न्याय खोज्दै तेतरी खातुन

राजविराज । सप्तरीमा मिटरबाजी र मिटर ब्याजले पीडित भई सर्वस्व गुमाउनेको संख्या बढ्दै गएका बेला बिहीबार थप एक पीडित महिला सार्वजनिक भएकी छिन । उनी हुन् सप्तरीको खडग नगरपालिका-९ कल्याणपुरकी ६२ वर्षिया तेतरी खातुन । राजविराज ७ का साहुकार माधव प्रसाद साहको ऋणको फन्दामा सर्वस्व गुमाउन लागेको भन्दै न्यायका लागी सबै सँग आग्रह गरेकी छिन । 

लिएको रकम व्याज सहित तिरी सक्दा पनि आफूलाई थाहै नदिई धितोबापत राखिएको जग्गा विक्री गरिएको गुनासो

न्याय खोज्दै राजविराज आइपुगेकी उनले कतै कुनै सुनुवाइ नभएको भन्दै सञ्चारकर्मी माझ सहयोगको याचना गरेकी छिन । आफूले लिएको ऋणको झन्डै दोब्बर रकम बुझाई सक्दा पनि ऋण लिँदा गरिएको कागज फिर्ता नगरिएको र बस्दै आएको एउटा घर पनि साहले आफूलार्ई थाहै नदिई अर्कैलाई विक्री गरिसकेको उनको गुनासो छ । 

तेतरीले दाजु गम्भीर बिरामी पर्दा साहुबाट १० वर्ष अघि दुई लाख रुपैयाँ ऋण लिएको बताइन । सो बापत आफूले आफ्नो डेढ कट्ठा भवन सहितको जग्गा धितो राखेको  उनको भनाइ छ । आफूले लिएको भन्दा झन्डै दोब्बर रकम बुझाई सक्दा पनि जग्गाको कागज फिर्ता दिएनन्, तेतरीले भनिन–अहिले आएर ती जग्गा अर्कै व्यक्तिलाई विक्री गरिसकेको मालपोत कार्यालयबाट थाहा पाएकी हुँ । 

यस अघि ३ लाख ५० हजार रुपैयाँ बुझाई सकेको र कागज फिर्ता लिन जाँदा साह परिवारले विभिन्न बहानामा आलटाल गर्दै आएको उनले सुनाइन । समस्या परेका बेला विश्वासमा परी साहुकार साह र उनका श्रीमती सावित्रीले भने जस्तै कागजहरूमा सही छाप गरी दिए अहिले आएर घर न घाटको भएकी हुँ, उनले भनिन । 

उनले न्यायका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुचित लेनदेन (मिटर व्याज) शाखामा २०८१ साल वैशाख २६, जेठ १८, जेठ २९, साउन २९ र २०८२ बैशाख २८ गते गरी पाँच पटक निवेदन दिई सकेको र जिल्ला प्रहरी कार्यालयले वडा प्रहरी कार्यालयलाई मानिस सहित उपस्थित गराई दिने भनी पत्राचार बाहेक अन्य केही गर्न नसकेको गुनासो पोखेकी छिन । 

यस्तै उनले जिल्ला प्रशासन कार्यालय सप्तरीको मिटर व्याज नियन्त्रण इकाई शाखामा समेत २०८२ वैशाख २८, पौष ६,११,२१,२८ र चैत्र १७ गते गरी ६ पटक निवेदन सहित सम्पर्क गर्दा त्यहाँबाट पनि जिल्ला प्रहरी कार्यालयलाई “मानिस उपस्थित गराई दिने” भनी पत्राचार बाहेक अन्य केही कार्य अघि बढ्न नसकेको उनले दुखेसो पोखेकी छिन । 

“जिल्ला प्रशासन कार्यालयले. जिल्ला प्रहरी कार्यालयलाई र जिल्ला प्रहरी कार्यालयले. वडा प्रहरी कार्यालयलाई पत्राचार गर्ने बाहेक अहिले सम्म केही भएको छैन, उनले भनिन– अब न्याय खोज्न कहाँ जाने ?”

उनले धितो बापत झुक्क्याएर मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न  साह परिवारले नमानेको र आफूलाई थाहै नदिई अर्कैलाई विक्री समेत गरिसकेको भन्दै सहयोगका लागी सबै सँग याचना गरेका छन् । 

यस’bout जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत मोना झासँग जिज्ञासा राख्दा उनले तेतरीको समस्या प्रति आफूहरूले हर सम्भव सहयोग गर्ने बताउँदै पीडितलाई सम्पर्कमा आउन अनुरोध गरिन् ।

यता साहले उक्त जग्गा ऋणको धितो बापत नभई सोझै तेतरीसँग खरिद गरेको बताएका छन् । “२०६९ सालमा दाजुको उपचारका लागि जग्गा बेच्छु भन्दै आएकी थिइन, दरभाउमा कुरा मिलेपछि सहमतिले नै खरिद गरी रजिस्ट्रेसन पास गराएको छु” उनले भने ।

उनले उक्त जग्गा २०७६ सालमा नै अरूलाई बिक्री गरेको स्पष्ट पारेका छन् ।

यस अघि मिटरव्याजीको ऋणको फन्दामा परेर राजविराज ६ का ओम प्रकाश क्षेत्री, सिता क्षेत्री, छिन्नमस्ता गाउँपालिका ६ का सञ्जीव मिश्रालगायतले सर्वस्व गुमाइसकेका छन् । अझ केही पीडितहरू न्यायका लागि दिनहुँजसो जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची