शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु आवश्यक छैन । केही बारहमासी बिरुवालाई जाडोभरि उभिएकै अवस्थामा छोड्दा चराचुरुंगी र लाभदायक कीराले खाना तथा आश्रय पाउँछन् भने केही बिरुवा काटेर हटाउँदा रोग र कीराको प्रकोपबाट जोगाउन सकिन्छ । त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य, रोग नियन्त्रण र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्वपूर्ण प्रभाव पार्छ ।

जाडोमा बीउका टाउका भएका बारहमासी बिरुवा छोड्दा बसाइँ नसर्ने चराले खाना पाउँछन् भने परागसेचन गर्ने तथा अन्य लाभदायक कीराले आश्रय पाउँछन् । एलियम, एस्टर, ठूला पात भएको लुपिन, ब्ल्याक आइड सुसन, चकलेट फ्लावर, कन्फ्लावर, गोल्डेनरोड, मिल्कवीड, ¥याटलस्नेक मास्टर, स्निजविड र ट्रम्पेट बेलजस्ता बिरुवा यसका उदाहरण हुन् ।

वसन्तमा फूल फुल्ने धेरैजसो झाडीले अघिल्लो वर्ष बढेका हाँगामा फूलका कोपिला बनाउँछन् । अहिले नै तिनलाई काट्दा अर्को वसन्तमा फुल्ने कोपिला हट्न सक्छन् । त्यसैले एजेलिया, रोडोडेन्ड्रोन, फोर्सिथिया र हाइड्रेन्जियाजस्ता झाडीलाई शरद ऋतुमा छाँट्नबाट जोगिनुपर्छ । तिनको आकार मिलाउन वा आवश्यक सुधार गर्न छाँट्नै परे फूल फुलिसकेको दुई हप्ताभित्र छाँट्नु उपयुक्त हुन्छ ।

सजावटी घाँसलाई पनि वसन्तमा नयाँ वृद्धि सुरु नभएसम्म जाडोभरि उभिएकै अवस्थामा छोड्नुपर्छ । यसले जाडोमा लाभदायक कीरालाई बासस्थान दिनुका साथै हावामा हल्लिने घाँसले बगैँचालाई आकर्षक बनाइराख्छ ।

बगैँचाका क्यारीमा झरेका पात पनि सबै हटाउनुपर्दैन । केही पातलाई त्यहीँ रहन दिँदा कीराले जाडोमा आश्रय पाउँछन् । वसन्तमा सक्रिय भएपछि ती लाभदायक कीराले बोटबिरुवालाई क्षति पु¥याउने अन्य कीराको संख्या नियन्त्रण गर्न मद्दत गर्छन् ।

रुसी सेज र ल्याभेन्डरजस्ता कडा डाँठ भएका वा केही मात्रामा कडा डाँठ भएका बारहमासी बिरुवालाई पनि जाडोमा नकाट्नु राम्रो हुन्छ । तिनको माथिल्लो भागले जमिनको सतहमा जरा र डाँठ जोडिने स्थान अर्थात् मुकुटलाई चिसोबाट जोगाउँछ ।

तर, केही बिरुवा भने जाडो सुरु हुनुअघि काटेर हटाउनुपर्छ । होस्टाका सुकेका पातले जाडोमा स्लग र अन्य कीरालाई लुक्ने ठाउँ दिन्छन् । त्यसैले बढ्ने मौसम सकिएपछि होस्टालाई जमिनको सतहसम्म काट्नुपर्छ ।

आइरिसका सुकेका पातमा पनि जाडोमा हानिकारक कीराका अण्डा रहन सक्छन् । तिनलाई नहटाए वसन्तमा अण्डाबाट निस्कने कीराले बिरुवामा क्षति पु¥याउन सक्छन् । अर्को वर्ष कीराको संक्रमण रोक्न आइरिसका पात अहिले नै काटेर हटाउनु उचित हुन्छ ।

धुलो ढुसी लाग्न सक्ने बारहमासी बिरुवालाई पनि बढ्ने मौसम सकिएपछि काट्नुपर्छ । यसमा जडिबुटी पेओनी, बी बाम र फ्लोक्स पर्छन् । यस वर्ष रोग लागेका अन्य बिरुवालाई पनि काटेर हटाउनुका साथै तिनका झरेका पात र अन्य अवशेष बगैँचाबाट सफा गर्नुपर्छ । त्यसो गर्दा रोगका कारक तत्त्व माटोमा पुगेर अर्को वर्षका बिरुवामा फैलिने जोखिम कम हुन्छ । जिनियाजस्ता वार्षिक फूलमा पनि धुलो ढुसी लाग्ने सम्भावना बढी हुन्छ ।

रोग लागेका बिरुवाका भागलाई कम्पोस्ट मल बनाउने भाँडोमा राख्नु हुँदैन । त्यस्ता अवशेषलाई छुट्टै फोहोरका रूपमा फाल्नुपर्छ, ताकि रोग अन्य बिरुवामा नसरोस् ।

यी मौसमी सुझाव लागू भए पनि मरेका, भाँचिएका वा रोग लागेका रूखका हाँगा र झाडीका डाँठ भने वर्षको जुनसुकै समयमा हटाउन सकिन्छ । त्यस्ता भाग छोडिराख्दा बिरुवाको स्वास्थ्यमा असर पर्नुका साथै जाडोको आँधीबेहरीमा भाँचिएर मानिसलाई चोट लाग्ने वा सम्पत्तिमा क्षति पुग्ने जोखिम रहन्छ । त्यसैले बगैँचा सफा गर्दा सबै बिरुवा एकैपटक काट्नेभन्दा तिनको प्रकृति र अवस्थाअनुसार हेरचाह गर्नु आवश्यक हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप लिग–२ शृंखला : नेपालले आज ओमानविरुद्ध खेल्दै, यसकारण महत्वपूर्ण छ यो खेल