काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको एनसेलले मंगलबारबाट लागू हुने गरी १९८ गन्तव्य मुलुकका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन कल) को पल्स दर परिवर्तन गरेको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत २२ साउनको स्वीकृतिबमोजिम एनसेलले ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो । दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो ।
प्राधिकरणको स्वीकृतिबमोजिम अब फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, ईटाली, जापान, साउथ कोरिया, लेवनान, मलेसिया, न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिंगापुर, संयुक्त अधिराज्य, मेक्सिको, लिबिया, अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन,साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्सलगायतका गन्तव्य मुलुकहरुमा यो नयाँ पल्स दर लागू भएको छ ।
एनसेलले नयाँ पल्स दर कायम भएका सबै मुलुकहरूको पूरा सूची, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेसनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिने जनाएको छ ।











