राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपाल पार्टीका अध्यक्ष भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

दाहालकी छोरी डेनिका (डेनी) दाहालले आफ्ना बुबालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनलाई तारेखमा छाड्न आदेश दिएको हो ।

अदालतले दाहालको बयान सम्पन्न भइसकेको र उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार तथा कारण नदेखिएको ठहर गरेको छ । बिहीबारकै मितिबाट तारेखमा छाड्न नेपाल प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरो, भोटाहिटीका नाममा आदेश जारी गरिएको छ ।

यसअघि दाहाललाई गत आइतबार मोरङको सुन्दरहरैंचा नगरपालिका–८, सलकपुरस्थित एक चिया पसलबाट प्रहरीले पक्राउ गरेको थियो । उनी विभिन्न राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते कोशी प्रदेश पुगेका थिए ।

काठमाडौं जिल्ला अदालतबाट साइबर ब्युरोको अनुरोधमा जारी भएको पक्राउ पुर्जीका आधारमा मोरङ प्रहरीले उनलाई नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो ।

साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी एसपी दिलीपकुमार गिरीका अनुसार दाहालविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत साइबर अपराधसम्बन्धी कसुरमा उजुरी परेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

रास्कोट कांग्रेस नगरसभापतिमा संज्याल सर्वसम्मत