किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिल संघको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी)ले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।

डब्लुएपीसीका अध्यक्ष डेभिड ओमवोयोले बिहीबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न नेपाल सरकार, नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग माग गरिएको हो । श्रेष्ठ डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत हुन् ।

नेपालबाट प्राप्त समाचारअनुसार गोपनीयता कानुन उल्लंघनको आरोपमा श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट संयुक्त प्रहरी टोलीले पक्राउ गरेको र काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको विज्ञप्तिमा उल्लेख छ । पक्राउको केही घण्टापछि प्रहरीले उनको कार्यालयमा समेत खानतलासी गरेको डब्लुएपीसीले जनाएको छ ।

प्रकाशित सामग्रीमा गोपनीयता, शुद्धता, नैतिकता वा पत्रकारिताका अन्य पक्षसम्बन्धी वैध गुनासोलाई गम्भीरतापूर्वक लिनुपर्ने भए पनि त्यसको समाधान स्थापित कानुनी, न्यायिक तथा प्रेस नियमनका संयन्त्रबाट खोजिनुपर्ने डब्लुएपीसीको भनाइ छ । पत्रकारितासम्बन्धी कामका लागि हिरासतमा राख्नु उपयुक्त माध्यम नभएको संघले जनाएको छ ।

‘प्रकाशित सामग्रीका कारण पत्रकारको पक्राउ अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसप्रति प्रतिबद्ध हरेक लोकतन्त्रका लागि चिन्ताको विषय हो,’ विज्ञप्तिमा अध्यक्ष ओमवोयोलाई उद्धृत गर्दै भनिएको छ, ‘पत्रकारितामा गोपनीयता र शुद्धताप्रतिको जिम्मेवारी हुन्छ । तर यसको समाधान स्थापित कानुनी र व्यावसायिक संयन्त्रबाट हुनुपर्छ । हिरासत प्रेस नियमन वा न्यायिक प्रक्रियाको विकल्प बन्नु हुँदैन ।’

डब्लुएपीसीले श्रेष्ठमाथिको अनुसन्धान वा उजुरीलाई पारदर्शी, निष्पक्ष र उचित प्रक्रियाअनुसार अघि बढाउन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक संरक्षणको सम्मान गर्न र प्रकाशित सामग्रीसम्बन्धी विवादमा स्थापित प्रेस काउन्सिल, मिडिया नियमन तथा न्यायिक संयन्त्रको प्रयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै, वैध पत्रकारिता तथा सम्पादकीय जिम्मेवारी निर्वाह गरेकै कारण पत्रकारलाई धम्की, अनावश्यक हिरासत वा आपराधिक दबाबमा पार्न नहुने भन्दै संघले शक्तिमा रहेकालाई निर्भीक रूपमा प्रश्न गर्न र खोजमूलक पत्रकारिता गर्न सक्ने वातावरण निर्माण गर्न नेपाल सरकारसँग माग गरेको छ ।

डब्लुएपीसीले नेपालका पत्रकार तथा सञ्चार संस्थाले श्रेष्ठको रिहाइका लागि गरिरहेको पहलप्रति समेत ऐक्यबद्धता जनाउँदै प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र जिम्मेवार पत्रकारिताका पक्षमा आफूहरू उभिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

रोल्पा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी