बाढी पहिरोले अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत हुँदा यातायात सञ्चालन प्रभावित बनेको छ ।

बाढी पहिरोका कारण धादिङ खण्डमा पर्ने पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ । बेनीघाट रोराङ–७ स्थित कृष्णभिर र गजुरी–२ को परेवाभिरमा ठूलो पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, बेनीघाट रोराङ–१० को ज्वाडु खोला र थाक्रे–२ को कमेरेभिरमा पहिरो पन्छाएर सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ ।

पासाङ ल्हामु सडक खण्डको सिटारमा बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै, विदुर–लाच्याङ सडक र टोखा–छहरे सडक खण्ड पनि पहिरो र बाढीका कारण प्रभावित भएका छन् । रसुवाको उत्तरगया–५ खाल्टेमा बाढी आउँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक लामो समयदेखि बन्द रहेको छ ।

मुगु–गमगढी सडक खण्डको ताल्चामा पहिरो खसेका कारण यातायात ठप्प छ । लमजुङको बेसीसहर–मनाङ सडक अन्तर्गत खर्करे भिरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, बैतडीको गोठालापानी–झुलाघाट सडक खण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी, बीपी राजमार्गको काभ्रेको खुर्कोट–नेपालथोक सडक खण्डमा बाढीको उच्च जोखिम रहेका कारण सुरक्षा सतर्कता अपनाउँदै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरेर मात्र सवारी चल्न दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

ऊर्जामा धक्का, बीमा दाबी अकल्पनीय