धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएसँगै दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी रोक्न बजार अनुगमन तीव्र पारिएको छ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको नेतृत्वमा आज धादिङबेँसी बजार क्षेत्रमा अनुगमन गरिएको हो। सडक सम्पर्क अवरुद्ध हुँदा खाद्यान्न, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै बजारमा अनावश्यक सञ्चय तथा मूल्यवृद्धि हुन नदिन अनुगमन गरिएको हो।
अनुगमन समितिले व्यवसायीलाई प्रचलित मूल्यभन्दा बढीमा सामान बिक्री नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्तालाई अत्यावश्यक वस्तु सहज रूपमा उपलब्ध गराउन आग्रह गरेको छ।
त्यस्तै, उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी खाद्यान्न, ग्यास तथा अन्य दैनिक उपभोग्य वस्तु खरिद गरी सञ्चय नगर्न आग्रह गरिएको छ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलका अनुसार सबै उपभोक्ताले एकैपटक ठूलो परिमाणमा सामान खरिद गर्दा वास्तविक अभाव नभए पनि बजारको आपूर्ति व्यवस्थामा दबाब पर्न सक्ने भएकाले आवश्यकताअनुसार मात्र सामग्री खरिद गर्न अनुरोध गरिएको छ।
फुर्केखोला पुल बगाएपछि पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीतर्फ हुने नियमित यातायात तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ।
सडक सम्पर्क सहज नहुँदासम्म बजारमा अत्यावश्यक वस्तुको आपूर्ति, मूल्य तथा मौज्दातको अवस्थामाथि निरन्तर निगरानी आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष शिवराज सापकोटाले बताए।
सम्बन्धित समाचार
गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
विद्युत् आपूर्ति नियमित गर्न आग्रह
प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
रमिला खुमनको तीजगीत ‘जम्छ माया विस्तारै’ सार्वजनिक
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध
जेनजी आन्दोलनका घाइते र शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान






