कायरो । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी भएको आक्रमणमा विमानका कप्तानसहित तीन जनाको मृत्यु भएको छ ।
बिहीबार भएको आक्रमणमा विभिन्न देशका अन्य नागरिकसमेत घाइते भएका छन् । शुक्रबार जारी हवाई सेवासम्बन्धी वक्तव्यअनुसार घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ ।
गत सप्ताहन्तदेखि यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी अरब र उसका सहयोगी सेनाले ठूलो सैन्य कारबाही सुरु गरेयता साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण भएको बताइएको छ ।
साउदी अधिकारीहरूका अनुसार आक्रमणको पहिलो निशाना विमानस्थलका संरचना थिए भने दोस्रो आक्रमण साउदी एयरलाइन्सको विमानमा भएको थियो । आक्रमणमा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । तर, हुथी विद्रोहीहरूले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरी विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन् ।
मृत्यु हुनेमध्ये साउदी एयरलाइन्सका कप्तान हमुद अली अलकलथामी पनि रहेको साउदी समूहले विज्ञप्तिमार्फत जनाएको छ । पछिल्लो सैन्य कारबाही सुरु भएयता साउदी राष्ट्रिय ध्वजावाहकको विमानमाथि भएको यो पहिलो पुष्टि भएको आक्रमण हो ।
साउदी समूहका अनुसार आक्रमण हुँदा विमान जमिनमा रहेको थियो र त्यसमा क्षति पुगेको थियो । विमानमा भने कुनै यात्रु थिएनन् ।
रियादस्थित विमानस्थल पछिल्ला दिनमा पटकपटक आक्रमणको निशाना बनेको छ । यसै साताको सुरुमा भएको अर्को आक्रमणमा एक सुडानी नागरिकको मृत्यु भएको थियो ।
आक्रमण भएको केही घण्टापछि बिहीबार साँझ ६ बजेदेखि विमानस्थलको सञ्चालन सामान्य अवस्थामा फर्किएको साउदी समूहले जनाएको छ ।
यसैबीच, हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले क्षेत्रीय सुरक्षामा खतरा उत्पन्न गर्न विद्रोहीले प्रयोग गर्दै आएका तीनवटा रकेट प्रक्षेपण मञ्च नष्ट गरेको जनाएको छ ।
यमनमा जारी सैन्य संघर्षका बीच साउदी अरबमा भएका पछिल्ला आक्रमणले क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ ।
सम्बन्धित समाचार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती
राजधानी टोकियोमा जनसंख्या बढ्दा जापानको अन्य प्रान्तमा जनसंख्या उल्लेख्य रुपमा घट्दो, वृद्ध नागरिक बढ्दो
एक दशकपछि इराकबाट हट्दै अमेरिकी सेना
विमान दुर्घटनामा पारेर सबै यात्रुलाई मार्ने सह–पाइलटको योजना भताभुंग, भारतीय पाइलटको सर्वत्र प्रशंसा
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
अन्तर्राष्ट्रिय न्यायको पक्षमा उभिएकी नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार





