बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

बाँके । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डिएनए’ नमुना संकलन गरिएको छ ।

रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमुना संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमुना संकलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डिएनए नमुना संकलन गरिएको छ । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

शव पहिचानका लागि डिएनए परीक्षणका लागि नमुना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए । भोटेकोशीमा आएको बाढीपश्चात् उनको १९ वर्षीय एक्लो छोरा दीपक, दाजु ५३ वर्षीय शेरसिंह र भाउजू ५६ वर्षीय विष्णुमतीलाई एकैसाथ बेपत्ता भएका छन् ।

रसुवाको भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । हालसम्म तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

उनका अनुसार, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । विभिन्न २१ संघसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य संघले रु। ६ लाख एक हजार, नेपाल ज्वेलर्सबाट रु. दुई लाख ११ हजार र विभिन्न मस्जिदबाट संकलित रकम उल्लेख्य रहेको छ । जिल्ला प्रशासनमा उपलब्ध सहयोगबाहेक पनि विभिन्न सङ्घसंस्था र नागरिक तहबाट स्वस्फूर्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य राहत रकम जम्मा भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य