काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई ध्यानमा राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।
चेम्बरले सोमबार विज्ञप्ति जारी गर्दै आगामी तीज, दशैँ, तिहार, छठ, नेपाल संवत्, रमजानलगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा वस्तुको माग बढ्ने भएकाले आवश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको हो।
चेम्बरले विपद्को अवस्थालाई बहाना बनाएर कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित मूल्यवृद्धि गर्ने वा उपभोक्तामाथि अतिरिक्त भार पार्ने कार्य नगर्न व्यवसायीलाई आग्रह गरेको छ। उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै बजारलाई सहज, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ।
हालैको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै यातायात, आपूर्ति प्रणाली, व्यापार–व्यवसाय तथा बजार व्यवस्थापनमा गम्भीर असर परेको चेम्बरले जनाएको छ। विशेषगरी उत्तरी रसुवागढी नाका प्रभावित हुँदा आयात–निर्यात तथा वस्तु आपूर्तिमा समेत अवरोध सिर्जना भएको भन्दै चेम्बरले आगामी चाडपर्वलाई लक्षित गरी समयमै आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएको छ।
चेम्बरले उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक तथा थोक र खुद्रा व्यवसायीलाई आफ्नो व्यावसायिक गतिविधि जिम्मेवारीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ। अवरुद्ध राजमार्गका विकल्पमा वैकल्पिक आपूर्ति मार्गको प्रयोग, पर्याप्त भण्डारण तथा प्रभावकारी वितरण प्रणालीको व्यवस्थापन गर्नसमेत उसले सुझाव दिएको छ।
आवश्यक वस्तुको आपूर्ति अवरुद्ध हुन नदिन निजी क्षेत्रले संयुक्त रूपमा पूर्वतयारी गर्नुपर्ने चेम्बरको भनाइ छ। विपद्को कठिन परिस्थितिमा व्यवसायीले नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने, सरकारले नियन्त्रणभन्दा बढी सहजीकरणमा जोड दिनुपर्ने तथा उपभोक्ताले अनावश्यक सञ्चय र त्रासबाट मुक्त भएर संयमता अपनाउनुपर्ने चेम्बरले जनाएको छ।
विपद्ले सिर्जना गरेको असहज अवस्थालाई कसैले पनि अनुचित व्यापारिक लाभ लिने माध्यम बनाउन नहुने चेम्बरले स्पष्ट पारेको छ। यस्तो कठिन समयमा निजी क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्दै बजारमा विश्वासको वातावरण कायम गर्नुपर्नेमा समेत उसले जोड दिएको छ।
सरकार र निजी क्षेत्र दुवै लचिलो, जिम्मेवार तथा सहकार्यात्मक रूपमा अघि बढ्न सके विपद्पछिको बजार व्यवस्थापनलाई सहज बनाउन सकिने चेम्बरको विश्वास छ।
चेम्बरले व्यवसायी समुदायलाई वस्तुको अनावश्यक सञ्चय नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न, अनुचित मूल्यवृद्धि नगर्न तथा उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिन पुनः आग्रह गरेको छ। साथै, आगामी चाडपर्वका लागि आवश्यक पूर्वतयारी गर्दै आम उपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भएर लाग्न सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।
सम्बन्धित समाचार
खपटे किरोे र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा
हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न रास्वपा सांसद गौतमको माग
डा. रणजितकुमार झाको नयाँ गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक
माईखोलामा बन्यो झोलुंगे पुल, स्थानीयवासी खुसी
प्रधानमन्त्री र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन : तीन वर्षको सम्झौता, दश वर्षमा पनि बनेन
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीचको वार्ता औपचारिकरुपमा सुरु





