काठमाडौं । नेपालको प्रतिष्ठित सडक दौड प्रतियोगिता सिद्धार्थ बैंक काठमाडौं म्याराथन प्रतियोगिता असोज २४ गते आयोजना हुने भएको छ । काठमाडौं म्याराथनको यो १८ औं संस्करण हो । आयोजक एनआरएस स्पोट्र्स फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उक्त कुराको जानकारी दिएको हो ।
आयोजकका अनुसार यस वर्षको काठमाडौं म्याराथनमा करिब ७ हजार धावकले सहभागिताका लागि नाम दर्ता गरिसकेको जानकारी गराइयो । प्रतियोगितामा सयभन्दा बढी १९ देशका विदेश धावक सहभागी हुने पत्रकार सम्मेलनमा बताइएको छ ।
एनआरएस स्पोर्टस फाउन्डेशनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख ३५ र तेस्रोले १ लाख १५ हजार नगद पुरस्कार पाउने बताए । प्रतियोगितामा झन्डै डेढ करोड रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार यस वर्षको प्रतियोगितामा विभिन्न उमेर समूह र वर्गलाई समेटेर विभिन्न स्पर्धा समावेश गरिएको छ । फुल म्याराथन (४२.१९५ किलोमिटर) मा ओपन तथा ४०+, ५०+ र ६०+ मास्टर्स समूह रहनेछन् । त्यसैगरी हाफ म्याराथन (२१ किलोमिटर) मा ओपन तथा ४०+ र ५०+ मास्टर्स, १० किलोमिटर दौडमा ओपन र मास्टर्स, ५ किलोमिटर दौडमा ओपन र कलेज तथा ३ किलोमिटर दौडमा ओपन, विद्यालय र फ्यामिली रन समावेश गरिएको छ ।
यस पटकको अर्को विशेष पक्ष भनेको फुल म्याराथनमा पहिलो पटक २५ जना महिला धावकले सहभागिता सुनिश्चित गर्नु हो । आयोजकले यसलाई नेपाली महिलाको आत्मविश्वास, साहस र खेलप्रतिको बढ्दो आकर्षणको ऐतिहासिक संकेतका रूपमा व्याख्या गरेको छ ।
सडक सुरक्षा अभियानसँग काठमाडौं म्याराथनको सहभागी यस वर्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँग सहकार्यमा ‘ट्राफिक नियमको पालना गरौं, ज्यानको जोखिमबाट बचौं’ भन्ने सन्देशलाई विशेष रुपमा प्रवद्र्धन गरिएको छ । कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्ले सडक दुर्घटना न्यूनिकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले म्याराथन प्रतियोगितामा सहकार्य गरेको बताए ।
प्रतियोगितामा नेपाल बाहेक भारत, नर्वे, बेलायत, पोल्याण्ड, श्रीलंका, अमेरिका, बंगलादेश, चीन, इन्डोनेसिया, जापान र फ्रान्स लगायतका देशबाट एक सयभन्दा बढी अन्तर्राष्ट्रिय धावकले सहभागिता सुनिश्चित गरिसकेका छन् । अन्य देशबाट पनि दर्ता क्रम जारी रहेको आयोजकले बताएको छ ।
यस अभियानमा काठमाडौं महानगरपालिका, विभिन्न संघसंस्था तथा स्थानीय समुदायबाट सकारात्मक सहयोग प्राप्त भइरहेको कार्यक्रममा बताइयो । काठमाडौं महानगरपालिकाका कार्यकारी सदस्य महेश नेपालीले यस्ता प्रतियोगिताले काठमाडौंमा दौडने संस्कृतिको विकास हुने बताए । म्याराथनबाट दौडलाई आयोजकसँग महानगरपालिका सहकार्य गर्न सधैं तयार रहेको उनले बताए ।
सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथनको यो १८ औं संस्करणमा सहायक सीइओ सुरेशराज महर्जन, हिमालयन एभरेष्ट इन्सुरेन्सका सुदर्शनकुमार श्रेष्ठ तथा मेडिकल डाइरेक्टर डा. सन्देश मास्केले पनि बोलेका थिए ।
सम्बन्धित समाचार
यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी
एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली प्रदेश, होला त घोषित मितिमै ?
बीसौँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
नेसन्स लिगमा रोनाल्डो र हालान्ड आमनेसामने हुँदै
वर्षा बाधक बन्दा श्रीलंकासँगको खेल रद्द, एसियन गेम्स क्रिकेटबाट नेपाल बाहिरियो
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट





