मड्रिड । उपाधि दाबेदार रियल मड्रिडले स्पेनिस ला लिगामा आइतबार राति एइवरमाथि ३–१ को सहज जित निकाल्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी फेरि दुईमा छोट्याएको छ ।

रियलको सहज जितमा टोनी क्रुस, कप्तान सर्जियो रामोस र मार्सेलोले गोल गरे । एइवरका पेड्रो बिगासले एक गोल फर्काए । रियलले सबै तीन गोल ३७ मिनेटभित्र गरेको थियो । ‘बी’ टिमले प्रशिक्षण गर्ने मैदान अल्फ्रेडो डि स्टेफानोमा रियलले खेलको चौथो मिनेटमा नै मिडफिल्डर टोनी क्रुसको गोलबाट अग्रता लिएको थियो । उनले पेनाल्टी क्षेत्रको ठीक भित्रबाट पहिलो टचमा गरेको प्रहारलाई एइबारका गोलरक्षकले बचाउने कुनै मौका पाएनन् । एइबारले त्यसपछि गोल गर्ने प्रयास गरे पनि गोलरक्षक थिबाउट कोर्टुवा त्यसमा बाधक बने ।

३०औं मिनेटमा रियलले अग्रता दोब्बर पा-यो । कप्तान सर्जियो रामोसले चोटपछि फर्किएका इडेन हजार्डको पासमा गोल गरेका थिए । रामोस आफैंले एइबारका खेलाडीबाट खोसेको बललाई करिम बेन्जेमाले हजार्डलाई दिएको पासमा हजार्डले आफंले गोल गर्न सक्ने अवस्थामा पनि रामोसलाई पास दिँदा उनले खाली पोस्टमा गोल गरेका थिए । ३७औं मिनेटमा लेफ्ट ब्याक मार्सेलोको गोलसँगै रियलले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

इडेन हजार्डको शक्तिशाली प्रहारलाई गोलरक्षक डिमिट्रोभिचले विफल पारे पनि रिवाउन्डमा डिफेन्सले क्लियर गर्न नसक्दा मार्सेलोको शक्तिशाली प्रहार गोलमा परिणत गरेका थिए । मार्सेलोले आफ्नो गोल घुँडा टेकेर मुठ्ठी कस्दै दायाँ हात आकाशतिर उठाएर खुसियाली मनाउँदै रंगभेदी व्यवहारविरुद्ध चलिरहेको आन्दोलनलाई समर्पित गरे ।

पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाएको रियलले दोस्रो हाफमा लय गुमाउँदा लगातार दबाब झेलिरह्यो । दोस्रो हाफमा रियलका गोलरक्षक थिवाउन कोर्टुवा निकै व्यस्त बन्दा चार उत्कृष्ट बचाउ गर्दा एक गोल बेहोरे । एइवरको एक प्रहार पोस्टमा लागेर फर्किएको थियो । रियलकै पूर्वखेलाडी पेड्रो लिओन मैदान प्रवेश गरेसँगै एइवरले रियललाई लगातार दबाबमा राखेको थियो । ४९औं मिनेटमा कोर्टुवाले आफ्नो गल्तीलाई सच्याए । उनले क्लियर गरेको बल नजिकै रहेको विपक्षीले नियन्त्रणमा लिँदै गरेको प्रहारलाई कोर्टुवाले उत्कृष्ट डाइभ दिँदै बचाए ।

५९औं मिनेटमा पेड्रो बिगासको गोलसँगै एइवरले खेलमा फर्कने सम्भावना देखायो । कर्नर बललाई करिम बेन्जेमाले हेड गरे पनि राम्रोसँग क्लियर गर्न नसक्दा पाब्लो डे ब्लासिसको प्रहार बिगासलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत हँुदा कोर्टुवाले रोक्ने कुनै अवसर नै पाए । त्यसअघि कर्नरमै सर्जी इनरिचको हेडर क्रसबारमा लगेर फर्किएको थियो । ६८औं मिनेटमा पेड्रो लिओनले अग्रता कम गर्ने अवसर खेर फाले ।

पेनाल्टी क्षेत्रभित्र वान भर्सेस वानकै अवस्थाको उनको प्रहार फितलो बन्दा कोर्टुवाले सहजै बचाए । लगत्तै लिओनकै क्रसलाई सर्जी इनरिचले गोलको दिशा दिन सकेनन् । एइबारले त्यसपछि थप अवसर सिर्जना गरे पनि कोर्टुवाले खेलमा फर्कने कुनै अवसर दिएनन् । ६१औं मिनेटमा रियलले एकैपटक तीन खेलाडी परिवर्तन गरेपछि रियलको लय बिग्रिन पुगेको थियो । उत्कृष्ट प्रदर्शन गरिरहेका हजार्ड, रामोस र रोड्रिगोको स्थानमा भिनिसियस जुनियर, इडर मिलिटाओ र ग्यारेथ बेललाई मैदान प्रवेश गराएको थियो ।

भिनिसियस जुनियरले केही दबाब दिए पनि बेल मैदानमै हराएको देखिएको थियो । रियलको तीन गोलमा हजार्ड दुई गोलमा संलग्न रहँदै आफू पूर्ण फिट रहेको संकेत दिएको छ । जितसँगै रियलको २८ खेलबाट ५९ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको बार्सिलोनाको ६१ अंक छ । पराजित एइबार रेलिगेसन क्षेत्रबाट मात्र २ अंक टाढा रहेको छ । टोलीले २८ खेलमा २७ अंक मात्र जोडेको छ ।

यस्तै, अर्का खेलमा एट्लेटिको डर्वीमा एथ्लेटिको विल्वाओ र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा विल्वाओले ३७औं मिनेटमा इकर मुनिएनको गोलबाट अग्रता लियो । तर, विल्वाओको त्यो अग्रता दुई मिनेट पनि टिकेन ।

३९औं मिनेटमा डिएगो कोस्टाले बराबरी गोल फर्काए । बराबरीसँगै एट्लेटिकोले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको रियल सोसिडाडसँग समान ४६ अंक रहे पनि एट्लेटिको छैटौं स्थानमा यथावत् छ । विल्वाओ ३८ अंक जोडेर १०औं स्थानमा यथावत् छ । अर्काे खेलमा रियल सोसिडाड र ओसासुनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे