सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिक स्थल शिवधारा क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। गाउँपालिकाले पर्यटकीय क्षेत्र मकालु आधार शिविर तथा धार्मिक स्थल शिवधारामा पर्यटक तथा तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो।
गाउँपालिकाले औषधि तथा स्वास्थ्य शाखा प्रमुखसहितको टोली मकालु आधार शिविर तथा धार्मिक स्थल शिवधारामा खटाएको छ। शिवधारामा पूजा तथा दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या तथा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो।
धार्मिक स्थल शिवधारामा जनैपूर्णिमाको अवसरमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्छ। यस वर्ष पनि भदौ १२ गते विशेष पूजाआजा हुँदैछ।
पर्यटकीय क्षेत्र बरुण उपत्यकाअन्तर्गत शिवधारा तथा मकालु आधार शिविर भ्रमणमा आउने पर्यटक तथा तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिका अध्यक्ष वाङ्दी छिरिङ शेर्पाले बताए।
मकालु गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी राजकुमार तामाङको नेतृत्वमा दुई सदस्यीय स्वास्थ्यकर्मी टोली आवश्यक औषधि तथा उपचार सामग्रीसहित शुक्रबार मकालु आधार शिविर तथा धार्मिक स्थल शिवधारा क्षेत्रतर्फ प्रस्थान गरेको अध्यक्ष शेर्पाले बताए।
प्रधानमन्त्री वालेन्द्र शाहले गत असारमा मकालु आधार शिविर ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको अध्यक्ष शेर्पाले बताए। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट गर्दै यात्रासम्बन्धी जानकारी सार्वजनिक गरेका थिए।
मकालु आधार शिविर तथा धार्मिक स्थल शिवधारा क्षेत्रमा यसअघि यात्राका क्रममा तीर्थयात्री तथा पर्यटक बिरामी पर्ने तथा कतिपयको ज्यानसमेत जाने गरेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी परिचालन गरिएको अध्यक्ष शेर्पाले बताए। जनैपूर्णिमाको अवसरमा शिवधारा क्षेत्रमा उल्लेख्य संख्यामा तीर्थयात्री तथा पर्यटक पुग्ने गरेका छन्।
तीर्थयात्री तथा पर्यटकको स्वास्थ्यमा समस्या आए तत्काल उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्यकर्मीको टोलीलाई औषधि तथा उपचार सामग्रीसहित खटाइएको गाउँपालिकाले जनाएको छ। शिवधारा क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीको आगमन बढ्दै गएसँगै गाउँपालिकाले स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर तथा धार्मिक स्थल शिवधारा क्षेत्रमा पुगेर फर्किन गाडी र पैदल गरी करिब आठ दिन लाग्छ।
सम्बन्धित समाचार
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
सप्तकोशीको धार फेरिँदा श्रीलंका टापुका ६ सय परिवार जोखिममा
सङ्खुवासभामा खाना पकाउने एलपी ग्यास बिक्रीमा कडाइ
गछिया युवा समाजको वार्षिकोत्सवमा ६० विद्यार्थीलाई शैक्षिक सामग्री
पूर्वी पहाडी जिल्लामा सोमबारदेखि लाखे जात्रा मनाउन सुरु
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोपिँदै
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक, विद्यार्थी पुरस्कृत, चारजना सम्मानित






