धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा होटल तथा आतिथ्य क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । साना आवासगृहदेखि तारे होटल निर्माणसम्मको गतिविधिले यहाँको पर्यटन व्यवसायले नयाँ फड्को मार्ने संकेत दिएको छ ।
विगतमा एक पनि तारे होटल नभएको धनगढीमा अहिले धमाधम तारे होटल निर्माण भइरहेका छन् । नैनादेवी मन्दिर नजिक निर्माणाधीन होटल सनलाइटले आगामी दशैदेखि क्यासिनो बारसहितको चारतारे होटलका रूपमा सेवा सुरु गर्ने तयारी गरेको छ । ‘हामी प्रदेशकै मानक बढाउने होटल सेवा ल्याउँदैछौं,’ होटलका सञ्चालक कलम बमले भने ।
यता चौलानी ग्रुपले पुरानो भवन भत्काएर सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल निर्माणलाई तीव्रता दिएको छ । नेपालकै अग्रणी ब्रान्ड सिद्धार्थ ग्रुपले पनि धनगढी चौराहाबाट सेवा सुरु गरिसकेको छ । यस्तै १० करोडको लगानीमा नेचुरा रिसोर्ट पनि सञ्चालनमा आइसकेको छ ।
त्यस्तै धनगढीमा यसअघि डिभोटी, रुवस, फ्लोरा, साथी, विद्या, सौराईं, ग्रिनल्याण्ड, जियान, हटपटलगायतका ठूलो लगानी रहेका होटल सञ्चालनमा रहेका छन् । होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयका धनगढीमा होटल तथा आतिथ्य क्षेत्रमा १२ अर्ब बढी लगानी भइसकेको र त्यहाँ प्रत्यक्ष–अप्रत्यक्षरुपमा १६ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
त्यस्तै प्रदेशभरीमा होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्ब रुपैयाँ लगानी भइसकेको छ । यसबाट प्रत्यक्ष–अप्रत्यक्ष ५० हजारभन्दा बढी स्थानीयले रोजगारी पाएका छन् ।
‘राजनीतिक स्थिरता र शान्ति–सुरक्षा कायम भए पर्यटन क्षेत्रले अझै तीव्र गतिमा प्रगति गर्छ,’ पाण्डेयले भने । लगानी बढे पनि होटलहरूको अवस्था भने उत्साहजनक छैन । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार प्रदेशका होटलको औसत अक्कुपेन्सी झण्डै ४० प्रतिशत मात्र छ ।
व्यवसायीहरूले भारत–नेपाल सीमामा सहज आवागमन नहुनु र राति १० बजेभित्र बजार बन्द गर्नुपर्ने प्रशासनिक नियमका कारण भारतीय पर्यटक आकर्षणमा कमी आएको गुनासो गरेका छन् ।
राष्ट्र बैंकले धार्मिक, पुरात्विक र पर्यटकीय पूर्वाधारको विकास नहुनु नै पर्यटक आगमनमा गिरावटको मुख्य कारण भएको निष्कर्ष निकालेको छ । लगातार बढिरहेको लगानीले धनगढीको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । तर अक्कुपेन्सी बढाउन र पर्यटक भित्र्याउन पूर्वाधार र नीतिगत सहजीकरणको खाँचो रहेको व्यवसायी बताउँछन् ।
सम्बन्धित समाचार
२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा
सरकार ! ग्यास खै ?
अमेरिकी डलर : न बढ्यो, न घट्यो
आजबाट सवारीसाधनको कुम्भमेला
घट्यो सुनको भाउ, चाँदी के भयो ?
गोपनीयता हनन गरेको भन्दै कानुनी लडाइँको चेतावनी
भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो






