भोटेकोशी बाढीपछि प्रहरीले सञ्चालनमा ल्याएको ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन के हो ? उच्च प्राथमिकतामा यी विषय

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेशन सञ्चालनमा ल्याएको छ ।

सो अप्रेशनअन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना ‘डिएनए प्रोफाइलिङ’ एवं ट्राफिक व्यवस्थापनलगायत विषयलाई उच्च प्राथमिकता दिइएको छ ।

यस कार्यक्रमलाई सफल बनाउन प्रहरी हेडक्वार्टमा सञ्चालित ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लालाई आवश्यक निर्देशन दिइएको जनाइएको छ ।

बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुनसक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न मातहतका युनिटलाई भनिएको छ ।

फेला परेका शव वा शरीरका अंगका मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले बाढीमा परी बेपत्ताको खोजलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेषलगायत स्थानमा प्रहरी टोली परिचालित गरिएको बताउँछन् ।

‘कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवं केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ । प्रहरीले टिमुरेदेखि त्रिवेणशीसम्म विशेष अप्रेशन सञ्चालन गरी खोज तथा उद्धारलाई तीव्र पारेको छ,’ उनले भने ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव संकलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना संकलन र शवको सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियताका काम गरिरहेको छ ।

भौगोलिक विकटकताका कारण उद्धारकर्ता एवं केनाइनसमेत पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ । बाढीका कारण अवरुद्ध सडक खुलाउन एवम् सडक नभएका स्थानमा तुईनमार्फत सुरक्षित आवतजावतमा सहजीकरण गरिएको प्रवक्ता काफ्ले बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि प्रहरीले सञ्चालनमा ल्याएको ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन के हो ? उच्च प्राथमिकतामा यी विषय