दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि चाहिने रोटी आफैँ बनाउन व्यस्त थिए । उनले रोटी र अन्य परिकार बनाएर आफैँले पूजाआजा पनि गरे ।
त्यस्तै, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी दिनभर अट्वारीमै व्यस्त भए । उनले अनदी (अन्डी)को रोटी, खुर्मा, फुलौरी, बरियालगायतका परिकार बनाए । उनीहरूमात्रै होइन, दाङसहित पश्चिम नेपालको थारू समुदाय आइतबार यसरी नै व्यस्त थिए ।
कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतबार यसरी नै थारू समुदायले अट्वारी मनाउने गर्छन् । आइतबार नै मनाइने हुँदा पर्वको नाम पनि ‘अट्वारी’ नामकरण हुन गएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।
उनका अनुसार शनिबार राति अर्थात् अघिल्लो दिन दर खाने गरिन्छ । त्यसपछि आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रतपछि पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि फलफूलमात्रै उपभोग गर्ने चलन रहेको चौधरीले बताए । तर सूर्यास्तपछि खानपान पूरै बन्द गर्नुपर्ने हुन्छ ।
त्यसपछि, सोमबार बिहानै पूजापाठ अर्थात् ‘फलहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारलाई दुई भागमा छुट्याइन्छ । छुट्याएको भाग चेलीबेटीलाई अग्रासन (कोसेली) स्वरूप दिनका लागि राखिन्छ भने एक भाग बर्तालुहरूले उपभोग गर्ने गरिन्छ । भोजन ग्रहणपश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।
विवाहित चेलीबेटी माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रासनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रासन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मानसम्मान गर्ने उत्तिकै चलन थारू समुदायमा रहेको छ । तर, पछिल्लो समय यो चलन हराउँदै जान थालेको छ ।
किन मनाइन्छ अट्वारी ?
थारू जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाइ भीमको पूजाआजा गर्दछन् । थारू समुदायको बसोबास रहेको तराईमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीमाथि जबर्जस्ती गर्ने काम गरिरहेको थियो । त्यही बेला भेवा (भीम) तराई घुम्न आउँदा त्यो कुरा देखेपछि उनले मुक्ति दिलाएको भन्ने किंवदन्तीलाई आधार मानेर भेवाको पूजा गर्ने गरिन्छ ।
त्यसैगरी, अर्को किंवदन्तीअनुसार पनि यो पर्वलाई मनाउने गरिन्छ । कुनै बेला द्रौपतिसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारू राजा दङ्गीशरण र पाँच पाण्डवबीच निकै घनिष्ठता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दङ्गीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे ।
बलवान र पराक्रमी भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरूले तावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेनन् । अन्ततः भीमले राजा दङ्गीशरणलाई सहयोगपश्चात् फर्केपछि मात्रै तावाको रोटी झिकेको भनाइ छ । सहयोग गरेको दिन आइतबार परेकाले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारू अगुवा खुसीराम चौधरीको भनाइ छ ।
सम्बन्धित समाचार
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन
व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण
रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
सशस्त्र प्रहरीको झापा गणले प्रयोगमा ल्यायो गोप्रो क्यामेरा, प्रमाण संकलनमा मद्दत गर्ने विश्वास
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब






