वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।
हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ ।
उनले सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको बताए । अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको उनले बताए ।
सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने कामसमेत तीव्र गतिमा भइरहेको उनको भनाइ छ ।
सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत ६ र ७ वैशाखमा मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो । सडक विस्तारका लागि उत्तरतर्फ गण्डक क्षेत्रबाट र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो ।
सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत २० असारदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले बताए ।
(रासस)
सम्बन्धित समाचार
कांकडभिट्टामा गोप्रो क्यामेरा जडान
उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने मन्त्रिपरिषदको निर्णय
दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालियो
संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन
कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिवर्तन
रावल आयोगले औंल्याएका जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय






