चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन


काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि कुल ९ हजार ६९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो । यो संख्या गत वर्षभन्दा ४१८ ले बढी हो ।

सिट निर्धारण प्रक्रियाका लागि देशभरका कुल ९० वटा शिक्षण संस्थाले स्व–मूल्यांकन फाराम भरेर सिट माग गरेका थिए ।

विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनलाई आधार बनाएर ९० मध्ये ८४ वटा शिक्षण संस्थालाई यस वर्ष सिट निर्धारण गरिएको छ ।

आयोगका सदस्य सचिव हरिप्रसाद निरौलाका अनुसार, कार्यक्रमगत हिसाबले एमबीबीएसतर्फ गत वर्षको तुलनामा कुल ११० सिट वृद्धि गरिएको छ । जसअन्तर्गत शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सिट प्राप्त गरेको छ ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ ।

‘निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट वृद्धि गरिएको छैन । एमबीबीएसमा बढेको सिट सरकारी संस्थाको मात्र हो,’ सदस्य सचिव निरौलाले भने ।

उनका अनुसार, एमबीबीएसबाहेक अन्य विधामा पनि सिट बढाइएको छ ।

बीएसस्सी नर्सिङतर्फ गत वर्षको तुलनामा २ सय १० सिट वृद्धि गरिएको छ भने बीएमएसमा ९८ सिट थप गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत