काठमाडौं । भोटेकोशीलगायतका नदीमा आएको अप्रत्याशित बाढीपछि सिर्जित सङ्कटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक प्रतिस्पर्धाको विषय नबनाउन प्रमुख राजनीतिक दलहरूले साझा आह्वान गरेका छन्।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिपछिको राहत र पुनर्स्थापनाका लागि साझा सहमति बनाउन बिहीबार बसेको सर्वदलीय बैठकले विपद्को समयमा गरिने सहयोगलाई सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउन नहुनेमा जोड दिएको हो।
बैठकपछि जारी संयुक्त वक्तव्यमा उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक दलका नेता, सदस्य र शुभचिन्तकहरूलाई दलगत पहिचानभन्दा माथि उठेर विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र सक्रिय हुन आग्रह गरिएको छ। यसैगरी, आर्थिक सङ्कलनलाई पारदर्शी र व्यवस्थित बनाउन कुनै पनि दल वा व्यक्तिले आफूखुसी रकम संकलन नगर्न र सरकारले तोकेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु मा मात्र सहयोग जम्मा गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिइएको छ। विपद् व्यवस्थापनमा ‘एकद्वार प्रणाली’ पालना गर्नुपर्ने र राहतको दुरुपयोग गर्नेलाई कडा कानुनी कारबाही हुनुपर्नेमा सबै दल एकमत भएका छन्।
यस साझा प्रतिबद्धतामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृती पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका चन्दन सिंहले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित समाचार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
प्रधानमन्त्रीले गरे मुख्यसचिवसहित सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त
कानुन संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न सांसदहरुको माग
घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव






