दसैँको उज्यालो, विपत र अभावले थलिएका नेपाली र धमिलो खुसी

नीरादेवी दुलाल

नेपालीहरुको महान चाड बडादशैं, कसैका घरमा दसैँको रौनक छ तर देशैभर कतै न कतै कुनै न कुनै रुपमा धेरैका आँखामा आँसुले खुसी धमिल्याएको छ । बाढीपहिरोले बस्ती उजाडिएको बस्तीदेखि चुलो बाल्ने ग्यासको अभावले छटपटिएका नेपालीका आँगनमा पनि चाडपर्व पुगेको छ । अभाव, अशान्ति र अँधेरोबिचको दशैं कसरी उज्यालो र खुसी हुन सक्ला र !

दसैँ नेपालीको घरआँगनमा भित्रिँदै गर्दा बजारमा चहलपहल बढेको छ । पसलहरू सजिएका छन्, सडकमा भीड बढेको छ र घरघरमा चाडपर्वको तयारी चलिरहेको छ । नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, परिवारसँग बसेर खुसी साट्ने र वर्षभरिका दुःख बिर्सने रहर सबैको हुन्छ । तर दसैँको यही रौनकभित्र एउटा कठोर यथार्थ पनि लुकेको छ—महँगीले थिचिएको जीवन, अभावले खुम्चिएका रहर, प्राकृतिक विपत्तिले उजाडिएका बस्ती र व्यवस्थाप्रति निराश बन्दै गएको नागरिक मन ।

दसैँ सबैका लागि एउटै अर्थ बोकेर आउँदैन । कसैका लागि यो उत्सव हो, कसैका लागि आफ्ना आवश्यकता पूरा गर्न नसकेको विवशताको अर्को अध्याय । कतै बालबालिकाका लागि नयाँ लुगाको पोको खुल्दै छ, कतै उनीहरू पुरानै लुगा लगाएर अभिभावकको अनुहारमा आफ्नो रहरको उत्तर खोजिरहेका छन् । कतै भान्सामा अनेक परिकार पाक्दै छन्, कतै साँझको चुलो कसरी बल्छ भन्ने चिन्ता छ ।

चाडपर्वले खुसी साट्न सिकाउँछ, तर समाजको एउटा ठूलो हिस्साका लागि खुसी नै आर्थिक हैसियतसँग जोडिएको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ—दसैँको उज्यालो सबैको जीवनसम्म पुगेको छ त?

दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै जाँदा सीमित आम्दानीमा परिवार चलाउनु धेरैका लागि चुनौती बनेको छ । घरभाडा, खाद्यान्न, शिक्षा, स्वास्थ्य र यातायातको खर्च जुटाउँदै आएका परिवारलाई चाडपर्वको अतिरिक्त खर्चले झन् थिच्छ । सन्तानलाई नयाँ लुगा किनिदिने, मीठो खाना खुवाउने र उनीहरूको अनुहारमा खुसी देख्ने चाहना कुन आमाबुबाको हुँदैन र ? तर चाहनाले मात्र आवश्यकता पूरा हुँदैन; त्यसका लागि आर्थिक सामथ्र्य पनि चाहिन्छ ।

एउटी आमा बजारमा छोराछोरीलाई मन परेको लुगा देख्छिन् । मूल्य सोध्छिन्, केही बेर हेर्छिन् र आफ्नो खल्तीको हिसाब सम्झँदै फर्किन्छिन् । घर फर्किएपछि सन्तानले सोध्न सक्छन्, “आमा, मलाई त्यो लुगा किनिदिनुभएन?” त्यतिबेला आमासँग उत्तर त हुन्छ, तर त्यो उत्तरले बालमनलाई चोट नपु-याओस् भनेर उनी आफ्नो विवशता लुकाउँछिन् ।

बाबु पनि परिवारको खुसीका लागि खर्च जुटाउन नसक्दा मनमनै दुख्छन् । उनीहरूका लागि सन्तानको रहर पूरा गर्न नसक्नु केवल पैसाको अभाव होइन, आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको अनुभूतिसमेत हो । बालबालिकाले बिस्तारै घरको अवस्था बुझ्न थाल्छन् र आफ्ना रहर दबाउन सिक्छन् । तर बालापन त रहर गर्ने, खेल्ने र सपना देख्ने उमेर हो, अभावको हिसाब गरेर आफ्ना इच्छा मार्ने उमेर होइन ।

हामीले बालबालिकालाई भविष्यका कर्णधार भन्छौँ । तर उनीहरूको वर्तमान नै अभाव र सम्झौताले भरिएको छ भने भविष्यका सपना कसरी सुरक्षित रहन्छन् ? समृद्धिको अर्थ ठूला भवन र चम्किला बजार मात्र होइन; सामान्य परिवारले पनि सम्मानपूर्वक जीवन बिताउन सक्ने अवस्था निर्माण हुनु हो ।

दसैँको कुरा गरिरहँदा प्राकृतिक विपत्तिले थिलथिलो बनाएका परिवारको पीडा बिर्सन मिल्दैन । रसुवामा बाढीपहिरोले तहसनहस पारेका बस्ती र त्यसबाट प्रभावित मानिसहरूको अवस्था सम्झँदा मन भारी हुन्छ । विपत्तिले पु¥याउने क्षति भौतिक संरचनाको विनाशमा मात्र सीमित हुँदैन; यसले मानिसका सम्झना, सुरक्षित जीवन र भविष्यप्रतिको भरोसासमेत हल्लाइदिन्छ ।

घर भनेको इँटा, ढुङ्गा र काठले बनेको संरचना मात्र होइन । त्यहाँ बालबालिकाको हाँसो हुन्छ, आमाको माया हुन्छ, बाबुको पसिना हुन्छ र पुस्तौँदेखि जोडिएका सम्झनाहरू हुन्छन् । त्यही आँगनमा चाडपर्व मनाइएका हुन्छन्, त्यही घरमा दुःखसुख साटिएका हुन्छन् । जब विपत्तिले एकैछिनमा त्यो संसार उजाडिदिन्छ, मानिसले छानो मात्र गुमाउँदैन, आफ्नो जीवनको एउटा ठूलो हिस्सा पनि गुमाउँछ ।

दसैँमा घर फर्किने सपना देखेका मानिसले फर्केर जाने घर नै नभेट्दा कस्तो अनुभूति होला ? आफ्ना सन्तानलाई सुरक्षित राख्न संघर्ष गरिरहेका आमाबुबाको मन कति छटपटाउँदो हो ? अरू बालबालिका नयाँ लुगा लगाएर टीका र जमरा लगाइरहँदा विपत्तिबाट प्रभावित बालबालिका आफ्नो घर, विद्यालय, साथीभाइ र पुरानो जीवन सम्झिरहेका होलान् ।

कसैका लागि दसैँमा नयाँ लुगा र मीठो खानु खुसी हो, तर घरबार गुमाएका बालबालिकाका लागि सुरक्षित छानोमुनि बस्न पाउनु, नियमित विद्यालय जान पाउनु र डरविनाको बालापन बाँच्न पाउनु नै सबैभन्दा ठूलो खुसी हुन सक्छ ।

विपत्तिपछिको उद्धार र राहतसँगै प्रभावित परिवारको पुनःस्थापना, बालबालिकाको पढाइको निरन्तरता र दीर्घकालीन पुनर्निर्माणमा राज्यको जिम्मेवारी महत्त्वपूर्ण हुन्छ । विपत्तिका बेला आश्वासन दिनु मात्रै पर्याप्त हुँदैन । प्रभावित परिवारले राहत कहिले पाउने, उनीहरूको आवास कसरी सुनिश्चित हुने र जीवन पुनःनिर्माणका लागि कस्तो सहयोग प्राप्त गर्ने भन्ने प्रश्नको व्यावहारिक उत्तर चाहिन्छ ।

विपत्तिमा परेका नागरिकलाई सम्झनु सहानुभूति व्यक्त गर्नु मात्र होइन; उनीहरूलाई फेरि आफ्नै खुट्टामा उभिन सक्ने वातावरण निर्माण गर्नु पनि हो ।

बालबालिकाको दुःख सधैँ आँसु बनेर बाहिर आउँदैन । कहिलेकाहीँ उनीहरूका अधुरा रहर, छोटा प्रश्न र अचानक मौन बनेका अनुहारले मनभित्रको पीडा बताइरहेका हुन्छन् । घरको आर्थिक अवस्था बुझ्न थालेपछि आफ्ना आवश्यकता भन्नसमेत हिचकिचाउने बालबालिका हाम्रो समाजमा कम छैनन् ।

आमाबुबा सन्तानको अनुहारमा खुसी देख्न चाहन्छन् । उनीहरू आफ्ना दुःख लुकाउन सक्छन्, भोक सहन सक्छन् र थकाइ बिर्सन सक्छन्, तर सन्तान निराश भएको देख्दा मन थाम्न सक्दैनन्। तैपनि परिस्थिति सधैँ उनीहरूको इच्छाअनुसार चल्दैन ।

एउटा बालकलाई दसैँमा नयाँ लुगा चाहिएको छ, अर्को बालकलाई टाउकोमाथि सुरक्षित छानो । एउटालाई मीठो परिकारको रहर छ, अर्कोलाई नियमित रूपमा पेटभरि खान पाउने सुनिश्चितता। कसैलाई परिवारसँग रमाइलो गर्न मन छ, कसैलाई विपत्तिले छुट्याएका आफन्तसँग भेट हुने प्रतीक्षा छ ।

यी बालबालिकाका आवश्यकता फरक छन्, तर उनीहरूको चाहना एउटै छ—सुरक्षित, सम्मानपूर्ण र खुसी जीवन। उनीहरूलाई केवल भविष्यका नागरिक भनेर सम्बोधन गरेर पुग्दैन; उनीहरूको वर्तमानलाई पनि सुरक्षित र सहज बनाउनु आवश्यक छ ।

हामीले चाडपर्वको खुसी मनाइरहँदा आफ्ना बालबालिकालाई अरूको दुःख बुझ्न सिकाउनु पनि जरुरी छ। तर अभावमा रहेका परिवारको जिम्मेवारी केवल समाजको सहानुभूतिमा छोडेर राज्य उम्कन मिल्दैन । शिक्षा, पोषण, सुरक्षा र आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व हो ।

चाडपर्वमा परिवारका सदस्य घर फर्किन्छन्, पाहुनाको आगमन बढ्छ र भान्साको काम पनि थपिन्छ । यस्तो समयमा खाना पकाउने ग्यासको अभाव वा आपूर्तिमा अवरोध हुँदा सामान्य परिवारको दैनिक जीवन नै प्रभावित हुन्छ ।

ग्यास पाइन्छ कि पाइँदैन, पाइए पनि सहज रूपमा प्राप्त हुन्छ कि हुँदैन भन्ने चिन्ताले नागरिकको समय, श्रम र मानसिक शान्ति खर्च गराउँछ । घरको कामसँगै अन्य जिम्मेवारी सम्हालिरहेका गृहिणीका लागि यस्तो अवस्थाले थप तनाव सिर्जना गर्छ । चाडपर्वको तयारी गर्नुपर्ने समयमा आवश्यक इन्धनको खोजीमै भौँतारिनुपर्ने अवस्था सहज जीवनको संकेत होइन ।

आपूर्तिमा समस्या आउनुका विभिन्न कारण हुन सक्छन् । तर समस्या देखिएपछि सम्बन्धित निकायले वास्तविक अवस्था सार्वजनिक गर्ने, वितरण प्रणाली पारदर्शी बनाउने, सम्भावित कालोबजारी नियन्त्रण गर्ने र आवश्यक परे वैकल्पिक व्यवस्था मिलाउने काम गर्नुपर्छ । नागरिकले आफ्नो दैनिक आवश्यकता पूरा गर्न अनावश्यक सास्ती बेहोर्नुपर्ने अवस्था अन्त्य हुनु आवश्यक छ ।

सुशासनको अर्थ सरकारी कार्यालयमा सेवा उपलब्ध हुनु मात्र होइन; नागरिकको दैनिक जीवनमा सहजता महसुस हुनु पनि हो । भान्साको चुलो बल्नका लागि समेत नागरिकले अनिश्चितता र झन्झटको सामना गर्नुपर्छ भने त्यसको व्यवस्थापन’bout प्रश्न उठ्नु स्वाभाविक हो ।

नागरिकले राज्यसँग असम्भव अपेक्षा गरेका छैनन् । उनीहरू सहज रूपमा दैनिक आवश्यकता पूरा गर्न सकून्, बालबालिकाले गुणस्तरीय शिक्षा पाऊन्, रोजगारीका अवसर बढून्, विपत्तिको समयमा समयमै सहयोग प्राप्त होस् र सामान्य जीवन बिताउन निरन्तर संघर्ष गर्नुपर्ने बाध्यता कम होस् भन्ने चाहन्छन् ।

तर जब महँगीले परिवारको बजेट बिगार्छ, आवश्यक वस्तुको आपूर्तिमा समस्या देखिन्छ, विपत्तिपछिको पुनर्निर्माण’bout अन्योल रहन्छ र सार्वजनिक सेवा लिन नागरिकले अनावश्यक झन्झट बेहोर्नुपर्छ, तब व्यवस्थापनमाथि प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।

सरकारको सफलता भाषण, घोषणा र औपचारिक कार्यक्रमले मात्र मापन हुँदैन। आम नागरिकको भान्सामा खाना पाकेको छ कि छैन, विपत्तिमा परेका परिवारले आवश्यक सहयोग पाएका छन् कि छैनन्, बालबालिका सुरक्षित छन् कि छैनन् र नागरिकले आफ्नो श्रमअनुसार सम्मानजनक जीवन बिताउन सकेका छन् कि छैनन् भन्ने कुराले राज्यको कार्यक्षमता देखाउँछ ।

चाडपर्वका बेला बजार अनुगमन, अत्यावश्यक वस्तुको सहज आपूर्ति, मूल्यसम्बन्धी अनियमितताको नियन्त्रण, विपद् प्रभावितको राहत तथा पुनःस्थापना र सार्वजनिक सेवाको प्रभावकारितामा विशेष ध्यान दिनुपर्छ । नागरिकको पीडा सम्बोधन नगरी समृद्धिको नारा दोहो¥याउनुको अर्थ रहँदैन ।

राज्यको उपस्थिति नागरिकले संकटको समयमा महसुस गर्न पाउनुपर्छ—कागजमा होइन, व्यवहारमा। लोकतन्त्रको सार पनि यही हो कि नागरिकले आफ्नो दुःख सुनाउन मात्रै होइन, त्यसको समाधान पाउन पनि सकून् ।

दसैँ प्रेम, सद्भाव, पारिवारिक मिलन र विजयको प्रतीक हो । तर समाजका कमजोर, विपन्न र विपत्तिमा परेका वर्गसम्म खुसी र आशा पुग्न सकेन भने हाम्रो उत्सव अपूर्ण रहन्छ । दसैँको उज्यालो झिलिमिली बत्तीमा मात्र होइन, कसैको अँध्यारो जीवनमा आशा जगाउन सक्नुमा छ ।

आफ्ना छोराछोरीलाई नयाँ लुगा लगाइदिँदा रहर पूरा गर्न नसकेका अभिभावकलाई सम्झौँ । मीठो परिकार खाँदा दुई छाक टार्न संघर्ष गरिरहेका परिवारलाई पनि सम्झौँ । घरआँगनमा टीका लगाउँदा घरबार गुमाएका परिवारको पीडा बुझौँ । चाडपर्व मनाइरहँदा विपत्तिका कारण विद्यालय जान नपाएका बालबालिकाको भविष्य’bout पनि सोचौँ ।

सक्नेले नसक्नेलाई सहयोग गर्नु हाम्रो सामाजिक संस्कार हो । तर नागरिकले नागरिकलाई सहयोग गर्नु मात्र पर्याप्त हुँदैन। राहत र पुनर्निर्माण व्यवस्थित बनाउने, महँगी तथा आपूर्तिसम्बन्धी समस्या समाधान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र सार्वजनिक सेवामा जवाफदेहिता सुनिश्चित गर्ने जिम्मेवारी राज्यले पूरा गर्नुपर्छ ।

हामीले खोजेको दसैँ त्यस्तो होस्, जहाँ कुनै आमाले सन्तानको रहर पूरा गर्न नसकेको पीडा मनभित्र लुकाएर बस्न नपरोस्। कुनै बाबुले परिवारको खुसीका लागि आफ्नो विवशतासँग हार मान्न नपरोस्। कुनै बालबालिकाको ओठबाट अभावले मुस्कान नखोसोस् । विपत्तिले उजाडिएका बस्तीमा फेरि जीवनका रङ भरिऊन् र आँसुले भिजेका आँखामा आशाका किरण चम्किऊन् ।

हामी सबैको चाहना यही हो—हरेक घरको चुलो बलोस्, हरेक बालबालिकाले सुरक्षित वातावरणमा पढ्न र खेल्न पाऊन्, हरेक परिवारले सम्मानपूर्वक जीवन बिताउन सकोस् । चाडपर्वको खुसी आर्थिक सम्पन्नताको प्रदर्शनमा मात्र सीमित नभई मानवीय संवेदना, सहयोग र समान अवसरको प्रतीक बनोस् ।

जगत् जननी माता दुर्गा भवानीले सम्पूर्ण नेपालीको रक्षा गरून् । दुःख, कष्ट, अन्याय र विपत्तिबाट सबैलाई सुरक्षित राखून् । अन्यायमाथि न्यायको, निराशामाथि आशाको र अन्धकारमाथि उज्यालोको विजय होस् । देशमा शान्ति, सद्भाव, सुशासन र समृद्धिको नयाँ बिहानी उदाओस् ।

माता दुर्गा भवानीको कृपाले हरेक आमाको मुहारमा मुस्कान, हरेक बाबुको मनमा सन्तोष र हरेक बालबालिकाको आँखामा सुन्दर भविष्यका सपना सजिऊन् । विपत्तिमा परेकाले सहारा पाऊन्, बिछोडिएकाहरूको पुनर्मिलन होस् र निराश मनहरूमा फेरि बाँच्ने आशा पलाओस् ।

यस विजयादशमीले पात्रोमा नयाँ दिन थप्ने मात्र होइन, नेपालीको जीवनमा आशा, भरोसा र परिवर्तनको नयाँ अध्याय पनि सुरु गरोस् । कसैको घरमा अभावको अँध्यारो नरहोस्, कसैको मनमा पीडाको भार नरहोस् । दसैँको उज्यालो हरेक नेपालीको घरआँगन र जीवनसम्म पुग्न सकोस् ।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

रोजमान–निशाको ‘नुगलय् तय्लात’ले २४ घण्टा नबित्दै कटायो लाखबढी ‘भ्युज’