प्रदेश २ को नामकरण विवाद सुल्झाउन सांसदहरु सक्रिय

जनकपुरधाम । जनकपुरधामलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भएपछि प्रदेशको नामकरण विवाद सुल्झाउन प्रदेशका सांसदहरु सक्रिय भएका छन् ।

सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नो अडानमा कायम रहेकोले प्रदेश नामकरणमा सहमति जुट्न नसकेको हो । अरु प्रदेशहरु नमाकरण गरिरहेको बेला प्रदेश २ छवी खराब भइरहेको चर्चाकाबीच स्थायी राजधानी झैं प्रदेश नामकरणमा समेत सहमति जुटाउन प्रतिपक्षी दलहरु लचक देखिएका छन् ।

प्रदेशको स्थायी राजधानी र नामकरणमा सहमति जुटाउन सभामुख सरोज राय यादवको नेतृत्वमा बसेको संसदीय समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले आ–आफ्नो अडानबाट पछि हट्दै सहमतिको नयाँ विकल्प प्रस्तुत गरेका छन् ।

समितिको बैठकमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराएको प्रस्तावबाट पछि हट्दै ‘जानकी–मधेस’ नामकरण गर्न विकल्प अघि सारेका छन् । यसअघि नेकपाले प्रदेशको नाम ‘जानकी’ हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

यसैगरी नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले ‘मिथिला–मधेस’ नामकरण गर्न विकल्प दिएका छन् । प्रदेशसभा सचिवालयमा कांग्रेसले प्रदेशको नामकरण’bout ‘मिथिला–भोजपुरा’ प्रस्ताव दर्ता गराएको छ ।

दलगत अडानबाट पछि हटेर सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुनेगरी आफूहरुले विकल्प दिएको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए । ‘राजधानीझैं नामकरणमा पनि सर्वसम्मति होस् भन्ने हाम्रो चाहना छ, यसैले दलगत अडानबाट पछि हटेर नयाँ विकल्प अगाडि सारेका छौं । तर सत्ता पक्षधर समाजवादी र राजपा आफ्नो अडानबाट पछि हट्न चाहेको छैन,’ उनले भने ।

यसैगरी सर्वसम्मति गर्न सत्ता पक्षधर दलले पनि आफ्नो अडानमा लचकता देखाउनुपर्ने कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए । ‘हामीले सहमति खोजेका छौं, सहमतिमै प्रदेशको नामकरण हुनुपर्छ । तर यसो गर्न सत्तापक्षधर दल पनि लचक हुनु जरुरी छ,’ यादवले भने ।
नेकपाले अघि सारेको विकल्प ‘जानकी–मधेस’ वा कांग्रेसले सारेको ‘मिथिला–मधेस’ जुनसुकै विकल्पमा सत्तापक्ष राजी भए पनि आफूहरु सहमतिको लागि तयार रहेको यादवले बताए ।

यता नेकपा संसदीय दलका नेता मण्डलले प्रदेश नामकरणका लागि ‘जानकी–मधेस’ को विकल्प अघि सारे पनि नेकपाका प्रदेशसभा सांसद रामचन्द्र मण्डलले भने ‘मिथिला–भोजपुरा–मधेस’ आफ्नो पुरानो अडान अझै कायम रहेको बताउँछन् ।

‘मिथिला–भोजपुरा–मधेस’ ले संस्कृति र भूगोल दुवैको प्रतिनिधित्व गर्ने भएकोले यसबाहेक अन्य कुनै राम्रो विकल्प हुन नसक्ने उनको भनाइ छ । समाजवादी पार्टी संसदीय दलका उपनेता रामअशिष यादव सत्ता पक्षधर ‘मधेश प्रदेश’बाट कुनै पनि हालतमा पछाडि नहट्ने बताउँछन् । ‘मधेश आन्दोलनले नै मधेशी समुदायको पहिचान स्थापित भएकाले मधेश प्रदेशबाट पछाडि हट्न मिल्दैन,’ बैठकमा उपस्थित भएका यादवले भने, ‘जसरी राजधानीमा सर्वसम्मत भयो, त्यसैगरी मलाई पूरै विश्वास छ कि प्रतिपक्षी दललाई विश्वासमा नै लिएर मधेश प्रदेशको नाममा सर्वसम्मत हुन्छ ।’ समाजवादी पार्टी र राजपाले औपचारिक प्रस्ताव ‘मधेश प्रदेश’ भनेर प्रदेश सभामा दर्ता गराएका छन् ।

‘सहमति नजिक आउनका लागि नै आगामी बैठक फागुन ४ गते बोलाइएको छ,’ बैठकमा सहभागी भएकी राजपा नेपालकी सांसद रानी शर्मा तिवारीले भनिन, ‘त्यस बैठकमा सपा संसदीय दलका नेताको हैसियतले मुख्यमन्त्री लालबाबु राउत र राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनललाई समेत बोलाइएको छ ।’ बैठकबाट नै सर्वसम्मत हुने अवस्था रहेको उनले बताइन् ।

समितिमा उपसभामुख उपमा देव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, सांसद रामकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र सांसद नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र सांसद रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी सांसद सावित्रीदेवी साह सदस्य छन् । समितिको बैठकबाट यसअघि नै प्रदेशको स्थायी राजधानी ‘जनकपुरधाम’ राख्ने भनेर सर्वसम्मत भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९