काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले ओमानमाथि ११३ रनको जित हासिल गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो ।
नेपालले अब अर्को खेलमा आगामी शनिबार क्यानडासँग खेल्नेछ । यो जितपछि लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक भएको छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।
ओमान १२औं ओभरमा ४१-६ को अवस्थामा पुगिसकेको थियो । त्यहाँबाट विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गरेका थिए । ओडेरा २५ रन बनाएर आउट भए । नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन दिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो । रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेले ।
करण केसीले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि एक छक्का प्रहार गरेका थिए । अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए ।
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट
एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ भव्य तयारी
एनपीएलको तयारी अन्तिम चरणमा
लुम्बिनी लायन्सको अफिसियल फुड पार्टनरमा बिर्यानी विस्ट्रो
एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा
ओलम्पियाडमा ६ बुद्धिचाल खेलाडीलाई टाइटल
लिग-२ क्रिकेट: नेपालद्वारा क्यानडा पराजित






