उदयपुर । नेपालको आधुनिक सिँचाइ इतिहाससँग प्रत्यक्ष जोडिएको सप्तरीको फत्तेपुरस्थित राणाकालीन ऐतिहासिक भवनहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । एक शताब्दी भन्दा लामो इतिहास बोकेको चन्द्रनहरसँगै रहेका यी भवन अहिले संरक्षण र उचित उपयोगको पर्खाइमा छन् ।
सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा रहेको चन्द्रनहरको मुहान क्षेत्र आसपास अझै पनि राणाकालीन संरचनाहरू जीर्ण अवस्थामा देख्न सकिन्छ । तत्कालीन समयमा श्री ३ चन्द्रशमशेरको सवारी हुँदा आराम तथा शयन गर्न, अतिथिहरूको बसोबास र चमेना गृहका रूपमा यस्ता भवन प्रयोग हुने गरेको ऐतिहासिक दस्ताबेजमा भेटिन्छ ।
नहर संरक्षण तथा व्यवस्थापनका लागि पनि भवनहरू निर्माण गरिएको उल्लेख छ । तर अहिले अधिकांश संरचना संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका छन् ।
स्थानीयका अनुसार भवनका झ्याल, ढोका र सिँढीमा प्रयोग भएका काठ मक्किएका छन् । कतिपय काठ संरक्षणको अभावमा नष्ट भइसकेका छन् । केही ऐतिहासिक भवन विभिन्न सरकारी प्रयोजनमा प्रयोग भए पनि नियमित संरक्षण हुन नसक्दा संरचनाको मौलिकता हराउँदै गएको छ ।
फत्तेपुरमा रहेको चन्द्र नहर नेपालकै पहिलो आधुनिक सिँचाइ प्रणालीका रूपमा चिनिन्छ । त्रियुगा नदीबाट पानी लगेर सप्तरीको कृषि क्षेत्रलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा यसको निर्माण सुरु गरिएको हो । विभिन्न ऐतिहासिक स्रोत अनुसार चन्द्रनहरको निर्माण वि.सं. १९७९ मा सुरु भई वि.सं. १९८५ मा सम्पन्न भएको थियो ।
यस परियोजनामा तत्कालीन नेपालका अग्रणी इन्जिनियर डिल्लीजंग थापाको महत्वपूर्ण भूमिका रहेको इतिहासकार तथा विभिन्न अध्ययनहरूले उल्लेख गरेका छन् । थापाले भारतको रुड्कीमा इन्जिनियरिङ शिक्षा लिएका थिए र पछि नेपालको आधुनिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिएका थिए । चन्द्रनहरलाई पूर्वी तराईमा आधुनिक सिँचाइ प्रणाली विकास गर्ने उनको महत्वपूर्ण कामका रूपमा उल्लेख गरिएको छ ।
नहरनिर्माणको मूल उद्देश्य कृषि उत्पादन बढाउनु र तराईको उर्वर जमिनमा नियमित सिँचाइ सुविधा उपलब्ध गराउनु थियो । प्रारम्भिक समयमा यस नहरले प्रतिसेकेन्ड १४ घनमिटर पानी प्रवाह गर्न सक्ने क्षमता रहेको थियो भने यस नहरको लम्बाइ ३१ किलोमिटर रहेको छ । नहरको पानीले सप्तरी जिल्लाका लगभग १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ गर्न सक्ने क्षमता रहेको छ ।
त्रियुगा नदीमा बाँध बनाएर निर्माण गरिएको यस नहरमा त्यस समयमा सिमेन्टको प्रयोग गरिएको थिएन । पाको इँटाको धूलो, चुन र मास मिसाएर बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको थियो । सिभिल इन्जिनियर डिल्लीजंग थापाको विभिन्न निर्माण कार्यहरू मध्ये यो एक उत्कृष्ट काम रहेको विशेषज्ञहरूको भनाइ रहेको छ ।
चन्द्रनहर निर्माण भएको झन्डै एक शताब्दी पुग्दा पनि त्यससँग जोडिएका ऐतिहासिक भवनको व्यवस्थित रूपमा संरक्षण हुन सकेको छैन । नहरसँग सम्बन्धित भवनहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । पछिल्लो समय जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा चन्द्रनहर पुनस्र्थापना तथा सुधार गरिएको छ । परियोजनाबाट ३२ वटा महत्वपूर्ण संरचना पुनस्र्थापना भएको र करिब ११ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुधार गर्ने लक्ष्य राखिएको थियो ।

तर नहरको पानी व्यवस्थापन र भौतिक संरचनाको पुनःस्थापनासँगै त्यससँग जोडिएको राणाकालीन वास्तुकला र ऐतिहासिक भवनको संरक्षणलाई पनि समान प्राथमिकता दिनु पर्ने स्थानीयको माग छ । स्थानीयवासी तथा पर्यटन अभियन्ताहरूले जीर्ण भवनलाई भत्काएर नयाँ संरचना बनाउनुको सट्टा पुरानै वास्तुशैली जोगाएर पुनस्र्थापना गर्नु पर्ने बताएका छन् । भवनलाई चन्द्र नहरको इतिहास, राणाकालीन प्रशासन, नेपालको प्रारम्भिक इन्जिनियरिङ र कृषि विकासको इतिहास समेटिएको संग्रहालयका रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ छ ।
फत्तेपुर क्षेत्रमा अहिले पर्यटनको सम्भावना पनि विस्तार हुँदै गएको छ । चन्द्रनहर, त्रियुगा नदी, चुरे क्षेत्र, जुटपानी क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्षलाई एउटै पर्यटकीय सर्किटमा जोड्न सकिने सम्भावना छ । जुटपानी क्षेत्रमा सामुदायिक वन मार्फत ट्रि–हाउस, बोटिङ, पिकनिक तथा अन्य पर्यटन पूर्वाधार समेत विकास भइरहेका छन् । ऐतिहासिक भवनलाई संग्रहालयमा रूपान्तरण गर्न सके चन्द्रनहर केवल सिँचाइ आयोजनाका रूपमा मात्र नभई नेपालको आधुनिक विकास र इन्जिनियरिङ इतिहासको जीवित दस्ताबेज बन्न सक्ने सप्तकोशी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकालको विश्वास छ ।
तीनै तहका सरकारले संयुक्त पहल गरी भवनको विस्तृत प्राविधिक अध्ययन, पुरातात्त्विक सर्वेक्षण, ऐतिहासिक अभिलेख संकलन, संरक्षण योजना र पर्यटन विकासको गुरुयोजना बनाउनु पर्ने देखिन्छ । अन्यथा संरक्षणको अभावमा राणाकालीन वास्तुकलाको यो महत्वपूर्ण अध्याय पनि केही वर्षपछि तस्बिर र कथामा मात्र सीमित हुने जोखिम उतिकै देखिन्छ ।
फत्तेपुरको यो भवन केवल पुरानो संरचना होइन, यो नेपालको आधुनिक सिँचाइ इतिहास, राणाकालीन वास्तुकला र पूर्वी तराईको विकास यात्राको मौन साक्षी हो । त्यसैले यसको संरक्षण गर्नु इतिहास जोगाउनु मात्र नभई भावी पुस्ताका लागि नेपालको विकास इतिहास सुरक्षित गर्नु पनि हो ।
सम्बन्धित समाचार
सन्दर्भ संविधान दिवसः संघीयतापछि दलित र सीमान्तकृत समुदायको जीवनमा आएको परिवर्तन
भेडागोठमा लालबिरका सात दशक
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट कसैलाई छैन : रास्वपा सभापति लामिछाने
रिपब्लिकनलाई जिताए प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर: ट्रम्प
भोटेकोशी बाढी : एक हजार ३८५ शव फेला, अझै चार हजार ८९ जना सम्पर्कविहीन
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम १ असोजमा घोषणा हुने
सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी






