खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन् । नेपाली सेनाको पोखरा पृतना ब्यारेकमा कार्यरत च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले गएराति करिब साढे १२ बजेको समयमा ससुराली आहाले पुगेर खुकुरी प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासू सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् ।
नइन्द्रकुमार दशैँ मनाउन घर आएका थिए । घाइतेहरूको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । उनका अनुसार अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर छ । “उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, उनले भने, “आरोपित नइन्द्रकुमार राईलाई गएराति नै नियन्त्रणमा लिएका छौँ । घटनाको थप विवरण आउन बाँकी छ ।”
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिपट्टी र हातमा गहिरो चोट लागेको छ भने नरेन्द्रको दाहिने हातमा गहिरो चोट छ । नरेन्द्रको अवस्था मध्यम रहे पनि सबैको सामूहिक हत्या गर्ने उद्देश्यले नइन्द्रकुमारले खुकुरी प्रहार गरेको पीडित परिवारको आरोप छ । स्थानीयका अनुसार आफ्नो घर जारबुङमा दशैँ मनाएर ससुराली आएका नइन्द्रकुमारको श्रीमतीसँग घरायसी विवाद भएपछि उनले अन्दाधुन्द खुकुरी प्रहार गरेका हुन् ।
घरभित्र सुतिरहेको अवस्थामा खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त रहेको स्थानीयले बताएका छन् । घटनाको करिब १५ मिनेटपछि खबर पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारको टोली घटनास्थल पुग्दा आरोपित फरार भइसकेका थिए । प्रहरीले खोजतलास गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । नइन्द्रकुमार र श्रीमती अञ्जनाबीचको आपसी विवादका कारण यस्तो घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सम्बन्धित समाचार
कामधेनु दुग्ध सहकारीको २७औँ साधारणसभा सम्पन्न
उदयपुरमा एकै रात दुई ठाउँबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ
शिक्षासँगै असल संस्कार पनि आवश्यक: प्रिन्सिपल सिटौला
बुढीगंगाको ८ करोड ७६ लाख लागतमा बनेको प्रशासकीय भवन उद्घाटन
बेलकामा ‘सानो दारे’ हात्ती मृत फेला
खाँदबारी नगरपालिकाका संस्थापक उपप्रमुख घिमिरेको निधन
करेन्ट लागेर उदयपुरमा वृद्धको मृत्यु
झापावासीलाई हात्तीबाट जोगाउन सशस्त्र प्रहरीको जनचेतना अभियान, उच्च सतर्कता अपनाउन आग्रह






