मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले अल्पमतको सरकार चलाइरहेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच एक वर्षदेखिको सत्ता साझेदारीलाई नेपाली कांग्रेसले नै गत ३१ असारमा निरन्तरता दिन नसकिने निष्कर्ष सार्वजनिक गरेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । आफूलाई समर्थन गरेको दल सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने भएकाले मुख्यमन्त्री बानियाँले आगामी १ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री बानियाँले सोही दिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौंडास्थित संसद सचिवालयमा पत्राचार गरेका छन् ।
विश्वासको मतको तयारी भइरहेकैबेला प्रदेशसभामा दुई सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) पनि सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री बानियाँले त्यस दलका शैलेन्द्रराज बज्राचार्यलाई भौतिक विकास तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव प्रकाश चापागाईंले मुख्यमन्त्री बानियाँले आगामी ४ भदौभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान रहेको बताए ।
नेपालको संविधानमा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभासमक्ष विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट विश्वासको मत पारित हुन नसके मुख्यमन्त्री पदमुक्त हुने प्रावधान छ ।
नेपालको संविधानबमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था रहेको चापागाईंले बताए ।
११० सदस्यीय बागमती प्रदेशसभाका छ जना सदस्य गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेपछि हाल सभामा १०४ सदस्य कायम छ ।
वर्तमान अवस्थामा बहुमत सिद्घ गरी सरकार निर्माण गर्न वा जोगाउन ५३ सांसदको समर्थन आवश्यक पर्नेछ । प्रदेशसभामा कांग्रेस ३६ सिटसहित ठूलो दलका रुपमा उपस्थित छ भने नेकपा एमालेसँग उपभासमुखसहित २५ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग २६ सिट रहेको छ । एमाले र नेकपाबीच नयाँ सत्ता गठबन्धनका लागि समझदारी बने पनि दुई दलको सिट संख्या जोड्दा ५१ मात्र छ ।
प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । पछिल्लो पटक बनेको एमाले–नेकपा गठबन्धनले सरकार बनाउन राप्रपा, नेमकिपा वा अन्य साना दलको समर्थन निर्णायक बन्नेछ ।
सम्बन्धित समाचार
बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
बागमती सरकार निर्माणमा सकस,साना तान्ने दाउमा ठूला दल, निर्णायक राप्रपा तटस्थ
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
सुदूरपश्चिम प्रदेशमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री नियुक्त
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता






