मिलेमतोमा रुख काटेका गाउँपालिका अध्यक्षसहितलाई भ्रष्टाचार मुद्धा

काठमाडौं । सडक निर्माणको बहानामा डिभिजन वन कार्यालय र सम्बन्धित निकायसंगको मिलेमतोमा वन फँडानी गर्ने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश सवष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवाल, डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री र गाउँपालिकाका अध्यक्ष विष्टसहित ९ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्ड अन्तर्गत रहेका २ हजार ७२४ थान रुख कटान गरेको आयोगले अभियोगपत्रमा उल्लेख गरेको छ । गाउँपालिका,वन कार्यालय र सडक डिभिजन कार्यालयका अधिकारीको मिलेमतोमा ४० हजार ५५५ घनफिट काठ हिनामिना गरिएको आयोगको अनुसन्धानले देखिएको हो । आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा ८१ लाख ३७ हजार नौ सय रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

आयोगले सडक र वन डिभिजन कार्यालयका अधिकृत, पालिका अध्यक्ष, दुई जना वडाध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगका अनुसार पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्डको चेनेज ६९० पाखापानी देखि चेनेज ७१२ लमही खण्डमा सडक क्षेत्राधिकार भित्रका सिसौ लगायत अन्य जातका काठ÷कुकाठ, ठूला, मझौला र सानासमेत गरी करिव १ हजार ४ सय भन्दा बढी संख्यामा रूखहरू कटानी भएको विवरण आरोपपत्रमा उल्लेख छ ।

नियामक र नेतृत्वदायी दुवै भूमिका खेलेर वन जंगल तथा बोटबिरूवाको संरक्षण सम्बद्र्धन र उपयोगमा सहजीकरण गर्नुपर्ने सरकारी निकायका रुपमा रहेका डिभिजन वन कार्यालय र सडक विभागले पूर्व पश्चिम राजमार्गको सडक सीमा २५÷२५ मिटर भित्रका यस्ता जोखिमयुक्त रूखहरू हटाउने नाममा अनधिकृत हिनामिना गरेको आयोगको अनुसन्धानले देखाएको छ ।

लुम्विनी प्रदेशको स्थायी राजधानी दाङ्ग देउखुरी राप्ती उपत्यकामा सार्न मिति तोकिएको अवस्थामा २०७९ मंसिरको अन्तिम हप्ता र पौषको पहिलो हप्तामा जिल्लास्थित वन पदाधिकारीहरूको संलग्नतामै रूखहरू कटान गरी काठहरू गायब पारी सरकारी सम्पत्तिको हिनामिना गरेको भन्नेसमेत बेहोराको उजुरी अख्तियारमा प्राप्त भएपछि आयोगले अनुसन्धान गरेको आयोग सम्बद्ध अधिकारीले जनाएका छन् ।

उजुरीमाथि अनुसन्धान हुँदा सडक डिभिजन कार्यालय दाङ्गका कार्यालय प्रमुख राम पुकार जयसवालसमेतको मिलेमतोमा जिल्ला दाङ्ग, राप्ती गाउँपालिका वडा नं.१ पाखापानीदेखि लमही नगरपालिका–४ अर्नहवा सम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सडक क्षेत्राधिकार भित्र काटिएका सिमल, सिसौ लगायत विभिन्न जातका रूख थान २७२४ कटान भएको पाइएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

प्रतिवादीहरूको एक आपसको मिलेमतोमा वदनियत गरी सूचना प्रकाशन गर्ने गराउने कार्य गरे गराएको देखिएको तथा पालिका र उक्त वडा कार्यालयले सूचना बमोजिमको कार्य गर्न संयन्त्र बनाई उक्त कार्य नगरेको पाइएको आयोगले जनाएको छ । डिभिजन वन कार्यालय दाङ्ग (देउखुरी) ले आफ्नो क्षेत्राधिकार भित्र राप्ती गाउँपालिका र लमही नगरपालिका अन्तर्गत रहेका रूखहरू अनधिकृत रूपमा कटान हुँदा तत्कालै नियन्त्रणमा लिन सकिनेमा जानी बुझी वदनियतपूर्वक बेमतलव गरेको निश्कर्ष निकालेर आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

सडक डिभिजन दाङ्गले आफ्नो सडक क्षेत्र भित्रका रूख कटान भएको सम्बन्धमा सार्वजनिक सडक ऐन, २०३१ मा भएको ब्यवस्था वमोजिम कुनै छानविन समिति वा अनुसन्धान अधिकृत तोकी अनुसन्धान कार्य अगाडि नबढाई प्रचलित कानुनको कार्यविधि पूरा नगरी विना ईजाजत अवैध रुपमा सडक क्षेत्राधिकार भित्रपर्ने रूखहरूको कटान गरी ओसार पसार गरी विभिन्न जातको ४० हजा ५५५ घनफिट काठको कुल जम्मा रू.८१ लाख ३७ हजार नौ सय रुपैयाँ हानी नोक्सानी समेत गरेको कसुर पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा अख्तियारले नौ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले सडक डिभिजन कार्यालय दाङ्गका कार्यालय प्रमुख राम पुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ्ग (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार ९०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।

यस्तै, दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ, राप्ती गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष गेमे खड्काविरुद्ध तीन लाख ७१ हजार रुपैयाँ, राप्ती गाउँपालिकाको वडा नं. ४ का वडाध्यक्ष वीर बहादुर चौधरीविरुद्ध एक लाख ४१ हजार २२६ रुपैयाँ, सोही वडाका अभिमान चौधरीविरुद्ध ७३ हजार ६४६ रूपैयाँ, सोही ठाउँका नन्दु गिरीविरुद्ध ३० हजार ९७० रूपैयाँ, राप्ती गाउँपालिका वडा नं. २ बस्ने झविन्द्र प्रसाद भण्डारीविरुद्ध एक लाख ४१ हजार २२६ रूपैयाँ र लमही नगरपालिका वडा नं. २ वस्ने केशर बहादुर चौधरीविरुद्ध ३६ हजार ६१० रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र बिगो असुल उपर हुने समेतको मागदाबी लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

पुटिन-सीसहित भारत–इरानका शीर्ष नेताहरूको किर्गिस्तानमा सामूहिक भेट हुँदै