इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, सभामुख अर्यालले उद्घाटन गर्दै

काठमाडौं । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला यही २० असोजसम्म सञ्चालन हुनेछ ।

यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना हुने उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति रहनेछ ।

त्यसलगत्तै युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ ।

मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ ।

आजै दिउँसो १२ः०० देखि ५ः०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना–परामर्श सेवाहरू सञ्चालन गरिनेछ ।

भोलिदेखि १९ असोजसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन् ।

मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

राजधानी टोकियोमा जनसंख्या बढ्दा जापानको अन्य प्रान्तमा जनसंख्या उल्लेख्य रुपमा घट्दो, वृद्ध नागरिक बढ्दो