इलाम । गत ५ असार शुक्रबार इलाम पुवा खोलाछेउ भांगटारमा भएको यो संवादसँगै इलाम– झापा फास्ट ट्र्याकको भञ्ज्याङ–बेलासी सडकखण्डले अब भने गति लिने आशा जागेको थियो ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आफैं स्थलगत निरीक्षणमा थिए । सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईसँग सडकको अवस्था’bout जानकारी लिएपछि उनले काम गर्न नसकेको निर्माण कम्पनीको ठेक्का तोडेर नयाँ टेन्डर निकाल्न निर्देशन दिएका थिए । त्यसबेला प्रमुख जिल्ला अधिकारी लक्षुमण ढकाल पनि त्यहीँ उपस्थित थिए । मन्त्रीको निर्देशन भएको करिब दुई महिना बित्दा पनि सडक बनेन, ठेक्का पनि तोडिएन ।
काम नगर्ने ठेकेदारले फेरि प्रतिबद्धता गरे र सडक डिभिजनले अर्को मौका दियो । निर्माण जिम्मेवारी अर्का व्यक्तिले सम्हाल्ने सहमति भयो । तर, सडकमा न पर्याप्त जनशक्ति देखियो, न त उपकरण नै ।
उता, मेची राजमार्ग पनि पहिरोले अवरुद्ध भएको डेढ महिना बितिसकेको छ । इलामसँगै पाँचथर र ताप्लेजुङका नागरिकका लागि महइभ्वपूर्ण वैकल्पिक मार्ग मानिएको ‘फास्ट ट्र्याक’ यात्राका लागि जोखिमपूर्ण बनेको छ । तीन जिल्लाको यात्रा ठेकेदारको गैरजिम्मेवारी र सरकारी निकायको अनिर्णयले अन्योलमा परेको छ ।
इलाम आएका मन्त्री लम्सालले भञ्ज्याङ–बेलासी सडकको कामको अवस्था निरीक्षण गरेपछि पुरानो ठेक्का अन्त्य गरेर नयाँ प्रक्रियामा जानुपर्ने निष्कर्ष सुनाएका थिए । निर्माण सामग्रीको स्रोत’bout सोधपुछ गर्दै उनले झापाबाट सामग्री ल्याउन सकिने भए त्यसको व्यवस्था मिलाउने बताएका थिए । वर्षायाममा नयाँ ठेक्का गर्दा काम अर्को असारसम्म लम्बिन सक्ने सडक डिभिजनको भनाइ आएपछि मन्त्रीले चैत मसान्तसम्म काम सक्ने गरी नयाँ ठेक्का निकाल्न निर्देशनसमेत दिए । मन्त्रीको निर्देशनपछि पुरानो ठेक्का तोडिने र सडकले नयाँ गति लिने स्थानीयको विश्वास थियो । त्यसको केही समयमै सडक डिभिजनमा निर्माण कम्पनीका अर्का व्यक्तिको आगमन भएपछि एकपटक अवसर दिने निर्णय गरियो । अहिले पनि नयाँ जिम्मेवारी लिएका व्यक्तिले सडक निर्माणमा उल्लेख्य काम अघि बढाउन सकेका छैनन् ।

‘काम गर्छु, ठेक्का नतोडिदिनू’
सडक डिभिजन इलामले निर्माण व्यवसायी खड्का– कृष्ण–सक्षम जेभीलाई गत ११ असारमा लिखित प्रतिबद्धता गराएको थियो । प्रतिबद्धतामा १५ असारसम्म कम्तीमा ३५ जना जनशक्ति थप्ने, प्रत्येक १५ दिनमा प्रगति विवरण बुझाउने, भञ्ज्याङ–पुवाखोला खण्डमा १५ दिनभित्र बेस निर्माण सुरु गर्ने र आगामी ३० असोजभित्र सबै खण्डमा कालोपत्रे गर्ने उल्लेख थियो । प्रतिबद्धता पत्रमा जेभीका आधिकारिक प्रतिनिधि सुवर्ण खड्काले हस्ताक्षर गरेका थिए । प्रतिबद्धताअनुसार काम भने अघि बढेन । यसअघि नै सडक डिभिजनले पेस्की जमानत जफत गर्ने निर्णय गरेपछि निर्माण व्यवसायी अदालत पुगेका थिए । पछि अदालतमा परेको रिट फिर्ता लिएर मन्त्रालय, विभाग र सडक डिभिजनमा ‘काम गर्छु, ठेक्का नतोडिदिनू’ भन्दै आएपछि ठेक्का तोड्ने प्रक्रिया रोकिएको बताइएको छ ।
ठेक्का जोगियो, सडकको अवस्था उस्तै
प्रतिबद्धता गरेपछि निर्माण व्यवसायीले काम अघि बढाउने विश्वास सडक डिभिजनको थियो । प्रतिबद्धतापछि पनि अपेक्षित काम नभएपछि डिभिजन आफैं झस्किएको छ । सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार ठेक्का तोडेर नयाँ ठेकेदार ल्याउँदा सडक निर्माण झन् पछाडि धकेलिन सक्ने भएकाले काम गराउने प्रयास गरिएको हो ।
‘ठेक्का तोडेर पनि अझै एक–दुई वर्ष सडक नबन्न सक्छ । त्यसैले भरसक सडक चाँडो बनोस् भनेर प्रयत्न गरेका हौं,’ भट्टराईले भने, ‘खड्का–कृष्ण–सक्षम जेभीका अर्का प्रतिनिधि आएर काम गर्छु भनेपछि ठेक्का तोड्ने प्रक्रिया स्थगित भएको हो । समयमा काम भएन भने ठेक्का तोड्ने नै हो ।’

स्थानीयको प्रश्न– कहिलेसम्म अन्तिम मौका ?
बारम्बार ठेक्का तोड्न दबाब दिँदै आएका इलामवासी अहिले पनि उही सडकमा हिलो र जोखिमसँग जुधिरहेका छन् । ठेक्का लिएर निर्माणको काम नगरेका कारण सडक अलपत्र पारेपछि पनि ठेकेदारलाई पटक–पटक म्याद दिइरहनुपर्ने अवस्थाप्रति स्थानीय असन्तुष्ट छन् । ‘भञ्ज्याङ–बेलासी सडकमा धान रोप्ने हो भने इलामवासीलाई एक वर्ष खान पुग्छ,’ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले भञ्ज्याङ–बेलासी सडकको अवस्थाप्रति व्यङ्ग्य गर्दै भने, ‘हाम्रा साथीले बाटो होइन, धान खेती गर्ने खेत बनाएछन् ।’
उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलका अनुसार अहिले राजदुवाली खण्डबाट कुनै पनि सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन । वर्षा भइरहेकाले तत्काल यातायात सञ्चालन हुने सम्भावना पनि कम छ । यस्तो अवस्थामा सिमल गोलाई–तिल्केनी वैकल्पिक सडक र मेची कोरिडोर नै आवतजावतका मुख्य विकल्प हुन् । मेची कोरिडोरकै भञ्ज्याङ–बेलासी सडकको अवस्था जटिल छ । ‘यो सडक समयमै बनेको भए राजदुवाली बन्द हुँदा पनि समस्या आउने थिएन,’ पौडेलले भने ।
ठेकेदारले हात उठाए, अर्का आए
खड्का–कृष्ण–सक्षम जेभीका तर्फबाट पछिल्लो समय सडक निर्माण जिम्मेवारी लिएका डम्बरबहादुर खड्काले आफूले काम गर्न नसक्ने जानकारी सडक डिभिजनलाई गराइसकेको बताइएको छ । त्यसपछि जेभीका अर्का प्रमुख व्यक्ति रत्नबहादुर खड्का सडक निर्माणको जिम्मेवारी लिन इलाम आएका थिए । रत्नबहादुरमार्फत काम अघि बढ्ने सडक डिभिजनको विश्वास छ । तर त्यसका लागि सडकमा अहिलेसम्म अपेक्षित जनशक्ति र उपकरण परिचालन भएको छैन ।
गत ३ साउनमा सडक डिभिजनका प्रमुखसहितको उपस्थितिमा भएको समझदारीमा रत्नबहादुर खड्का स्वयं फास्ट ट्र्याकको निर्माण अघि बढाउन सहमत भएका थिए । रत्नबहादुर खड्का जाजरकोटको छेडागाड नगरपालिकाका नगर प्रमुखसमेत हुन् । उनी निर्माण व्यवसायमा पनि संलग्न छन् । डम्बरबहादुर खड्का नेपाली कांग्रेस इलाम सभापति हुन् ।
स्रोतका अनुसार डम्बरबहादुर र रत्नबहादुरबीच भएको समझदारीमा ‘लिड पार्टनर’का रूपमा खड्का कृष्ण कन्स्ट्रक्सन प्रालिले ठेक्का ‘टेकओभर’ गर्ने र आधिकारिक व्यक्तिका रूपमा नरबहादुर खत्रीलाई तोक्ने उल्लेख छ । पेस्की जमानत जफत गर्न अनुरोध गर्ने विषयसमेत समझदारीमा राखिएको बताइएको छ ।
इलाम सदरमुकाम राष्ट्रिय राजमार्गबाट विच्छेद भएको अवस्थामा एक साताभित्र सबै प्रकारका सवारीसाधन निर्बाध सञ्चालन गर्न सकिने गरी सडक मर्मत गर्ने सहमतिसमेत भएको थियो । सहमति भएको साताबढी बितिसक्दा पनि सडकमा सिंको भाँचिएको छैन ।

‘कम्पनीलाई कालोसूचीबाट जोगाउन पनि काम गर्नुपर्छ’
सडक निर्माणको जिम्मेवारी लिन तयार भएका रत्नबहादुर खड्काले आर्थिक तथा बैंकिङ कारोबार मिलाउनुपर्ने भएकाले काम अघि बढाउन ढिलाइ भएको संकेत गरेका छन् । ‘फर्म कालोसूचीबाट जोगाउन भए पनि निर्माण गर्नुपर्ने भएको छ । म सडक निर्माण गर्छु,’ उनले भने । साझेदारबीचको आर्थिक कारोबार, बैंकको ऋण तथा ठेक्कासँग जोडिएका दायित्व नमिल्दा निर्माण कार्य अघि बढ्न नसकेको बुझिएको छ । यसले ‘सडक निर्माणभन्दा पनि ठेक्का जोगाउने खेल भइरहेको त होइन ?’ भन्ने आशंका जन्माएको छ ।
सडक कहिले बन्छ ?
इलाम सदरमुकामलाई तराई क्षेत्रको माइ नगरपालिका– लोदियासम्म जोड्ने करिब १८ किलोमिटर लामो केचना–कञ्चनजंघा सडक मेची कोरिडोरअन्तर्गतको महइभ्वपूर्ण सडक हो । भञ्ज्याङदेखि बेलासीसम्मको ९.४ किलोमिटर सडक निर्माणका लागि २९ असार २०७८ मा सम्झौता भएको थियो ।
दुई वर्षभित्र काम सक्नेगरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा खड्का–कृष्ण–सक्षम जेभीले ठेक्का लिएको हो । पाँच वर्ष बितिसक्दासमेत भौतिक प्रगति जम्मा ४६ प्रतिशतमात्रै भएको सडक डिभिजन इलामले जनाएको छ । ‘कहिले डिजेल अभाव त कहिले बाढीले क्षति पु¥याएको’ भन्दै निर्माण व्यवसायीले काममा ढिलाइ गर्दै आएको छ ।
यस सडकखण्डमा पर्ने बेलासीमा गत गत वर्ष १८ र १९ असोजमा आएको बाढीले पक्की पुलमा क्षति पु¥याएपछि त्यहाँ बेलीब्रिज जडान गरी यातायात सञ्चालन गरिएको छ । सो बाढीले पुवाखोलामा बेलीब्रिज बगाएपछि अहिलेसम्म नयाँ बेलीब्रिज निर्माण हुन सकेको छैन । यहाँका लागि बेलीब्रिजका केही सामग्री आए पनि पूर्णरूपमा सामग्री आइनसकेको सडक डिभिजन इलामले जनाएको छ ।

सडकमा धान रोपेर विरोध
सडक नबनेपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेर सांकेतिक विरोधसमेत गरिसकेका छन् । धान रोपिएको सडकखण्डको अवस्था झन् दयनीय बनेको छ । अहिले मुस्किलले चारपाङ्ग्रे सवारीसाधन मात्र चल्ने गरेका छन् । दिनहुँजसो सवारीसाधन फस्ने र पल्टिने गरेका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन् । सडकले स्थानीयको यात्रा मात्र असहज बनाएको छैन, बिरामीलाई अस्पताल पु¥याउनेदेखि कृषि उपज बजारसम्म लैजाने कामसमेत जोखिमपूर्ण बनाएको छ ।
कतै कालोपत्रे, कतै ठेक्काको चक्कर
मेची कोरिडोरको लोदिया जङ्गल क्षेत्रसम्म कालोपत्रे भइसकेको छ । सोक्तिमदेखि सोम’bout–चिसापानी खण्डमा करिब दुई किलोमिटर सडक कालोपत्रे भएको छ । सोक्तिमदेखि लोदियासम्मको सडक कालोपत्रेका लागि केही महिनाअघि भगवती निर्माण सेवाले ठेक्का लिएको छ । दुई किलोमिटर सडक र बेलासी पुलदेखि पारि करिब दुई सय मिटर सडक आगामी कात्तिकसम्म कालोपत्रे गर्ने गरी काम अघि बढेको सडक डिभिजनले जनाएको छ ।
चिसापानी क्षेत्रमा दुई किलोमिटर कालोपत्रेको काम अझै पूरा भएको छैन । आले निर्माण सेवाले गत वर्ष दुई महिनामा सक्ने भन्दै सुरु गरेको कामसमेत अलपत्र छ । एउटै फास्ट ट्र्याकमा कतै कालोपत्रे थपिँदैछ, कतै नयाँ ठेक्का लगाउने तयारी छ भने कतै पुरानै ठेकेदारलाई अन्तिम मौका दिइँदैछ । तर यही सडक वर्षौंदेखि निर्माणाधीन छ । इलामका ईश्वर चिपालु भन्छन्, ‘सडक निर्माण समयमा नहुँदा हाम्रो भविष्य नै अनिश्चित बनेको छ ।’

निर्देशन भयो, तर ठेक्का टुटेन
ठेकेदारले प्रतिबद्धता गरे पनि काम देखिएन । अर्का ठेकेदार आउने भनिए पनि सडकमा उपकरण पुगेन । यसबीचमा ठेकेदारको ठेक्का जोगिएको छ, सरकारी निर्णय रोकिएको छ, तर तीन जिल्लाका नागरिकको यात्रा भने बन्धक बनेको छ ।
यता, मेची राजमार्गको माइ खोलास्थित राजदुवाली सडक डेढ महिनादेखि अवरुद्ध छ । पानी परेसँगै जमिन बग्ने र सडक भासिने समस्या बढेपछि अहिले यातायात पूर्ण रूपमा बन्द गरेर मर्मतको काम भइरहेको छ । माइ खोलामा काम भइरहे पनि सडक सञ्चालन हुन सकेको छैन । सडक डिभिजन इलामले जति सक्दो चाँडो सडक खुलाउने गरी काम भइरहेको जनाएको छ ।
अर्को वैकल्पिक मार्गका रूपमा हेरिएको सिमल गोलाई–तिल्केनी सडकको स्तरोन्नतिका लागि पर्याप्त बजेट छैन । संघ र प्रदेश सरकारमार्फत केही बजेट विनियोजन गरी सडक स्तरोन्नति गरिए पनि जोगमाई खोलामा पुल नहुँदा यो मार्ग भरपर्दो बन्न सकेको छैन । खोलामा बाढी आउनेबित्तिकै डाइभर्सन बगाउने र यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
मेची राजमार्गको राजदुवाली अवरोध हटाउने काममा अहिलेसम्म आठ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अहिले पनि निर्माण रोकिएको छैन, तर सडक भासिने क्रमसमेत रोकिएको छैन । यसैले मेची राजमार्गको राजदुवाली पहिरो क्षेत्रमा अहिले पैदल हिँडेर वारिपारि सवारीसाधनमार्फत मात्र यात्रा गर्नुपर्ने अवस्था छ ।
गत वर्ष असोजमा १२ दिन अवरुद्ध भएको मेची राजमार्ग यसपटक डेढ महिनाभन्दा बढी समयदेखि अवरुद्ध छ । सडक कहिले खुल्छ भन्ने अझै टुंगो छैन । यस अवस्थामा ‘कसले ठेक्का लिन्छ ? भन्ने होइन, वर्षौंदेखि अलपत्र फास्ट ट्र्याक कहिले बन्छ ?’ भन्नेमा स्थानीय प्रश्न गर्छन् ।


सम्बन्धित समाचार
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
अनलाइन ठेक्का प्रणाली ई–जीपीको विश्वसनियतामाथि विश्व बैंकले उठायो प्रश्न
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय
४५ दिनपछि खुल्यो मेची राजमार्गको राजदुवाली
भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै
प्रधानमन्त्री शाहले अस्ताम गाउँ टेक्दा स्थानीय खुशीले गदगद






