नेपाल स्की संघको सातौँ नियमित साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल स्की संघको सातौँ नियमित साधारण सभा आइतबार सम्पन्न भएको छ। स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा भएको बन्द सत्रले आर्थिक वर्ष २०८३-८४ का लागि ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरेको छ।

संघले आगामी वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम र विन्टर ओलम्पिक्सको तयारीका लागि उक्त बजेट छुट्याएको हो। बन्द सत्रले संघकी उपाध्यक्ष रमा भट्टराईले प्रस्तुत गरेको कार्ययोजना, महासचिव विजय श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

सभाले नयाँ लेखापरीक्षक नियुक्त गर्नुका साथै आगामी वर्ष नियमित साधारण सभा गर्ने निर्णय गरेको छ। संघले बीआर पराजुली एन्ड एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गरेको छ। साधारण सभामा संघका पदाधिकारी तथा सदस्यहरू भौतिक र भर्चुअल माध्यमबाट सहभागी भएका थिए। संघको नयाँ विधानमा भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा भर्चुअल माध्यमबाट पनि साधारण सभामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

यसअघि काठमाडौँको स्वयम्भूस्थित वज्र होटलमा साधारण सभाको उद्घाटन समारोह आयोजना गरिएको थियो। समारोहको अध्यक्षता उपाध्यक्ष रमा भट्टराईले गरेकी थिइन् भने अध्यक्ष जीवनराम श्रेष्ठ प्रमुख अतिथि थिए। श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष पनि हुन्।

अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रमा देखिएको अस्थिरताका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए। उनले सबैले आ–आफ्नो ठाउँबाट कानुनी र वैधानिक व्यवस्थाअनुसार इमानदारीपूर्वक काम गरे खेलकुद क्षेत्रको अस्थिरता अन्त्य हुने बताए।

“खेलकुद क्षेत्रमा अस्थिरता अन्त्य भए खेल संघहरू निर्धक्क रूपमा खेलको विकासमा अघि बढ्न सक्छन्,” उनले भने।

श्रेष्ठले देशमा आएको परिवर्तनसँगै खेलकुद क्षेत्रमा पनि सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरे। अन्योल, अस्थिरता र हस्तक्षेप अन्त्य गर्न सके खेलकुदको विकाससँगै राष्ट्रको गौरव बढाउने काममा सफलता हासिल गर्न सकिने उनले बताए।

स्की खेलको विकास’bout चर्चा गर्दै श्रेष्ठले संघ यस क्षेत्रमा विकास गर्ने उद्देश्यसहित अघि बढिरहेको बताए। सोचेजति काम गर्न नसके पनि सम्भव भएसम्म प्रयास भइरहेको उनको भनाइ थियो।

सगरमाथासहित हिमालैहिमालले भरिएको नेपालमा विन्टर खेलकुद’bout अझै धेरैलाई जानकारी नभएको उल्लेख गर्दै उनले स्की खेलको विकास गर्न सके नेपाललाई स्की खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।

सभापति रमा भट्टराईले स्की खेलको प्रवर्धनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। संघका महासचिव विजय श्रेष्ठले नेपालमा स्की खेल सञ्चालनमा धेरै चुनौती भए पनि सम्भव भएसम्म संघले यसको प्रवर्धनका लागि काम गरिरहेको बताए।

उद्घाटन समारोहमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिमिल्सिना, एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव राजीव श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि धन शाहीले शुभकामना मन्तव्य दिएका थिए।

‘स्नोलाइन’ म्यागेजिन सार्वजनिक
नेपाल स्की संघले स्की गतिविधि तथा विभिन्न सामग्री समेटिएको ‘स्नोलाइन’ म्यागेजिन प्रकाशन गरेको छ। साधारण सभाको उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठलगायत अतिथिले म्यागेजिनको पहिलो अंक सार्वजनिक गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

तर्साएर तर्सिन्न, दबाएर दबिन्न : सभापति थापा