एल निनोले तोड्यो समुद्री तापक्रमको रेकर्ड

पेरिस । शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली संघ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ । यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो । यो सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो । यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढेकाले हालको एल निनो अहिलेसम्मकै शक्तिशाली भएको निष्कर्ष निकाल्न नसकिने कोपर्निकसले जनाएको छ ।

गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै, विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस रह्यो । यो पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो ।

कोपर्निकसका निर्देशक कार्लो बुन्टेम्पोले शक्तिशाली एल निनोका कारण सन् २०२७ सम्म पनि मासिक तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको बताए । तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ ।

एल निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो । यसले प्रशान्त महासागरको सतहको तापक्रम बढाएर विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ र यसले विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढाउन सक्छ । यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा पर्छ र नौदेखि १२ महिनासम्म रहन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

एल निनोले तोड्यो समुद्री तापक्रमको रेकर्ड