देउवा पक्षले ७७ जिल्लामा महाधिवेशन संयोजक तोक्यो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको समानान्तर तयारीका लागि ७७ वटै जिल्लामा सभापति तथा संयोजक तोकेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको १५औँ महाधिवेशन तयारी समितिले जिल्ला तहमा संयोजक तोकेर अधिवेशन प्रक्रिया अघि बढाएको हो ।

असोज १५ देखि वडा अधिवेशन, मंसिर २१–२३ मा छुट्टै महाधिवेशन

देउवा पक्षले असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । त्यसपछि मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

जिल्ला तयारी समितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहका तयारी समिति गठन गरी अधिवेशन प्रक्रिया अघि बढाउने जनाएको छ । ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला संयोजकको जिम्मेवारी पाउनेमा ताप्लेजुङमा राज थेबे, पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, सोलुखुम्बुमा प्रेमध्वज बस्नेत, खोटाङमा रोजन राई र ओखलढुंगामा बालगोविन्द राजभण्डारी छन् ।

त्यस्तै काठमाडौंमा जयकृष्ण महर्जन, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे, चितवनमा मिलन श्रेष्ठ, कास्कीमा ऋषीराम काफ्ले, रुपन्देहीमा गुनाखर भुर्तेल, बाँकेमा कृष्ण कार्की, सुर्खेतमा ललित भट्टराई, कैलालीमा खेमराज डगौरा थारु, कञ्चनपुरमा पदम बोगटी र डडेल्धुरामा डिल्लीराज जोशीलगायतलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ ।

समितिका अनुसार सबै तहका अधिवेशनमा कांग्रेसका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उत्साहपूर्वक सहभागी गराउने तयारी छ । विज्ञप्ति सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुईकेलले जारी गरेका हुन् ।

यसअघि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त कार्यतालिकाअनुसार वडा अधिवेशन भदौ २४, पालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ तथा जिल्ला अधिवेशन असोज ७ गते तोकिएको थियो ।

यसरी कांग्रेसमा १५औँ महाधिवेशनका लागि दुई छुट्टाछुट्टै संगठनात्मक प्रक्रिया अघि बढिरहेका छन् । देउवा पक्षले मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएपछि पार्टीको महाधिवेशन प्रक्रिया समानान्तर बनेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गर्ने खड्का महाधिवेशन प्रतिनिधिमा पराजित