काठमाडौं । खहरे खोलाको चिसो पानीमा एउटी किशोरी पुरानो कपडा पखालिरहेकी छिन् । वरिपरि कुनै पर्खाल छैन, न त कुनै स्नानघर । जंगलको छेउमा अस्थायी बस्ती छ । त्यही बस्तीबाट केही पर, उनी आफ्नो शरीरसँगै समाजले दिएको एउटा अदृश्य जिम्मेवारी पनि धोइरहेकी छन् ।
उनी हुन् १७ वर्षीया मायाराम शाही । सात दिनदेखि उनलाई घरभित्रको काम गर्न अनुमति थिएन । खाना पकाउन पाइएन । पूजा गर्न पाइएन । परिवारसँग महिनावारी नहुँदाको वेलाको जस्तो व्यवहार भएन । सात दिन पूरा भएपछि मात्र उनी खोलामा नुहाउन आएकी हुन् । पुरानो कपडा धोएपछि उनी फेरि समुदायको भाषामा ‘शुद्ध’ हुनेछिन् ।
यो दृश्य नेपालका धेरै गाउँमा देखिने महिनावारी विभेदको होइन । यहाँ न महिनावारी भएको बेला बाहिर बस्नुपर्ने गोठ छ, न महिलालाई घरबाट निकालिन्छ । त्यसैले पहिलो नजरमा लाग्न सक्छ राउटे समुदायमा महिनावारी विभेद छैन ।
तर केही बेर त्यही दृश्य नियाल्दा अर्को प्रश्न उठ्छ । के महिनावारी विभेद भनेको महिनावारी भएको बेला घरभन्दा पर बस्नुपर्ने ‘छाउगोठ’ मात्रै हो ?
यदि महिनावारी भएको बेला आफ्नै घरभित्र खाना पकाउन बन्देज गरिन्छ । पूजा गर्न रोकियो, परिवारसँग अलग सुताइन्छ । सात दिनसम्म ‘अशुद्ध’ मानियो र त्यसपछि मात्रै ‘शुद्ध’ घोषित गरियो भने त्यो विभेद होइन र ? यही प्रश्नले राउटे समुदायको महिनावारी अभ्यासलाई नयाँ दृष्टिले हेर्न बाध्य बनाउँछ ।
राउटे नेपालका अन्तिम घुमन्ते आदिवासी समुदाय हुन् । उनीहरूको पहिचान जंगलसँग गाँसिएको छ । स्थायी घर छैन । आज यहाँ, भोलि अर्को जंगलको किनारमा । परम्परा नै उनीहरूको कानुन हो, र कानुन नै पहिचान । यही परम्पराभित्र महिनावारीलाई पनि एउटा निश्चित सामाजिक नियमले बाँधेको छ ।
राउटे समुदायमा महिनावारीलाई ‘छुइ’ भनिन्छ । उनीहरूको खाम्ची भाषामा ‘असुम्न’ भन्ने गरिन्छ भने नयाँ पुस्ताका किशोरीहरूले अहिले ‘मिन्स’ शब्द प्रयोग गर्न थालेका छन् । शब्द फेरिए पनि त्यससँग जोडिएको सामाजिक अर्थ भने उस्तै छ, महिनावारी भएको शरीरलाई केही दिनका लागि अलग व्यवहार गर्ने । ‘असुम्न भएको बेला घरभित्रको काम गर्न पाइँदैन,’ मयाराम भन्छिन्, ‘दाउरा ल्याउने, पानी बोक्ने काम गर्नुपर्छ । सात दिन पुगेपछि नुहाएपछि मात्र शुद्ध भइन्छ ।’
हामी बिहानै दाउरा ल्याउन जंगल जान्छ, समयमै नुहाउन पाएन,’ मयाराम भन्छिन्, ‘असुम्न (महिनावारी) भएको समयमा घरभित्रको काम गर्न मिल्दैन । हाम्रो जनताले दिँदैन, यस्तो बेला दाउरा ल्याउन जंगल जाने, पानी ल्याउने काम मात्र हुन्छ । सात दिन पुगेर नुहाएपछि मात्र शुद्ध भइन्छ ।’

राउटे समुदायमा मयाराम जस्तै २७ वर्षीया गाजली, १९ वर्षीया घुस्रा, र वर्ष २९ की नबिना शाही सहित राउटे समुदायका सबै महिलाहरुको महिनावारी दिनचर्या यसरी नै बित्ने गर्दछ । उनीरुको भनाइमा कुनै गुनासोको स्वर छैन । मानौँ, उनी एउटा पुस्तौंदेखि दोहोरिँदै आएको नियम सुनाइरहेकी छन् । तर यहीँबाट महिनावारी विभेदको कथा सुरु हुन्छ ।
एउटै घर बस्ने ठाउँ फरक
राउटे समुदाय नेपालको एकमात्र घुमन्ते फिरन्ते लोपोन्मुख आदिवासी समुदाय हो । उनीहरू दैलेख, सुर्खेत, अछाम, जाजरकोट, सल्यान र रुकुमपश्चिम आसपासका जंगल र नदी किनारमा अस्थायी बस्ती बनाएर बस्ने गर्छन् ।
महिनावारी हुँदा महिलालाई गोठमा राखिँदैन, तर उनीहरूको दैनिकी पूर्ण रूपमा बदलिन्छ । एउटै टहराभित्र बसे पनि सुत्ने स्थान फरक हुन्छ । राउटे समुदायका अगुवाहरू भन्छन्, हामीकहाँ छाउगोठ छैन, त्यसैले महिनावारी विभेद पनि छैन । उनीहरूको तर्क सुन्दा लाग्छ, विभेद भनेको छुट्टै गोठमा राख्नु मात्रै हो । गोठ छैन भने विभेद पनि छैन ।
महिनावारी भएका बेला महिलाले खाना पकाउन मिल्दैन । पूजा गर्न पाइँदैन । भाँडा माझ्न पाइँदैन । एउटै टहरोभित्र बसे पनि सुत्ने ठाउँ अलग हुन्छ । सोसेक नेपालद्वा संचालित राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्री भन्छन् ‘बीचमा आगो बलिरहेको हुन्छ । एकातिर परिवार, अर्कोतिर महिनावारी भएकी महिला वा किशोरी सुत्नुपर्छ ।’

राउटे समुदायमा गोठ छैन, तर दूरी छ । बार छैन, तर सीमा छ । यो सीमालाई कसैले देख्दैन । तर महिलाले हरेक महिना गहिरो विभेद महसुस गर्छिन् । रोचक कुरा के छ भने, घरभित्रका काम गर्न ‘अशुद्ध’ मानिएकी महिलालाई बाहिरका गाह्रो काम भने गर्नैपर्छ । जंगलबाट दाउरा ल्याउने, पानी बोक्ने, कहिलेकाहीँ बजारसम्म जाने जिम्मेवारी पनि उनकै काँधमा आउँछ । कतिले महिनावारी भएको सात दिन घरभित्रको काम गर्न नपरेर आराम भयो भन्दा पनि रहेछन् । तर, उनीहरुले गर्ने कामसँग त्यो तर्कको क’नै तालमेल मिल्दैन ।
अर्थात् ‘अशुद्ध’ भन्ने मान्यता श्रममा लागू हुँदैन, अधिकारमा मात्रै लागू हुन्छ । यही विरोधाभासले राउटे समुदायको महिनावारी अभ्यासलाई झन् गहिरो बनाएको छ । महिनावारी विभेद छैन भन्ने मानेर कुरै गरिएको छैन् । राउटे समुदायकी २७ वर्षीया गजली शाही भन्छिन्, ‘पहिला तीन दिन धेरै काम गर्दैनौँ । त्यसपछि दाउरा पनि ल्याउनुपर्छ, पानी पनि बोक्नैपर्छ ।’
यो वाक्य सामान्य लाग्न सक्छ । तर यसले एउटा असहज प्रश्न जन्माउँछ, यदि महिलाको शरीरलाई अशुद्ध मानिन्छ भने सबैभन्दा बढी शारीरिक श्रम किन त्यही शरीरले गर्नुपर्छ ?
‘शुद्ध’ र ‘अशुद्ध’ को अदृश्य रेखा
राउटे बस्तीमा धारा छैन । शौचालय छैन । सुरक्षित स्नानघर अथवा नुहाउने ठाउँ पनि छैन । महिनावारी सकिएपछि महिलाहरू खोलामै नुहाउँछन् । त्यहीँ कपडा धुन्छन् । वर्षायाममा खोला बढेपछि यो प्रक्रिया झन् कठिन हुन्छ । यसलाई उनीहरूले समस्या भनेर बयान गर्दैनन्, किनकि उनीहरूका लागि यो जीवनको सामान्य लय हो । तर ‘सामान्य’ भनिएको यही अभ्यास महिलाको स्वास्थ्य, गोपनीयता र सम्मानसँग जोडिएको जटिल विषय बनेको छ । महिनावारी सकिएपछि मात्रै महिलालाई ‘शुद्ध’ मान्ने चलन छ । यदि महिनावारी भएकी महिला अरूसँग सँगै सुतिन् भने अर्को दिन फेरि नुहाउनुपर्ने नियम छ । पानी बोक्दा पनि भाँडो सिधै टाउकोमा राख्न पाइँदैन । काठको भाँडा (कोसी) वा स्याउलाको पात राखेर मात्र त्यसमाथि पानीको भाडा राखेर पानी बोक्न मिल्छ ।
यी नियम कसले बनायो ? समुदायका पुजारी रामबहादुर शाही यसको उत्तर परम्परामा खोज्छन् । ‘यो हाम्रो पुर्खादेखिकै चलन हो,’ उनी भन्छन्, ‘राउटेले परम्परा छोडे भने हामी कसरी राउटे भइन्छ ? त्यसो गरेमा हामी त अन्य समुदायजस्तै भैहाल्छौँ नी ।’
यी कुनैपनि नियम लेखिएका छैनन् । तर पुस्तौंदेखि पालना हुँदै आएका छन् । यिनै नियमहरूले राउटे महिलाको शरीर वरिपरि एउटा अदृश्य विभेदको घेरा कोरेका छन् । त्यो घेरा छाउगोठको पर्खालभन्दा फरक छ । झट्ट हेर्दा देखिँदैन । तर राउटे महिलाले झन हरेक महिनाको सात दिन विभेदमा बाच्नुपर्छ । अरुका सन्दर्भमा बर्षमा २ महिना विभेदमा बाच्नुपर्छ भने राउटे समुदायमा बर्षमा झण्डै तीन महिना अथवा ८४ दिन विभेद भोग्नुपर्छ ।

आफैले बनाएको विभेदको नयाँ परिभाषा
राउटे समुदायका अगुवाहरूको बुझाइ र अडान छ, महिलालाई छुट्टै छाउगोठमा नराखेसम्म महिनावारी विभेद हुँदैन । उनीहरूका लागि विभेद भनेको घरबाट टाढा गोठमा बस्न बाध्य पार्नु हो । त्यसैले उनीहरू गर्वका साथ भन्छन्, ‘हामीकहाँ छाउगोठ छैन ।’
तर प्रश्न फेरि त्यहीँ उभिन्छ के विभेदको परिभाषा छाउगोठमै टुंगिन्छ ? महिनावारी अभियन्ता डा. राधा पौडेल भन्छिन्, ‘महिनावारी विभेद भनेको घरबाट छुट्टीएर बस्नु मात्र होइन । महिलाले घरभित्रै बसेपनि खाने, बस्ने, सुत्ने, काम गर्ने, निर्णय गर्ने वा सम्मानपूर्वक बाँच्ने अधिकारमा फरक व्यवहार हुनु विभेद हो । महिनाको पाँच दिन वा सात दिन कुनैपनि व्यबहार छुट्टीउ भने त्यो विभेद हो ।’

यही परिभाषाबाट हेर्दा राउटे समुदायभित्र विभेदको नयाँ रूपमा खुल्न थाल्छ । यहाँ महिलालाई घरबाट निकालिँदैन, तर घरभित्रका भूमिकाबाट टाढा राखिन्छ । खाना पकाउन मिल्दैन । पूजा गर्न पाइँदैन । परिवारसँगै खान र एउटै ठाउँमा सुत्न पाइँदैन । सात दिनसम्म उनीहरूको शरीरलाई ‘शुद्ध’ बन्न बाँकी रहेको शरीरका रूपमा हेरिन्छ । अर्कोतर्फ, दाउरा बोक्ने, पानी ल्याउने, जंगल धाउनेजस्ता कठिन काम भने रोकिँदैन ।
यही विरोधाभासले देखाउँछ, महिनावारी विभेद कहिलेकाहीँ पर्खालभित्र होइन, व्यवहारभित्र गहिरो गरि लुकेको हुन्छ । राउटे समुदायका पुरुष अगुवाहरू पनि महिनावारीलाई ‘अपवित्र’ नभएको दाबी गर्छन् । तर व्यबहारमा अपवित्र मानेर विभेद भने भइरहेको छ । समुदायका रतन शाही भन्छन्, ‘छुइ नराम्रो होइन । महिलाले भनेपछि मात्र थाहा हुन्छ ।’
खानपिनमा पनि नियम
राउटे समुदायमा खानपिनसँग पनि महिनावारीको सम्बन्ध छ । समुदायमा छोरा जन्मिएमा दुई वर्षसम्म लसुन, प्याज र मसुरोको दाल खाँदैनन् । छोरी जन्मिएमा पहिलो महिनावारी नभएसम्म आमाले यी वस्तु खाँदैनन् । बच्चा जन्मिएको पाँच वर्षसम्म दही खान नपाइने चलन रहेको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्री बताउँछन् ।

यसरी राउटे समुदायमा महिनावारी प्राकृतिक प्रक्रियाभन्दा पनि सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिले नियमन गरिएको अवस्था छ । समुदायभित्र महिनावारी विभेद भएता पनि समुदायका अगुवा महिनावारी रगतलाई शुद्व मान्दछन् । राउटे समुदायका रतन शाही भन्छन्, ‘महिलाले भनेपछि मात्र थाहा हुन्छ, यो शुद्ध नै हो, अपवित्र होइन । छुइलाई नराम्रो मान्नुहुँदैन ।’
मध्यपश्चिम विश्वविद्यालयका सामाजिक विकास विभाग प्रमुख खगेन्द्र अधिकारीका अनुसार राउटे समुदायमा महिनावारीसँग सम्बन्धित अभ्यास पितृसत्तात्मक शक्ति संरचनासँग गाँसिएको देखिन्छ ।
महिलाको शरीरसँग सम्बन्धित नियम पनि मुख्यतः पुरुष नेतृत्वले निर्धारण गरेको संरचनाभित्र सञ्चालन हुन्छ । महिलाले नियम पालना गर्छन्, तर नियम बनाउने प्रक्रियामा उनीहरूको भूमिका देखिँदैन ।
यसले एउटा गम्भीर प्रश्न उठाउँछ । यदि महिलाको शरीरसँग सम्बन्धित निर्णयमा महिलाकै आवाज कमजोर छ भने त्यो परम्परा मात्र हो कि शक्ति सम्बन्धको अभिव्यक्ति पनि ? राउटे समुदायको जीवनशैलीलाई बुझ्दा यो प्रश्न अझ जटिल बन्छ । उनीहरू घुमन्ते समुदाय हुन् । स्थायी घर छैन । शौचालय छैन । सुरक्षित नुहाँउने ठाउँ छैन । महिनावारीका बेला प्रयोग हुने अधिकांश सामग्री पुरानो कपडामै सीमित छन् । महिनावारी सकिएपछि खोलामा नुहाउने र कपडा धुने चलन कायमै छ ।
यी समस्या केवल परम्पराका कारण होइनन् सेवा र पूर्वाधारको अभावले पनि सिर्जिएका हुन् । यही कारण मर्यादित महिनावारीको बहस राउटे समुदायमा केवल ‘प्याड वितरण’ को बहस हुन सक्दैन । यो सम्मान, गोपनीयता, सुरक्षित पानी, सरसफाइ, स्वास्थ्य, शिक्षा र महिलाको निर्णय गर्ने अधिकारसँग जोडिएको विषय हो ।
राउटे समुदायका धेरै महिला आज पनि पुरानै कपडाको टालो प्रयोग गर्छन् । केही युवतीले महिनावारी प्याडको नाम सुनेका छन्, कतिपयले प्रयोग पनि गरेका छन्, तर त्यो अझै समुदायको नियमित अभ्यास बनेको छैन ।
तर परिवर्तनको सुरुआत सधैँ ठूलो हुँदैन । कहिलेकाहीँ एउटा प्रश्नले पनि परिवर्तन सुरु गरिदिन्छ । महिलालाई सात दिनसम्म अशुद्ध किन मानिन्छ ? घरभित्रका काम गर्न नपाइने तर जंगलमा भारी काम गर्नुपर्ने नियम कसका लागि बनाइयो ? परम्परा जोगाउँदै महिलाको सम्मान पनि जोगाउन सकिँदैन र ?
यी प्रश्नको उत्तर राउटे समुदायले आफैँ खोज्नुपर्नेछ । बाहिरबाट कसैले संस्कृति थोपर्न सक्दैन। तर महिलाको मर्यादित जीवन कुनै पनि संस्कृतिभन्दा सानो विषय होइन । नेपालको संविधानले समानता, सम्मान र विभेदरहित जीवनको अधिकार सुनिश्चित गरेको छ । त्यसैले मर्यादित महिनावारीको अर्थ परम्परा नष्ट गर्नु होइन, महिलाको सम्मानसँग बाझिएका अभ्यासलाई समुदायसँग संवाद गरेर रूपान्तरण गर्नु हो ।
राउटे समुदाय आफ्नो मौलिक संस्कृति जोगाइरहेको छ । त्यो संस्कृति नेपालको अमूल्य सम्पदा हो । तर कुनै पनि संस्कृतिको जीवन्तता त्यसले आफ्ना सदस्य, विशेषगरी महिलालाई कति सम्मानपूर्वक बाँच्न दिन्छ भन्ने कुराले पनि मापन हुन्छ । खहरे खोलामा मायारामले धोइरहेको त्यो पुरानो कपडा केवल रगत लागेको कपडा होइन । त्यो एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै आएको विभेदजन्य परम्पराको प्रतीक पनि हो ।
प्रश्न अब त्यो कपडा बदल्ने होइन । प्रश्न त्यो कपडासँग गाँसिएका अदृश्य महिनावारी विभेदको नियम बदल्ने हो । मर्यादित महिनावारी अभियानता डा राधा पौडेलको भनाई छ ‘महिनावारी भएका पाँच वा सात दिन र नभएका २३ वा २५ दिन समान बनाएर महिनावारीलाई मर्यादित बनाउने हो । किनकि महिनावारी प्राकृतिक प्रक्रिया हो, जुन बदल्न सम्भव छैन तर विभेद समाजले बनाएको गलत नियम हो, त्यो बदल्न सकिन्छ ।’
सम्बन्धित समाचार
राजनीतिसँगै पुनः कानुनी विवादमा कांग्रेस
सैनिक कल्याणकारी कोष : शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा
अलैँची रोप्न व्यस्त इलामका किसान
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
मनसुन सक्रिय : यी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
बडीमालिका पूजा आजदेखि प्रारम्भ
प्रधानमन्त्रीले गरे मुख्यसचिवसहित सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता






