हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुससम्म सात हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ सवारी चालकलाई कारबाही गरिएको जानकारी दिए ।
उनका अनुसार कारबाहीको सङ्ख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन । आर्थिक वर्ष २०८२र८३ मा मकवानपुरमा ४१४ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ६४ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन् ।
पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ सवारी दुर्घटना भएका थिए । पहिलो छ महिनामा ३५ र पछिल्लो छ महिनामा २९ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ । प्रमुख विष्टले कारबाही मात्रै गरेर सवारी दुर्घटना नियन्त्रण गर्न नसकिने भन्दै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको चेतना र जिम्मेवारी आवश्यक रहेको बताए ।
“कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुपर्यो”, उनले भने, “दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो ।” गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको छ भने लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ
क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ
भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी
कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ
ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ
बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
‘कार्यकर्तालाई उत्पादनसँग जोड्न सागसब्जीखेती’
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै






