काठमाडौं । आम जनता पार्टी (आजपा)ले युवा नेता बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा नयाँ जिम्मेवारी तोक्ने क्रममा सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
आजपाका संस्थापक सदस्यसमेत रहेका सापकोटाले पार्टी स्थापना कालदेखि नै संगठन निर्माण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नयाँ जिम्मेवारीसँगै उनले विदेशमा रहेका नेपाली तथा आजपाका शुभेच्छुकसँग सम्पर्क, समन्वय र सहकार्य विस्तार गर्दै प्रवासमा पार्टीको संगठन निर्माणलाई अघि बढाउने जिम्मेवारी पाएका छन् ।
आजपाले पछिल्लो समय देशभित्र संगठन विस्तारसँगै विदेशमा रहेका नेपाली समुदायसँगको सम्बन्धलाई समेत प्राथमिकतामा राख्दै आएको छ । विदेशमा रहेका नेपालीहरूलाई पार्टीका राजनीतिक तथा सामाजिक एजेण्डासँग जोड्ने, उनीहरूको चासो र समस्यालाई पार्टीको राजनीतिक बहससँग जोड्ने तथा अन्तर्राष्ट्रियस्तरमा पार्टीको सम्पर्क विस्तार गर्ने महत्वपूर्ण जिम्मेवारी सापकोटाको काँधमा आएको छ ।
विदेश विभाग प्रमुखको जिम्मेवारी पाएपछि सापकोटाले पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्ने बताएका छन् । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूमाझ आजपाका राजनीतिक एजेण्डा तथा विचार पु¥याउँदै उनीहरूलाई पार्टीसँग जोड्न आफूले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
उनले प्रवासमा रहेका नेपालीसँग नियमित सम्पर्क र समन्वय विस्तार गर्ने, आजपाका शुभेच्छुकलाई संगठित गर्ने तथा विदेशमा पार्टीको संगठनात्मक आधार निर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
सापकोटालाई विदेश विभाग प्रमुखसँगै ‘आम शहीद तथा बेपत्ता परिवार’को इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ । यससँगै उनले विदेशमा पार्टीको संगठन विस्तारका साथै शहीद तथा बेपत्ता परिवारसँग सम्बन्धित विषयमा समेत पार्टीको तर्फबाट समन्वय गर्ने जिम्मेवारी पाएका छन् ।
आजपा प्रवक्ता सुभाष साहले जारी गरेको विज्ञप्तिअनुसार पार्टीले विभिन्न विभागका प्रमुखहरूको समेत जिम्मेवारी तोकेको छ । जसअनुसार स्कुल विभाग प्रमुखमा तिलक थापा मगर, अनुशासन विभाग प्रमुखमा आत्माराम साह, संगठन विभाग प्रमुखमा त्रिभुवन साह, प्रचार–प्रसार विभाग प्रमुखमा सुभाष प्रसाद साह र आर्थिक विभाग प्रमुखमा देवकुमारी साहलाई जिम्मेवारी दिइएको छ ।
पार्टीले विभागीय जिम्मेवारी तोक्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा विभिन्न क्षेत्रका कामलाई जिम्मेवार नेतामार्फत अघि बढाउने नीति लिएको जनाएको छ । नयाँ जिम्मेवारीसँगै विदेशमा रहेका नेपालीलाई संगठनसँग जोड्ने र प्रवासमा आजपाको उपस्थिति विस्तार गर्ने अभियानलाई तीव्रता दिने तयारी गरिएको छ ।
सम्बन्धित समाचार
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
सहमतिका लागि अछाम २ मा कांग्रेसको सहजीकरण समिति
आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ
रास्कोट कांग्रेस नगरसभापतिमा संज्याल सर्वसम्मत
कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो, १८ असोजमा खुलामञ्चमा उद्घाटन
जसपा नेपालका पूर्व रौतहट अध्यक्ष यादवले छाडे पार्टी
कांग्रेस महाधिवेशनः ‘विधिको कांग्रेस’मा गगनको शक्ति परीक्षण
विपद् अध्ययन गर्ने संसदीय विशेष समितिका सभापति पराजुलीले लिए शपथ







