सियोल । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ । यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने संकेत गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ टारपीडोको पानीमुनि परीक्षण गरिएको हो । प्योङयाङले पछिल्लो पाँच वर्षमा यस प्रणालीको विकासका क्रममा १८० भन्दा बढी परीक्षण गरेको जनाएको छ ।
विश्लेषकहरूका अनुसार युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्न सेना पठाएबापत मस्कोबाट प्राप्त हुन सक्ने सहयोगले उत्तर कोरियाको हतियार प्रविधि विकासलाई गति दिन सक्छ । प्योङयाङले केही दिनअघि मात्र पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको थियो ।
क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलका अनुसार एआईले टारपीडोलाई वास्तविक लक्ष्य र छल गर्न प्रयोग गरिने नक्कली लक्ष्यबीच भिन्नता छुट्याउन सहयोग गर्न सक्छ । उत्तर कोरियाले अमेरिकी रणनीतिक सैन्य साधनलाई प्रभावहीन बनाउने उद्देश्यले टारपीडो र पनडुब्बीबाट प्रक्षेपण गरिने हतियारको विकासमा लगानी बढाइरहेको उनले बताए ।
यसै महिनाको सुरुमा उत्तर कोरियाले एआईको सहयोगमा मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो । त्यसको केही दिनपछि दक्षिण कोरियाले पनि हाइपरसोनिक ग्लाइड वाहनको परीक्षण गरेको थियो । ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र गतिमा उड्न र उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रलाई पत्ता लगाउन तथा रोक्न कठिन मानिन्छ ।
उत्तर कोरियाले दक्षिण कोरियाको परीक्षण हाइपरसोनिक उडान हासिल गर्न असफल भएको हुन सक्ने दाबी गरे पनि सियोलले त्यसलाई अस्वीकार गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा देशको हतियार प्रणालीमा एआईको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए ।
नोभेम्बरमा चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच सम्भावित भेटवार्ताको चर्चा पनि बढेको छ । सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका पूर्वअध्यक्ष याङ मू–जिनका अनुसार सम्भावित शिखर वार्ताअघि उत्तर कोरियाले दक्षिण कोरियाको तुलनामा आफ्नो हतियार कार्यक्रम उन्नत रहेको देखाउन खोजेको हुन सक्छ ।
तर उत्तर कोरियालाई टारपीडो प्रणाली थप विकसित गर्न अझै समय लाग्न सक्ने याङले बताए । पानीमुनि उच्च गतिमा चल्दा टारपीडोले ठूलो आवाज उत्पन्न गर्ने भएकाले त्यसलाई पत्ता लगाउन सजिलो हुन्छ । यस्तो आवाज कम गर्नु प्रमुख प्राविधिक चुनौती रहेको र त्यसका लागि उन्नत प्रविधि आवश्यक पर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
फ्लाई दुबईका सह-पाइलटले तेल अभिभमा विमान ठोक्काउन खोजेको खुलासा
अन्तर्राष्ट्रिय न्यायको पक्षमा उभिएकी नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
रियाद विमानस्थल र साउदी विमानमा आक्रमण, कप्तानसहित ३ जनाको मृत्यु
एल निनोले तोड्यो समुद्री तापक्रमको रेकर्ड
रियादस्थित विमानस्थल आक्रमणमा भारतीय नागरिकको मृत्यु
पाकिस्तानमा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु






