैन, प्रहरीको बरामद सूचीमा नयाँ नाम थपिइरहने छन्, भरिया फेरिइरहने छन्, सञ्जाल भने उस्तै रहने छ । गरिबीले काँधमा बोकाएको त्यो भारी फेरि कुनै न कुनै निर्दोष वा विवश नागरिकलाई जेलको ढोकासम्म पु-याइरहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

भण्डारीलाई थुनामुक्त गर्न अस्वीकार